फोटोसहितको मतदाता नामावली बनाउन रातिसम्मै लाइन


भैरहवा– फोटोसहितको मतदाता नामावली दर्ताका लागि रुपन्देहीमा रातिसम्मै लाइन लाग्ने गरेको छ । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको मतदाता नामावली संकलनका क्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा राति ८ बजेसम्मै लाइन लागेर सर्वसाधरणले नाम दर्ता गराइरहेका हुन् ।
जिल्लाका विभिन्न स्थानीय तहबाट मतदाता नामावलीमा दर्ताका लागि सर्वसाधारण भैरहवास्थित कार्यालयमा बिहानैदेखि लाइन लाग्ने गरेका छन् । दिनभर लाइनमा बस्दासमेत पालो नआउँदा भने उनीहरु निरास हुँदै फर्किने गरेका छन् ।

आइतबार राति आठ बजे भैरहवास्थित जिल्ला निर्वाचन कार्यालयको गेटमा भेटिएकी बुटवल मोतिपुरकी चाँदनी कुमालले बिहान ६ बजेदेखि लाइनमा बस्दासमेत पालो नआएको बताइन् । ‘व्यवस्थित हुन नसकेको हो की भन्ने लागेको छ’, उनले भनिन्, ‘दिनभर लाइनमा बस्दासमेत पालो आएको छैन ।’
तीन दिन यता रुपन्देहीमा चिसो अत्यधिक बढेको छ । कठ्यांग्रिँदो चिसोमा फोटोसहितको मतदाता नामावली बनाउनेहरु बिहानै अध्याँरोमै आएर रातिसम्म लाइनमा बस्ने गरेका छन् । यसले आम नागरिकमा उत्साह देखिएको भए पनि निर्वाचन कार्यालयले व्यवस्थापन भने राम्रो बनाउन नसकेको देखिएको छ ।

तिलोत्तमा–१७ का धनपति अधिकारीले आफू लामो समय विदेशमा बसेर स्वदेश फर्किएर बल्ल मतदाता नामावली बनाउन आएको बताए । ‘बिहानैदेखि लाइनमा बसेको छु तर पालो आएन’, उनले भने, ‘व्यवस्थित देखिएन, कम्तिमा टोकन प्रणाली लागू गरेको भए पनि केही सहज त हुने थियो ।’
बुटवलका दीपक ढकालले नेताले आफ्ना मान्छेलाई प्राथमिकता दिँदा आफूहरु लामो समयसम्म लाइनमा बस्दासमेत पालो नआएको बताए । ‘हामी लाइनमा छौं तर नेताले अशक्त, बृद्धाको नाममा धमाधम आफ्ना मान्छे भित्र पठाउँछन्’, उनले भने, ‘उनीहरुकै नाममा छ–सात जना एकैपल्ट भित्र जाँदा हाम्रो पालो आएको छैन ।’ उनले तीनपल्ट आउँदा पनि पालो नआएपछि आफू फर्किएको बताए । उनी राति ८ बजेसम्म जिल्ला निर्वाचन कार्यालय अघि लाइनमा थिए ।

कयौं महिलाहरु बच्चा च्यापेरै मतदाता नामावली बनाउन लाइनमा बस्ने गरेका छन् । खासगरी युवापुस्ता बढी मात्रामा नामावली बनाउन पुग्ने गरेका छन् । निर्वाचन आयोगका अनुसार चुनावको मिति घोषणा नभएसम्म नामावली संकलन जारी रहने छ । आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ । तर, अझै निर्वाचनको मिति घोषणा भइसकेको छैन ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले आइतबारसम्म ६० हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गरेको बताए । ‘यो तथ्यांक थोरै तलमाथि हुनसक्छ’, उनले भने, ‘सबै स्थानीय तहबाट डाटा संकलन गरिरहेका छौं । त्यसपछि वास्तविक तथ्यांक आउँछ ।’ नामावली संकलन कार्य अझै जारी रहेकाले मतदाता अझै बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका सबै स्थनीय तहमा हुँदै आएको मतदाता नामावली संकलन आइतबारदेखि भने बन्द भएको छ । अब जिल्ला निर्वाचन कार्यालयसहित, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल र मझगाँवामा मात्रै नामावली संकलन हुनेछ । भण्डारीले सर्वसाधारणको भीड अत्यधिक भएकाले दुई–चार घण्टा समय लम्ब्याएर काम गरिरहेको बताए ।









प्रतिकृया दिनुहोस्