December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

‘गृहमन्त्रीको निर्देशनमा आक्रमण भयो’

पुरनप्रसाद श्रेष्ठ : काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (क) सभापति उम्मेदवार

भैरहवा– रातिको करिब २–२ः३० बजेको थियो । म मतगणनास्थलमा थिएँ । हाम्रो समूह मतपरिणाममा अगाडि थियो । एक्कासी बत्ति गयो । तेल सकिएर जेनेटर बन्द भएहोला, व्यवस्थापन गरेर चलाउनु पर्यो भन्ने कुरा हुँदैथियो । तर, तरुणदलका रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङ नेतृत्वको समूहले जेनेटर नै बन्द गरिदिएको रहेछ ।

Advertisement

त्यसपछि म बाहिर आएँ, बाहिर आउँदा हाम्रा साथीहरु घाइते हुनुभएको थियो । रगताम्य हुनुभएको थियो । सबैलाई थाहा भएको कुरा हो । काँग्रेसमा दुई समूह छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष । हिजो रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (क) को निर्वाचन सकिएपछि राति मतगणना जारी थियो ।

देउवा पक्षबाट सुरेन्द्रजंग थापा र म सभापतिमा प्रतिस्पर्धी थियौं । पार्टीमा फरक मत हुन्छ । वादविवाद हुन्छ । तर, उम्मेदवार कुटेर गुट चलाउन खोजिएको छ । शैलेसकुमार पन्तजी पार्टीको क्षेत्रनम्बर ३ को क्षेत्रीय सचिव पदका उम्मेदवा हो । ६ गते क्षेत्रीय निर्वाचन छ । तर त्यसअघि नै उहाँमाथि गृहमन्त्री बालकृष्ण खाँणकै निर्देशनमा सोमबहादुरको समूह आएर आक्रमण गरेको हो ।

पार्टी कार्यालयमा शान्त वातावरणमा भइरहेको मतगणना विथोलिएको छ । गृहमन्त्रीजस्तो र पार्टीको जिम्मेवार मान्छेबाट कुटपिटका लागि निर्देशन भएको छ । सदस्यहरुको मतगणनामा हाम्रो समूहले लिड गरिरहेको थियो । तर, आक्रमण पछि मतगणना स्थगित भएको छ ।

शैलेसजी धेरै घाइते हुनुभएको छ । उहाँ राम्रोसँग बोल्न सक्नुभएको छैन । हामीले सोध्दा पनि सोमबहादुरको समूहले आक्रमण गरेको भन्नु भएको छ । क्षेत्रीय सभापतिका उम्मेदवार सुशील गुरुङ पनि हाम्रा साथीहरुमाथि कुटपिट हुनेबेला सँगै हुनुहुन्थ्यो । उहाँले पछाडि सोमबहादुरहरुलाई हान… हान…. भन्नुभएको सुनोका छौं ।

यो योजनाबद्ध गरिएको कुटपिट हो । अहिले हामी सबै एकै ठाउँ जम्मा भएका छौं । शैलेसजीको उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा छौं । सोबहादुरको नेतृत्वमा एउटा जत्था नै आएर बत्ति निभाएर बुटैबुटले प्रहार गरेको हो । घाइते साथीहरुलाई तुरुन्तै अस्पताल लगियो र थप क्षति हुन पाएन । उपचार गरेर फर्किएपछि के गर्ने भन्नेबारे निर्णय गर्छौं ।
(पब्लिक कुरासँग श्रेष्ठले गरेको कुराकानीका आधारमा)