December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

संसद अवरोध गर्नु लोकतन्त्र बिरोधी गतिविधि : मुख्यमन्त्री केसी

पाल्पा– लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने बताएका छन् । प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने मुख्यमन्त्री केसीले प्रतिबद्धता जनाए ।

Advertisement

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने योजना जनाए । ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढेको छ’, उनले भने ।

प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकतामा आधारमा बजेट बनाएको उनको दावी छ । मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिए ।

मन्त्री केसीले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको बताए । ‘केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ,’ मुख्यमन्त्री केसीले भने ।

विपक्षी दलले संसद्मा गरेको अबरोधका विषयमा मुख्यमन्त्री केसीले असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको बताए । उनले संसद् विपक्षीले आफ्नो मत राख्ने स्थल भए पनि आफैँले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भने पनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ ।

उनले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद्को अबरोध गर्नबाट पछि हट्नेमा विश्वास गरे । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भए पनि समयाबधिको विषयमा छलफल नभएको जिकिर गरे । ‘पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो’, उनले भने, ‘कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन ।’