April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

माघ सात गतेपछि रूपन्देहीमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

भैरहवा– कोरोना भाइरसको महामारी नियन्त्रणका लागि रुपन्देही प्रशासनले माघ सात पछि सरकारी कार्यालयहरुमा सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ ।

Advertisement

प्रशासनले बुधबार कोरोना नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै कोरोनाबिरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको हो । यद्यपि खोप कार्डको मोबाइलमा फोटो भए पनि हुने जनाएको छ । यस्तै, प्रशासनले सार्वजनिक स्थल र होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा र पार्कमा प्रवेश गर्दा पनि खोप कार्ड देखाउनु पर्ने अनिवार्य गरेको छ ।

Advertisement

यस्तै, प्रशासनले २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने कुनै किसिमका भेला, मेला, महोत्सव तथा सामाजिक कार्य गर्न रोक लगाएको छ । ‘सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी राजनीतिक तथा समाजिक क्रियाकलाप गर्न पनि रोकावटा गरिएको छ’, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा भनिएको छ ।

यस्तै, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा भने स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै आयोजना गर्न मिल्ने जनाएको छ । साथै नियमित रुपमा हुने आर्थिक, व्यवसायिक तथा अन्य गतिविधि संचालन गर्दा अनिवार्यरुपमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्ने, औद्योगिक तथा व्यवसायिक संस्था, फर्म तथा पसल संचालकले स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसायिक गतिविधि संचालन गर्न पाउने आदेशमा उल्लेख छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस, गृह मन्त्रालयको निर्णय बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरिएको प्रशसनले जनाएको छ ।

हेर्नुहोस् प्रशासनको सूचना