June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

म पतकर बन्न चाहन्छु

जंगलको एकान्त
जहाँ उभिएर
चिच्याउन सकिन्छ
रहरका सडकहरू ओछ्याएर
डकार आउने गरी
घिच्रो सुक्ने गरी
मन भरिने गरी
त्यस्तो एकान्त मलाई चाहिएन
त्यस्तो निर्जीवता मलाई चाहिएन ।

Advertisement

बहिराहरूको भेलालाई सम्बोधन गर्ने
प्रमुख वक्ताको आसन मलाई चाहिएन ।

Advertisement

मैले बोल्दा
सुनिदिने कोही हुनैपर्छ
मैले सुन्दा
आवाज दिने कोही हुनैपर्छ ।

म ढुंगो भएर
या पहरो ठडिएर
आत्मरतिमा लीन हुन सक्तिनँ ।

म मानव प्रजातिको एउटा जनावर
जानेर वा नजानेरै
मैले कदम–कदममा गर्न सक्छु पशुवत् कृत्यहरू
तिनलाई औँल्याइदिने
मेरै प्रजातिका कोही भएनन् भने
म अवश्य नै
स्याल हुनेछु÷ब्वाँसो हुनेछु ।

म अवश्य नै
राँगो हुनेछु/साँढे हुनेछु ।

म अवश्य नै
गिद्ध हुनेछु/चिल हुनेछु ।

म अवश्य नै
सर्प हुनेछु÷गोही हुनेछु ।

म अवश्य नै
बाघ हुनेछु/भालु हुनेछु ।

मेरो कुरामा विश्वास नभए
मलाई तर्साइरहेका,
लठ्याइरहेका
र कजाइरहेकाहरूतिर एकपल्ट हेर्नू त
हो, म पनि त्यस्तै
एक अहंकारी पशु हुनेछु ।

त्यसैले
डुङ्डुङ्ती गनाउने नै किन नहोस्
म आफ्नै प्रजातिको पसिनाको गन्ध सुँघ्न चाहन्छु


निर्जन बस्तीको सम्राट होइन
बरु मानवबस्तीको पतकर बन्न चाहन्छु ।
०००

baahrakhari