July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बाँके–२ मा कांग्रेस निर्वाचन स्थगित

बाँके- नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को निर्वाचन स्थगित भएको छ।

Advertisement

एउटाको मत अर्कोले हाल्ने विषयमा भएको विवाद मिल्न नसकेपछि मतदान प्रक्रिया शुक्रबार बिहान ९ः०० बजेसम्मका लागि स्थगित गरिएको छ।

Advertisement

आज बिहान ९ः०० बजेदेखि गर्ने भनिएको मतदान विवादले हुन सकेको थिएन। दिनभरि पनि विवाद नमिलेपछि भोलिसम्मको समय दिइएको छ। शुक्रबार बिहानसम्म पनि सहमति नभए विधानअनुसार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन अधिकृत गोपाल गिरीले बताए।

विधानमा बिरामी, अशक्तले मतदान गर्न नसक्ने भए उसले इच्छाएको व्यक्तिले मतदान अधिकृतको रोहबरमा मत दिने व्यवस्था गरिएको छ। डुडुवाका मतदाताले आफै मत हाल्न नसक्ने भएकाले त्यस्ता पाँच जनाको एक जनाले मत हाल्न पाउनु पर्ने एक पक्षको अडान थियो। त्यसलाई अर्को पक्षले मानेको छैन।

क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताको प्यानलसहित प्रतिस्पर्धा रहेको छ।

जिल्लाको क्षेत्र नं. १ मा मतदान चलिरहेको छ। क्षेत्र नं. १ मा संस्थापनका माधवराम खत्री र संस्थापन इतरका पोषण केसीको प्रतिस्पर्धा रहेको छ। क्षेत्र नं. ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध विजयी भइसकेका छन्।