January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

रूपन्देहीमा सल्फास विषादी विक्रीमा रोक

भैरहवा– रुपन्देही प्रहरीले जिल्लामा आजदेखि ‘सल्फास’ नामक आल्मुनियम फस्फेट विषादी बिक्रीवितरणमा रोक लगाएको छ ।

Advertisement

नेपाल सरकारले वि.सं २०७६ सालमा सल्फास विषादी प्रतिबन्ध गरेको थियो । तर इजाजत प्राप्त गरेका एग्रोभेट र विभिन्न हाटबजारमा प्रतिबन्ध गरेका विषादी बिक्री भैरहेको थियो । रुपन्देही प्रहरीले आइतबार जिल्लामा रहेका करिव दुई सय एग्रोभेट, स्थानीय तहका कृषि तथा पशु प्राविधिक, पशु तथा प्लान्ट क्वारेण्टाइका अधिकारीकाबीच छलफल गरी रुपन्देहीमा सल्फास प्रतिबन्ध घोषणा गरेको हो ।

रुपन्देही प्रहरी विषादी विक्रीवितरणमा रोक लगाउनका लागि आयोजना गरेको छलफलमा सहभागीहरु ।

प्रहरीले जिल्लाका २५ हजार घरधुुरीमा गरेको अध्ययन अनुसार आत्महत्या गर्ने मध्ये ३० प्रतिशत बढीले सल्फास विषादी सेवन गरेको भेटिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘हाम्रो तथ्यांक हेर्दा गएको पाँच वर्षमा तीन सय ५४ जनाले आत्महत्या गरेका छन्’, उनले भने, ‘जसमा एक सय ४१ जनाले सल्फास प्रयोग गरेको पाइएको छ ।’

अन्य किट्नाषक विवादीको तुलनामा सल्फास हानिकारक भएको चिकित्सकको भनाई छ । सल्फास प्रयोग गरेका अधिकांश व्याक्तिको मृत्यु हुने गरेको मनोचिकित्सक मनोज ढुंगानाले बताए । पञ्जिकरण गरेका बाहेक अन्य विषादी बजारमा बिक्री भैरहेका छन् । इजाजत प्राप्त गरेका एग्रोभेटका सञ्चालकलाई प्रतिबन्ध गरेका विषादीका बारेमा ज्ञान नभएको बताए ।

विषादीको तालिम नलिई एग्रोभेट सञ्चालन गर्न पाइँदैन । तर केही वर्ष यता एग्रोभेट सञ्चालकले विषादीको तालिम पाएका छैनन् । यसले गर्दा विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध गरेका विषादी खुल्ला रुपमा बिक्री भैरहेको छ । पञ्जिकरण गरेका विषादी बिक्री गर्दा पनि विवरण राखेर मात्र किसानलाई दिन प्रहरीले आग्रह गरेको छ । यसले विषादीबाट आत्महत्या गर्नेको संख्यामा कमी आउन सक्ने रुपन्देही प्रहरीको विश्वास छ ।