December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

लुम्बिनीबाट जनमत पार्टीको ‘जनमत माटो यात्रा’ सुरु

भैरहवा– सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरु गरेको छ । शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसाथ लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरु गरिएको हो ।

Advertisement

आज लुम्बिनी परिसरको माटो स्थानीय नेताहरुले पार्टी अध्यक्ष सीके राउतलाई हस्तान्तरण गरि जनमत माटो यात्राको शुभारम्भ भयो । हरेक स्थानीय तहको माटो जम्मा गरेर एउटा पवित्र उद्यान बनाउने पार्टीको अभियान छ । ‘यसले शान्ति, एकतासहित एक अर्कालाई सांस्कारिक रुपमा जोड्न सकिने छ’, अध्यक्ष राउतले भने ।

उनले उद्यान बनाउँदा सबै स्थानीय तहको ऐतिहासिकता झल्कने गरी बनाउने योजना रहेको बताए । ‘यसले उद्यान घुमेपछि मुुलुकको कुन तहमा के–के विशेषता छन् भन्नेबारे एकै ठाउँबाट जानकारी हुने छ’, उनले भने ।

उद्यान कहाँ बनाउने भन्नेबारे अझै निर्णय भइनसकेको उक्त पार्टीले जनाएको छ । पहिलो चरणमा पार्टीको जनमत बलियो भएका स्थानलाई केन्द्रित गरेर अभियान शुरु गरिएको छ । क्रमशः मधेशका सबै स्थानीय तहमा पुग्ने राउतले बताए । अध्यक्ष राउतले आफूहरुको योजना हिमाल, पहाडका स्थानीय तहमा पनि आफै पुगेर माटो संकलन गर्ने रहेको बताए । यदि, त्यो सम्भवन नभए कुनै माध्यमबाट माटो संकलन गरिने पार्टीले योजना बनाएको छ ।

अभियानका क्रममा गाउँगाउँमा आमसभा गर्ने, जनताको मनोभावना र वस्तुुस्थिति बुझ्दै जनमत आफ्नो पक्षमा बनाउने गरि जनमत पार्टी देश दौडाहामा लागेको हो ।

आजै लुम्बिनीमा पार्टीले जिल्लास्तरीय सभा गरेको छ । सभामा पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए । सभामा सहभागी हुन जिल्लाका गाउँगाउँबाट सयौं कार्यकर्ता लुम्बिनी पुुगेका थिए ।