December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

यादवद्वारा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यबाट राजीनामा

भैरहवा– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं रुपन्देही क्षेत्र नम्बर चारका सह–इन्चार्ज ओमप्रकाश यादव (गुल्जारी)ले पदबाट राजीनामा दिएका छन् । उनले पार्टीको नीति तथा सिद्धान्त राम्रो हुँदाहुँदै पनि आफूलाई काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

Advertisement

शनिबार मर्चवारस्थित साना किसान सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन गर्दै यादवले एमालेको जिम्मेवार सबै पदबाट राजीनामा दिएको जनाए । पार्टीको साधारण सदस्य भने रहने उनले बताए । ‘मर्चवारको विकास गरौं, एमालेलाई यहाँ स्थापित गरौं भनेर म लागेको थिएँ’, उनले भने, ‘तर काम गर्ने वातावरण भएन, जनताको काम गर्ने नेताहरुलाई नै पार्टीबाट सहयोग भएन ।’

केही दिन अघि एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा उनी पराजित भएका थिए । पार्टीका रुपन्देही अध्यक्ष शिवराज सुवेदीको डिजाइन र उनी निकट केही झुण्डले आफूलाई प्रतिनिधि छनोटमा पराजित गरेको आरोप यादवले लगाए ।

एमालेसँगको सहकार्यमा मर्चवार क्षेत्रको विकास गर्ने आफूको योजना हुँदाहुँदै सुवेदी जस्ता नेताहरुका कारण मर्चवार पछाडि परेको आरोप उनले लगाए । पूर्व कृषि राज्यमन्त्रीसमेत रहेका यादवले भने, ‘तत्कालीन समयमा म एउटा पार्टीको राष्ट्रिय उपाध्यक्ष थिएँ, राष्ट्रिय उपाध्यक्ष छाडेर एमालेमा आएँ तर यहाँ काम गर्ने वातावरण नै भएन । यसैले मैले एमालेको जिम्मेवार सबै पदबाट राजीनामा दिएको हुँ ।’

यादवले केही दिन आफू कुनै पार्टीमा नजाने जनाए । ‘पार्टीका नेताहरुले मेराबारे केही सोंचे एमालेमै रहन्छु’, उनले भने, ‘यदि त्यसो भएन भने कुन पार्टीमा जाने भन्नेबारे पछि निर्णय गर्छु ।’