April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

काँग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा संस्थापन र संस्थापनइतर पक्ष छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीका भरतकुमार शाहको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा होमिएको हो ।

Advertisement

यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेर निर्वाचनमा केन्द्रित भएको छ । संस्थापन समूहको प्यानल घोषणा कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए । यो समूहले पदाधिकारीमा मात्र प्यानल घोषणा गरेको हो ।

Advertisement

बिहीबार साँझ पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको थियो । शाहको प्यानलमा दुई जना उपसभापति पदका उम्मेदवारहरुमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल उम्मेदवार बनेका छन् । यस्तै, दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार बनेका छन् । सहमहामन्त्रीमा १ महिलासहित ३ पदक लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार बनेका छन् ।

पुनको नेतृत्वमा घोषणा गरिएको प्यानलको उपसभापतीमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, तथा सहमहान्त्रीमा प्युठानकी नीमा गीरी, अर्घाखाँचीका विष्णुु खनाल र दाङका खगराज पाण्डेय छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी यो समूहले प्यानल घोषणा गरेका हो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दीपक गिरी र प्रतिनिधिसभा सांसद संजय गौतम लगायतले प्यानल घोषणा गरेका थिए । सांसद गौतमका अनुसार पुनको नेतृत्वमा प्रदेशका पाका र अनुुभवी नेता सहभागी गराएर प्यालन टुंगो लगाइएको छ ।

देउवा समूह

बिहीबार साँझ पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले विकासप्रेमी र लोकप्रिय नेता शाह नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘उहाँ विकासप्रेमी हो । समग्र लुम्बिनी प्रदेशलाई विकासमा अघि बढाउन र पार्टीलाई बलियो बनाउन शाह नेतृत्वको टीमलाई जिताउन आग्रह गर्छु ।’

प्रतिनिध सभा सार्वजनिक लेखा समिति सभापति समेत रहेका शाह रुपन्देही क्षेत्र नम्बर पाँचबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । यस्तै, संस्थापनइतरबाट सभापति पदका उम्मेदवार पुन रोल्पाका पूर्व जिल्ला सभापति र पूर्वमन्त्रीसमेत हुन् ।

शाहले पार्टी जीवनलाई जीवन्त राख्न र आउँदा निर्वाचनमा जित दिलाउन आफूलाई मतदान गर्न आग्रह गरे । उनले भने, ‘मसँग लामो अनुभव छ । पार्टी संगठन बलियो बनाउँछु । सबैलाई मिलाएर पार्टीलाई लुम्बिनी प्रदेशमा एकनम्बर बनाउँछु । त्यसैले मलाई जिताउन आग्रह गर्छु ।’

पुनले पनि पार्टीलाई अघि बढाउन र एकढिक्का काँग्रेस बनाउन आफूलाई जिताउन आग्रह गरे । ‘मैले संगठन र पार्टी कमिटी बलियो बनाई संगठनलाई मजबुत बनाउने छु’, उनले भने, ‘आउँदा निर्वाचन लुम्बिनीमा काँग्रेसले सबै ठाउँमा जित्ने छ ।’ उनले आफूलाई मतदान गरेर पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरे ।

गृहमन्त्री खाँणले बिहीबार पार्टीको अधिवेशन उद्घाटन कार्यक्रममा खुलेरै शाहलाई भोट मागेका थिए । कतिपयले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका केन्द्रिय नेताले नै एउटा व्यक्तिलाई मंचबाटै जिताउन आग्रह गरेको भन्दै आलोचना गरेका थिए ।

विहीवारबाट सुरु अधिवेशले प्रतिनिधि मार्फत् प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६ सय ४८ प्रतिनिधि भैरहवामा जुटेका छन् । आज प्यानलगतरुपमा उम्मेदवारी दर्ता भइरहेको छ । भोलि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

पौडेल समूह

पुन समूहलाई केन्द्रिय सदस्य दीपक गिरी, संजयकुमार गौतम, चन्द्र भण्डारीलगायतको समर्थन छ । यस्तै, शाहलाई गृहमन्त्रीसमेत रहेका केन्द्रिय सदस्य खाँण लगायत नेताको समर्थन छ । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत प्रदेश अधिवेशन भइरहेको हो ।

लुम्बिनीमा वडा तहदेखि जिल्लासम्म संस्थापन र संस्थापनइतर पक्षले अधिकांश स्थानमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । प्रदेश अधिवेशनमा पनि दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको दावी गरिएको । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।

शुक्रबार पुन समूहको प्यानल घोषणा कार्यक्रममा भने ७ जिल्लाका सभापति सहभागी भएको एक नेताले बताए । उता शाह समूहले पनि आफूहरुलाई अधिकांश जिल्ला सभापतिको समर्थन रहेको दावी गरेको छ । नेताहरुले आआफ्नो दावी गरिरहँदा मतपरिणाम आए पछि बास्तविकता भने बल्ल बाहिर आउने छ ।