January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु : पुन

भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी एक ढिक्का बनाएर लैजाने बताएका छन् ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनले पब्लिक कुरासँग कुराकानी गर्दै पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक भएको बताउँदै अब गुटउपगुट नहुने दावी गरे ।

‘निर्वाचनमा भरतजीले एउटा प्यानलको नेतृत्व गर्नुभयो, मैले एउटाको गरेँ’, उनले भने, ‘जसले जिते पनि काँग्रेसको नै जित भएको छ । हामीभित्र अब मतमतान्तर हुँदैन । एक भएर जान्छौं ।’ दिउँसो आफूले प्रतिष्पर्धी शाहलाई भेटेर कुराकानी गरी शुभकामना लिनेसमेत उनले जनाए ।

सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् । पार्टीभित्रको प्रतिष्पर्धाले आन्तरिक लोकतन्त्र सवल हुने र यसले पार्टी थप बलियो हुने उनले जनाए । दुई प्यानल बनाएर निर्वाचनमा होमिनुभयो, कसरी गुटउपगुट छैन भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा पुनमगरले भने, ‘निर्वाचनमा मात्रै प्यानल बनाएका हौं, अब हामी काँग्रेसीहरु एक ठाउँ छौं ।’

पार्टी, भातृ संगठनलाई लुम्बिनीमा मजबुत बनाएर लैजाने उनले योजना सुनाए । ‘सबै क्षेत्र, वर्ग, समुदायको भावनालाई समेट्दै पार्टीलाई थप उचाईमा पुर्याउने छु’, उनले भने । लुम्बिनी क्षेत्रको समग्र विकासका लागि आफूले पहल गर्ने समेत पुनमगरले जनाए । ‘कुनै जात, क्षेत्र विशेष होइन्’, उनले भने, ‘समग्र क्षेत्रको विकासमा हामी लाग्ने छौं ।’