December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

यादव भन्छन्– एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदी ‘फटाहा’

भैरहवा– मैले तत्कालीन राजपाको राष्ट्रिय उपाध्यक्ष पद छाडेर एमाले प्रवेश गरेको हुँ । भैरहवा जस्तो ठाउँबाट प्रत्यक्षतर्फ संसदमा निर्वाचित भएँ । मन्त्री पनि भएँ । मन्त्री भइसकेको र राजपाको राष्ट्रिय उपाध्यक्ष भएको नेता एमालेको सामान्य प्रदेश कमिटी सदस्य स्वीकारे । यसका पछाडि एमालेको नीति तथा सिद्धान्त मन परेर हो ।

Advertisement

अर्कातर्फ एमाले अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेलजस्ता राम्रा नेताहरु भएका कारण पनि हो । पार्टी प्रवेश गर्दा मर्चवारको विकास मेरो प्राथमिकतामा थियो । अन्य पार्टीका नेताहरुले काम गर्न सकेनन् । तर, हाम्रा नेताहरुले पनि मर्चवारलाई ध्यान दिएनन् । समय पनि दिएनन् ।

विगतमा पार्टी कमजोर हुनु र नेताहरुले ध्यान नदिँदा मर्चवारको विकास नभएको हो । मैले केही प्रयास गरे । पार्टीमा निरन्तर काम गरेँ । गएको कार्तिक २७ गते एमालेको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट थियो । प्रतिनिधि छनोटमा मेरो नाम सर्वसम्मती भएको थियो । माइन्यूट पनि भयो ।

त्यही बीचमा एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले निर्वाचन अधिकृतलाई फोन गर्नुभयो । त्यसपछि सर्वसम्मत भएको मेरो नाम सार्वजनिक गरिएन । सुवेदी निर्वाचनस्थल आउनुभयो । आएपछि उहाँले के–के कुरा गर्नुभयो । त्यसपछि सर्वसम्मत भएको मलाई निर्वाचनमा होमिन बाध्य बनाइयो । २८ गते निर्वाचन भयो र मलाई पराजित गरियो ।

निर्वाचन सुरुपछि सुवेदी त्यहाँबाट भागिहाल्नुभयो । होइन भने मैले ‘त्यो फटाहा सुवेदीलाई मुक्का प्रहार’ गर्ने थिएँ । भागेर बचेँ । सुवेदी फटाहाको झुण्ड हुन् । उनले फटाहाहरुको समूहको नेतृत्व गर्छन् । उनैले गर्दा एमाले मर्चवारमा कमजोर भएको हो ।

जम्मा एक सय मात्रै संगठित सदस्य भएको एमालेलाई क्षेत्र नम्बर चारमा मैले सदस्यता बृद्धि गरेको छु । मेरो कारण सय जनाबाट संगठित सदस्य बृद्धि भएर ३ सय ८२ पुगेका छन् । सुवेदीको आफ्नो केही क्षमता छैन । उनले बुटवलको नगर प्रमुख पनि विष्णु पौडेलको कारण जितेका हुन् ।

उनको हैसियत राम्रो छैन । मन्त्री भइसकेको मान्छे हुँ म । मसँग उनको कसरी हैसियत मिल्छ । यस्ता फटाहाका कारण एमालेले मर्चवारमा एउटा वडा सदस्य पनि जित्न सकेको छैन । आगामी दिनमा पनि जित्न कठिन छ । फटाहा सुवेदीलाई मैले चुनौति दिन्छु, ‘हैसियत भए एक्लै चुनाव लडेर जितेर देखाउ ।’
(शनिबार यादवले पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको सम्पादित अंश)