January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

व्यंग्य : क्रान्तिकारीको कथा

‘क्रान्तिकारी’ उसले आफ्नो उपनाम नै राखेको थियो ! पढे–लेखेको युवक । स्वस्थ्य र सुन्दर । नोकरी पनि राम्रो । तर, विद्रोही ! मार्क्स–लेनिनको उदाहरण दिन्थ्यो । चे ग्वेवाराको खास भक्त !

Advertisement

कफी हाउसमा धेरै समयसम्म बस्थ्यो । खुबै कुरा गर्थ्यो । हमेसा क्रान्तिकारिताको तनावमा रहन्थ्यो । सबै उलटपुलट गर्नु छ । सबै कुरा बदलिदिनु छ ।

केश लामालामा, दारी पनि राम्ररी बढाएको । विद्रोहको घोषणा गर्थ्यो । केही गर्ने मौका खोजिरहन्थ्यो । भन्थ्यो, “मेरा बाउको पिँढीले चाँडै मर्नुपर्छ । मेरा बाउ एकदम रुढीवादी, जातिवादी र प्रतिक्रियावादी छन् । ठेट बुर्जुवा ! जब उनी मर्नेछन्, त्यस बेला न त म कपाल मुन्डन गराउँछु न त उनको श्राद्ध नै गर्छु । म सबै परम्पराहरूलाई नाश गरिदिन्छु । चे ग्वेवारा जिन्दाबाद !”

उसको कोही साथीले भन्यो, “तर, तिम्रो बुवा त तिमीलाई खुबै माया गर्नुहुन्छ !”

क्रान्तिकारी भन्थ्यो, “माया ! हो, हरेक बुर्जुवा क्रान्तिकारितालाई मार्नका लागि प्रेम गर्छन् । माया गर्छन् । यो माया पनि षड्यन्त्र हो । तिमीहरू बुझ्दैनौ । यति बेला मेरा बाउ कुनै ब्राह्मणको खोजीमा छन्, जोसँग बीस–पच्चीस हजार रुपैयाँ लिएर त्यसको छोरीसँग मेरो बिहे गरिदिन्छन् ! तर, म त्यस्तो हुन दिन्नँ । म जातिमा बिहे नै गर्दिनँ ! म अर्को जातिको, कुनै तल्लो जातिको केटीसँग बिहे गर्छु । त्यसपछि मेरा बाउ टाउको समाएर बस्छन् ।”

साथीले भन्यो, “यदि, तिम्रो प्रेम कुनै केटीसँग भयो र संयोगले तिनी  पनि ब्राह्मण नै परिन् भने तिमी बिहे गर्छौ नि ?”

उसले भन्यो, ‘कदापि गर्दिनँ । म त्यसलाई छोडिदिन्छु । कुनै क्रान्तिकारीले आफ्नो जातिको केटीसँग न त प्रेम गर्छ न त बिहे नै । मेरो प्रेम एउटी कायस्थ केटीसँग छ । म उसैसँग बिहे गर्छु ।”

एक दिन उसले कायस्थ केटीसँग कोर्टमा गएर बिहे गर्यो । दुलहीलाई लिएर ऊ आफ्नो सहर आयो र आफ्नो एक साथीको घरमा बस्न गयो । ऊ एकदम ‘शहीदाना’ मुडमा थियो ।

ऊ भनिरहेको थियो, “आई ब्रोक देयर नेक ! मेरा बाउ यति बेला आफ्नो टाउको पिटिरहेका होलान् । आमा रोइरहेकी होलिन् । छेउछाउका छिमेकीहरूलाई भेला गरेर मेरा बाउ भन्दै होलान्, ‘हाम्रा लागि छोरा मरिसक्यो ।’ उनले मलाई त्याग्दिन्छन् । मलाई सम्पत्तिबाट वञ्चित गरिदिन्छन् । आई डोन्ट केयर ! म कुनै पनि किसिमको बलिदान गर्न तयार छु । त्यो घर मेरा लागि शत्रुको घर भइसकेको छ । बट आई विल फाइट टु दी एन्ड…टु दि एन्ड !”

ऊ बरन्डामा तन्किएर घुम्थ्यो । फेरि बस्थ्यो । अनि भन्थ्यो, “बस्, संघर्षको समय आइरहेको छ ।”

उसको एकजना साथी आयो र भन्यो, “तिम्रो फादर भन्दै हुनुहुन्थ्यो, तिमी पत्नीलाई लिएर सिधै घर किन गएनौ ? उहाँ त एकदम शान्त हुनुहुन्थ्यो । भन्दै हुनुहुन्थ्यो, ‘मेरा छोराबुहारीलाई घर लिएर आऊ’ ।”

ऊ उत्तेजित भयो, “हुम ! बुर्जुवा हिपोक्रेसी ! यो पनि एउटा षड्यन्त्र हो । उनले मलाई घरमा बोलाएर, फेरि अपमान गरेर अनि हल्ला गर्दै घरबाट निकाल्नेछन् । उनले मलाई त्यागिदिएका छन् भने म किन सम्झौता गरूँ ! म बरु दुइटा कोठा भाडामा लिएर बस्छु ।”

साथीले भन्यो, “तर, तिमीलाई कहाँ त्याग्नुभएको छ र !” 
उसले भन्यो, “मलाई सबै कुरा थाहा छ । म फाइट गर्छु ।”
साथीले भन्यो, “जब लडाइँ नै छैन भने फाइट किन गर्छौ ?”

क्रान्तिकारी अनेक कल्पनाहरूमा थियो । हतियार धारिलो पारिरहेको थियो । बारुद सुकाइरहेको थियो । क्रान्तिको निर्णायक क्षण आउनेवाला थियो– म वीरताका साथ लड्नेछु । बलिदान हुन्छु !

तेस्रो दिन उसको एउटा खास मित्र पनि आयो । उसले भन्यो, “तिम्रा मातापिता ट्याक्सी लिएर तिमीलाई लिन आउँदै हुनुहुन्छ । आइतबार तिमीहरूको बिहेको उपलक्ष्यमा एउटा भोज कार्यक्रम आयोजन गरिएको छ । निम्तोपत्र बाँडिदै छ ।”

क्रान्तिकारीले फेरि टाउको ठटायो ! पसिना बग्न थाल्यो । पहेँलो भयो ऊ । भन्यो, “हत्तेरिका ! सबै खतम भयो अब । जिन्दगीभरको संघर्ष, साधना सकियो ! नो स्ट्रगल, नो रेभोल्युसन । म हारेँ ! उनी मलाई लिन आउँदै छन् । म लड्न चाहन्थेँ । हे मेरी क्रान्तिकारिता ! मेरी क्रान्तिकारिता ! तिमी मेरो पिताजीबाट मेरो तिरस्कार गराऊ । चे ग्वेवारा ! डियर चे !”

उसकी पत्नी चलाख थिइन् । उनी दुई–तीन दिनदेखि उसको क्रान्तिकारिता हेर्दै हाँस्दै थिइन् । उनले भनिन्, “डियर, एउटा कुरा भनूँ, तिमी क्रान्तिकारी होइनौ ।”
उसले सोध्यो, “होइन रे ! त्यसो भए के हुँ ?”
पत्नीले भनिन्, “तिमी एक बुर्जुवा सनकी हौ । तर, म तिमीसँग प्रेम गर्छु ।” 

(‘हिन्दी समय’बाट ।)  Baarakhari