December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

कथा : महाभूतको अद्भुत भूत

महाभूत टोलमा राममान, श्याममान, द्योचा तीनजना दाजुभाइहरू थिए । तिनीहरूमध्ये अघिल्ला दुईजना जेठीपट्टिका र पछिल्लो कान्छीपट्टिको । तर, बाबुआमा भने तिनीहरूका थिएनन् । तीनतले एउटा थोत्रो घरबाहेक अरू सम्पत्ति उनीहरूको केही थिएन । वर्षको आउने छ मुरी धान र तीन पाथी चार माना कोदोको के कुरा ।

Advertisement

हातमुखको भेटघाट सूचीकारी वृत्तिबाट चल्थ्यो । घरको तल, पसलमा एउटा हाते ‘कल’ हमेसा चलिरहेको हुन्थ्यो । कमाउन केही सकेका थिएनन् । दैनिक आम्दानी पेटपूजामा नै समाप्त हुन्थ्यो । ती तीनैको विवाह अझ भएको थिएन, किनभने ‘श्राद्ध गर्नु त सजिलो छ, तर सिधा पुर्याउन गाह्रो’ भनेझँै उनीहरूलाई पनि भएको थियो ।

विवाहलाई त उस्तो खर्च केही लाग्ने होइन, तर गुठियार खुवाउँदैमा सर्वस्व उड्थ्यो । मासु मात्र पनि सय–सयका दुइटा राँगा नभई छोप लाउन पुग्दैनथ्यो ।

फेरि आर्को कुरा, जेठोको विवाह नगरी माहिलोको कसरी गर्नु ? कान्छो त भर्खर तेह्र वर्ष मात्र लागेकोले केही आतुरी परेको थिएन । एक त राममानले विवाह गर्न खोजेकै थिएन, फेरि खोजे तापनि उसको बायाँ गोडा राम्रै लंगडो भएकोले केटी दिन पनि कोही आउँदैनथे । चिलाउने र कनाउने मिलेकै थिए ।

राममान गोडाको कच्चा भएको हुनाले टाढाटाढा हिँड्न सक्दैनथ्यो । त्यसउसले घरघरमा गएर कपडा ल्याउने, लुगा सिएर पुर्याउने कामचाहिँ श्याममानको थियो । उनीहरूका मालिकहरू पुलचोकनिरै भएकाले उनीहरूलाई उहाँका लुगा पर्याप्त हुन्थे । टोलवरिपरिका सिलाइमा उनीहरू उस्तो ध्यान दिँदैनथे ।

द्योचाचाहिँ लुगा सिलाउँदैनथ्यो । बिहानबेलुका भात पकाउने र नेपाली पासको निम्ति स्रेस्ता पाठशालामा पढ्ने मात्र उसको काम थियो । भातसम्म त करैले, बलैले बल्लबल्ल उमालिदिन्थ्यो, तर पढ्नलाई चाहिँ हप्तामा दुईपटक पनि मुस्किलले जान्थ्यो । नत्र हमेसा बहालभित्र लुकेर पायाँ मात्र खेलेर बसिरहन्थ्यो । तब त प्राथमिक परीक्षामा पनि चारपटक फयल भयो नि ।

द्योचा भनेपछि टोलमा सब त्राहित्राहि थिए । उसको झगडा, लडाकु बानीले आफूभन्दा ठूलाठूलालाई पनि तर्साएको थियो । बलले पुगेन भने ऊ कोपर्ने, चिथर्ने, टोक्ने, जेले पायो त्यल्ले हान्ने गर्थ्यो । हमेसा मुडुलो टाउको, खतैखत भएको गाला, मुखमा अश्लील गाली, तना चुँडेको दौरा, कोप्चा आँखा, लेखेपढेका वा साधु प्रकृतिका मानिसहरू ऊसित बोल्ने कुरा त परै जाओस्, मुखपर्यन्त हेर्दैनथे ।

ऊ महाभूत टोलको सरदार थियो । धारामा पानी लिन आएका टोलका केटीहरूलाई बिनसित्ति पनि टाउकोमा प्याट पिट्नु, कुखुराका बच्चा चोरेर पोलेर खाइदिनु, झ्यालका ऐना गुलेलीले हानेर चकनाचुर पारिदिनु, यस्तैयस्तै कुराहरूमा उसको पुरुषार्थ देखिन्थ्यो ।

राममान पसलमा लुगा सिएर बसिरहेको बेलामा द्योचाका उपर कैयन् उजुरी आउँथे । ऊ भाइलाई बराबर चड्काउँथ्यो पनि । तर, उसको लत भने झन्झन्–झन्झन् बिग्रेर जाँदो थियो । सौताने आमा पनि मरेर गइसकेकी हुनाले राममान र श्याममान दुवै उसलाई सौताने भाइजस्तो ठान्दैनथे ।

तर, ऊचाहिँ यी दाजुहरू मेरा आफ्ना होइनन्, सौताने त हुन् नि, यिनीहरूलाई दुःख दिनैपर्छ भन्ने गर्दथ्यो, ‘दाजुको माया भाइमाथि, भाइको माया काईमाथि’ ।

घरको बुइँगल तलामा, दुइटा झ्याल ः एकातिर भँडार थियो, अर्कोतिर राममान र श्याममानकी सानीआमाको कोठा । पछि ऊ मरेपछि आफ्नी आमाको कोठा भएको हुनाले द्योचा त्यहाँ सुत्ने गर्यो । अरू दुईजना दाजुहरूले चाहिँ तल्लो तलामा भिन्दैभिन्दै कोठा लिएका थिए, एक्लाएक्लै ठिंगोठिंगो भए तापनि ।

त्योभन्दा अझ तल्लो तलाको दुई कोठामा पल्टनियाँ सिपाहीहरू बहाल तिरेर बसेका थिए । भँडारमा केही नभए तापनि गृहस्थीको घर भएका हुनाले केही त जरुरै थियो । त्यस कारण ढोकामा भोटेताल्चा मारेको हुन्थ्यो ।

राति कति बजेको थियो कति, राममान एकाएक निद्रैबाट बिउँझ्यो । माथि भँडारमा मानिस हिँडेको जस्तो मच्याकमच्याक गरिरहेको ! उसल ध्यान दिएर सुन्यो । सुन्दासुन्दै फेरि तुरुन्तै खलमा केही कुरा पिसेको, कुटेको शब्द आयो । तल आफ्नो कोठामा बुरबुर धुलो झर्यो पनि ।

अनि त उसको मुटु सहसा ढक्क भएर फुल्यो । पहिले त उसलाई चोर पो हो कि भन्ने शंका लागेको थियो, जसै त्यसरी खल कुटेको थियो अनि तर्साएकै हो पक्का पनि, सानीआमा माथि कोठैमा मरेकी थिइन् तिनैले तर्साएको हो भन्न दृढनिश्चय गरेर “राम ! राम ! रामराम !, राम ! राम ! राम ! राम !’ जपेर सिरकले नाकमुख छोपेर, एकै डल्लो परेर, ढुंगो हो कि मुढो हो चलहल नगरेर कुप्रियो ।

त्यस्तै दशपन्ध्र मिनेटजति तर्साएपछि अनि चालचुल केही पनि आएन । राममानले तब लामो सास फेर्यो । अब त छोड्यो भन्ने ठानेर कोल्टे फर्कियो, एकै छिनपछि ऊ फेरि निदायो ।

भोलिपल्ट बिहान बिउँझनासाथ उसले रातिको घटना सम्झ्यो, उठेर माथि भँडार खोलेर सर्वत्र हेर्यो । सब मालसामान जस्ताका तस्तै, जहाँका तहीँ थिए । कुनै नोक्सान, टुटफुट केही भएको थिएन ।

पहिले त राममानले तर्साएको कुरा भाइहरूलाई पनि भन्ने विचार गरेको थियो । पछि मनमा के लाग्यो कुन्नि, सायद भाइहरू डराउलान् भनेर हो कि उसले कसैलाई पनि भनेन ।

भोलिपल्ट राति झ्यालढोका सब बन्दाबन्दी गरेर चुकुल, आग्लो हालेर सुत्ने बेलामा बिछौनामा एउटा धूप सल्काएर ऊ सुत्यो । क्या हो, क्या हो आज पनि तर्साउँछ कि जस्तो उसलाई लाग्यो । के आँखा लोलाएको मात्र थियो, हिजैको जस्तो माथि भँडारमा फेरि मच्याकमच्याक मानिस हिँडेको जस्तो गर्न थाल्यो । यत्तिमै ‘उ तर्सायो’ भनेर उसको मुटु ढक्क फुलिहाल्यो र डरले घुँडा र मुन्टो एकै ठाउँमा पारेर सिरकले सर्वांग छोपेर सास पनि हलुकासित फेरेर ऊ सुत्यो ।

माथि भने हिजैको जस्तो खल पनि कुट्न थाल्यो, कहिले पिन्थ्यो, कहिले कुट्थ्यो । कुटेको बेलामा तल कोठामा ध्ुलो बुरुबुरु झर्दथ्यो ।

राममान बिचरो थर्कमान भएर कहिले “जय शोभाभगवती ! जय शोभाभगवती । जय शोभागवती !” भन्थ्यो त कहिले “जय संकटामाई ! जय संकटामाई ! जय संकटामाई !”

यस्तो प्रकारले देवीको नाम जप्न थालेको आधा घण्टाजतिमा तर्साउन बन्द गर्यो । अनि, उसले लामो सास फेरेर, पसिनाले तरबरतर भएर, सिरकबाट मुख झिक्यो । सयौँ लामखुट्टेहरू कानमा आएर आरतीको घण्टा बजाउन थाले ।

राममानलाई निद्रा लागेन । उसले मनैमन कुरा गर्यो, ‘यो सानीआमाले मलाई बाँचुन्ज्याल पनि सुख दिइन, मरेर गएपछि पनि भूत भएर आएर राति तर्साएर समेत दुःख दिन थाली । अब के गरेर लघार्ने हो यसलाई ? भोलि गुभाजूलाई सोध्नुपर्यो कि क्या । नत्र…’ 
यत्तिकैमा ऊ दिनभरिको कामको थकाइ, निदाइहाल्यो ।

भोलिपल्ट बिहान उठेपछि उसले न त यो घटना भाइहरूलाई नै भन्यो न गुभाजूलाई नै । आजको एक रात फेरि हेरूँ भन्ने ठानेर ऊ चुपचाप रह्यो । 
त्यो रात पनि उस्तै गरी तर्सायो ।

०००

आधा रातको समय, असारको पहिलो हप्ता, भँडारभित्र जाँड र रक्सीका पाला र घासाघुसाहरू अगाडि राखेर घण्टा बजाएर गुभाजू केके पूजा गरिरहेको थियो । ऊ कहिलै चारै दिशातिर ढोग्थ्यो, कहिले छर्कन्थ्यो, नाना विधिविधानले उसले दुई घण्टा लगाएर भूत पन्छाउने पूजा गर्यो । राममान, श्याममान, द्योचा र तल डेराका दुइटा सिपाहीहरूचाहिँ भँडारको ढोकाबाहिर यो चमत्कार हेरेर बसिरहेका थिए ।

पूजा समाप्त भएपछि एउटा सानो भिउँटमा ती सबै सामग्रीहरू राखेर भूत मन्छनलाई ऊ चौबाटोतिर गयो । जाने बेला कसैले पनि नहेर्नु भनेर गुभाजूले भनेको हुनाले सबैले पिठ्युँ फर्काए । गुभाजू गयो ।

त्यस दिन पूजासामग्री र दक्षिणालगायत आठ रुपियाँ खर्च भयो । त्यो रात तर्साएन । भोलिपल्ट पनि भररात झमझम पानी परिहेको थियो, तर्साएन । पर्सिपल्ट पहिलेकै जस्तो गरी तर्सायो ।

त्यसपछि फेरि पहिलेकै जस्तो दिनका दिन तर्साउन थाल्यो । राममान तोबातोबा भयो र आफ्नो कोठा नै छोडेर श्याममानको कोठामा गएर सुत्ने गर्न लाग्यो । उसले द्योचालाई पनि माथि नसुत्, तँ एक्लै छस्, आइज हामीसित तलै सुत्न भन्यो । तर, द्योचाले मानेन ।

‘ती तर्साउने मेरै आमा त हुन् नि, मलाई के गर्छिन् र, तिमीहरू पो सौताने छोरा भएका हुनाले मार्छिन् कि भनेर डरायौ, मलाई केको डर’ भनेर उसले आफ्नो कोठा छोडेन । द्योचा मानिस ठिटो भए तापनि अलि जोधा थियो ।

राममानको घरमा राति तर्साउँछ रे भन्ने कुरा वरिपरि टोलमा निकैलाई थाहा भयो ।

एक दिन, राममान पुलचोककी पुतली मैयाँसाहेबको कमिज–चोलोमा टाँकघर बुन्न लागिरहेको थियो, श्याममान सुरुवाल काट्न, द्योचाचाहिँ थिएन । स्रेस्तापाठशालामा पढ्न गएको थियो कि कतै पायाँ खेल्न । उही टोलका दुईजना युवक जो त्रिचन्द्र कलेजमा द्वितीय वर्षमा पढ्दथे, विषय विज्ञान लिएका, त्यहाँ आए ।
एउटाले सोध्यो, “ए राम, तेरो घरमा तर्साउँछ रे हो ?”
“हो” उति ध्यान नदिएर भन्यो । 
अर्कोले उत्सुकतासाथ सोध्यो, “हैन, साँच्ची हो कि कसो ?” 
“हो” उस्तै गरेर उसले फेरि भन्यो । 
“कसरी तर्साउँछ ?” 
“खल कुट्छ, ओहोरदोहोर गरेर हिँड्छ ।”
“ए !”
“पक्कै हो के ?” 
“हो ।”
“उसो भए एक रात हामीलाई पनि सुत्न दे न त ।”
“आउनोस् न ।”
“बरु रातिराति तर्सेर नभाग्नू” श्याममानले बीचैमा फेरि थपेर भन्यो ।
“के कुरा गर्छस् ! हामीहरू तिमीहरूजस्ता अन्धविश्वासी हौँ र ?”

यसपछि, त्यसै रात भूतले तर्साएको सुन्न ती दुईजना युवक राममानको कोठामा गएर बसे । उनीहरूको साथमा एक–एकवटा टर्चलाइट थियो । राममानले भँडारको साँचो पनि भित्र खोलेर हेर्ने भए हेरे हुन्छ भनेर तिनीहरूलाई सुम्पिदिएको थियो ।
एउटाले भन्यो, “तर्साउन थाल्नासाथ बिस्तारै माथि गएर भँडार खोलेर हेर्नुपर्छ ।”
अर्कोले पनि सहमत भएर भन्यो, “जरुर हेर्नुपर्छ ।”

तिनीहरूले यति भनेका मात्र थिए, तोप चल्यो । त्यसको एक छिनपछि तर्साउन थाल्यो, कहिले मच्याकमच्याक गरेर ओहोरदोहोर गर्ने, कहिले खल कुट्ने अनि तल कोठामा धुलो झर्ने ।
दुवैजनाले आफ्नाआफ्ना टर्चलाइट खोले । दुवैको मन ढक्क भएर आयो । “लौ हिँड्, माथि हेर्न जाऔँ ।” 
“लौ हिँड् ।” 
“हिँड्न त तँ ।” 
“हिँड्न त तँ पनि ।” 
“अघि लाग् न त ।”
“तँ लाग् न ।” 
“जा, कातर लाग् न अघि ।” 
“तँ आँटिलो भएको लाग् न त अघि ।” 
“लौ हिँड् सँगसँगै । 
“लौ हिँड् ।”

दुवैजना एकएक हातमा टर्चलाइट लिएर, अर्कोअर्को हात परस्परमा समातेर एकको भरोसा आर्कोले मानेर बिस्तारबिस्तार भर्याङसम्म गए । एक खुडकिलोसम्ममा जेनतेन गरेर पुगे, तर दुई खुड्किलो उक्लनलाई दुवैलाई साहस आएन । माथिल्लो तलामा पुगेर भँडार खोलेर हेर्नु त झन् कता हो कता । माथि भने उस्तै गरेर तर्साइरहेकै थियो ।

दुवैको हृदय दुवैले बुझे । भूत हेर्ने हिम्मत वास्तवमा दुवैको थिएन ।
एउटाले सानो स्वरमा भन्यो, “यस्तो गर्दो रहेछ भन्ने थाहा भइहाल्यो । अब निद्रा किन बिगार्ने ? जाऔँ हिँड् । आफ्नै घरघर ।”
आर्कोले पनि सही ठोक्यो, “ठिक भनिस्, निद्रा बिगार्नु मुनासिब छैन । 
“मूसा, बिरालो केही होला भित्र ।” 
“त्यस्तै केही होला ।” 
“भूत त होइन ।” 
“भूत होइन, केको भूत हुन्थ्यो ।”

दिलका कातर, मुखका साहसी ती दुवै युवक त्यहाँबाट राममानलाई समेत थाहा नदिएर बिस्तारै तल ओर्लेर मूलढोका खोलेर सडकमा निस्के । अनि पछि उनीहरूको आवाज पनि खुल्यो, मुटुको धड्कन पनि मन्द भयो ।

००० 

बिहान उज्यालो भएको मात्र थियो, पानी सिमसिमसिमसिम परिरहेको, राममान पिँडौलासम्म सुरुवाल स्याहारेर, छाता ओढेर ढिकीच्याउँढिकीच्याउँ गर्दै उही गुभाजूकहाँ गयो र फेरि तर्साउन थालेको सबै बेहोरा खुलस्त गर्यो । गुभाजूले पनि उस्तै जोखना हेरेर भन्यो– त्यो मन्छेर जाने भूत होइन । त्यसलाई घरैमा मानेर एक भाग खान दिएर राख्नुपर्छ ।

त्यसै रात गुभाजूले भँडारमा बसेर फेरि पूजाआजा गर्यो । तर, यसपालिचाहिँ उसले एउट नयाँ कहतारोमा चिउरा, साँधेको कालो भटमास र सिद्रा, उसिनेको हाँसको फुल त्यहाँ छोडेर गयो, भूतको निम्ति । त्यो रात तर्साएन ।

भोलिपल्ट बिहान राममान भँडारभित्र गएर हेर्छ ता खानेकुरा केही पनि छैन ! रित्तो कहतारो मात्र बाँकी ! अनि, उसलाई पूरा विश्वास भयो तर्साउने भूतै रहेछ, भोकाएकै रहेछ, खानै नपाएर उपद्रव गरेको रहेछ ।

फेरि भोलिपल्ट पनि राममानले उसै गरेर एउट कहतारोमा चिउरा, साँधेको भटमास र सिद्रा, उसिनेको फुल लगेर साँझमा भँडारभित्र राखिदियो । त्यो रात पनि तर्साएन ।
पर्सिपल्ट पनि लगेर राखिदियो । त्यो रात पनि तर्साएन ।

अनि, राममान, श्याममानलाई यकिन भयो, खान पायो भने तर्साउँदो रहेनछ । नतर्साएको कुरामा उनीहरूलाई हर्ष भयो, तर दिन्हौं भूतको निम्ति पाँच आना खर्च भएकोमा भने बिस्मात । सियोको बलले जीविका गर्नेहरूलाई दिन्हौँ पाँच आना, महिनाको छ रुपियाँको फोकट खर्च कम होइन । जे भए पनि उनीहरूले हरेक साँझमा एक भाग लगेर भँडारभित्र राखिदिने गरेकै थिए ।

कहिलेकाहीँ हेलचेक्य्राइँ गरेर के गर्दो रहेछ हेरौँ न त भनेर राखिदिएन भने त्यो रात खपिसक्नु हुँदैनथ्यो । मच्याकमच्याक हिँड्ने मात्र होइन, यो कुनाबाट ऊ कुना, ऊ कुनाबाट ऊ कुना, घण्टौँ दगुडिरहन्थ्यो, खल त फुट्लाजस्तो गरेर कुट्थ्यो । खल कुटेको आवाज तल डेरामा सुतेका सिपाहीहरू र वल्लोपल्लो घरका मानिसहरूले पर्यन्त सुन्थे ।

अनि पछि बिचरा राममान, श्याममान हायलकायल भएर उसको एक भाग चिउरा, साँधेको कालो भटमास र सिद्रा, उसिनेको फुल लगेर राखिदिन्थे । त्यो रात तर्साउँदैनथ्यो ।
भोलिपल्ट बिहान गएर हेर्यो, दुईचार दाना भटमास, दुईचार गेडा चिउरा, परिपरि छरिएका बाहेक अरू केही बाँकी हुँदैनथ्यो ।

कहिलेकाहीँ त राममान भूतलाई खानेकुरा किन्न पैसा दिने बेलामा नराम्रोसित झर्केर भन्थ्यो, “यो सानीआमाले बाँचुन्ज्याल पनि हामीलाई सुख दिइन । मरेर गएपछि पनि भूत भएर दुःख दिन थाली ।”
०००
तर्साउने घरमा सधैँ बसेर साध्य भो ? भूतलाई खाजा कति खुवाउने ? दिन्हौँ पाँच आना ! महिनाको छ रुपियाँ ! छ रुपियाँ भए बिचराहरूलाई महिनाभरि नुन, तेल, मट्टीतेल टर्थ्यो ।

राममानले त्यो घर बेचेर अन्तै गएर बस्ने विचार गर्यो । पहिले नै उसको घरलाई पच्चीस सय दिन आइसकेका थिए । उसले तीन हजार नपाई दिन्नँ भनेको थियो, एकएक भाइलाई एकएक हजार । झन् अहिले त सबै कुराको भाउताउ यसरी दोब्बरचौब्बर भएर गएको बेलामा पाँच–छ हजार पाउनुपर्नेमा पन्ध्र सय, दुई हजार पो भन्न थाले– त्यही पनि डराईडराई । जो पनि तर्साउँछ रे भन्ने, डराउने । भूतले, सुन्नेजति सबैको, सातो लिइदिएको थियो ।

राममानले चौबीस सयसम्म पाएमा पनि बिक्री गर्ने सुर गर्यो । किन्ने कोही भएनन् । पछि एक्काइस सयमा दिन्छु भनेर ऊ आफैँ गलेर ओर्लियो, तैपनि ग्राहक कोही निस्केनन् ।

दिन्हौँ भूतले तर्साउने भयो भनेर आफ्ना घरपट्टीले घर बेच्न खोजेको कुरा तल डेरामा बसेका पूर्व ३ नं. घर भएका भैरवनाथ पल्टनका सिपाहीले थाहा पाए । उनीहरूलाई अफसोस लाग्यो, किनभने उनीहरू त्यहाँ बसेको आठ–नौ वर्ष बितिसकेको थियो । स्वास्नीमानिसहरूको कचमच केही थिएन, घरपट्टीहरू असल थिए । बहाल सस्तो थियो । कबाज, पालो, परेठ सबैलाई पायक पर्थ्यो ।

घर बेचिएको खण्डमा उनीहरूको समेत बास उठ्ने भएकोले उनीहरूलाई भूतदेखि साह्रै जङ चल्यो । पूर्विया जङ चल्यो । कुनै सुरतले यसलाई पन्छाउन पाएदेखि त घर बेच्तैनथे भन्ने उनीहरूले ठाने ।

घर बिक्री गर्ने चर्चा भने चलिरहेकै थियो, तर किन्न कसैले आँट गर्न सकेका थिएनन् । राममानचाहिँ एक भाग ठेकिएको खानेकुरा साँझमा भँडारमा लगेर राख्ने गर्दै थियो । नराखेर के गरोस् बिचरा !
०००
भदौको मध्य, इन्द्रजात्राको दुई दिनअगाडि, जात्रा हेर्न चारै खूटबाट मानिसहरू काठमाडौंमा वैरिन थाले । पूर्वबाट पनि ती सिपाहीका गाउँलेहरू आएर उही डेरामा बसे । तिनीहरूमध्ये एकजना झाँक्री थियो, मोटामोटा हातपौँजा भएको, जीउभरि झ्यापझ्याप्ती रौँ, दीर्घकाय, देख्तै डरलाग्दो ।

भोलिपल्ट बिहान सिपाहीहरूले त्यो घरमा तर्साउनेले दिएको दुःखको सबै हालत त्यस झाँक्रीलाई बताए । उसले जस्तै जब्बर भूत भए पनि म चुकीमा भगाइदिन सक्छु भनेर हाँक दियो । तर, इनाम पूरा पाउनुपर्छ ।

राममान, श्याममान र त्यो झाँक्रीको कुराकानी भयो । राममानले तर्साउनेको इतिहास विशद् रूपमा सुनायो । अन्त्यमा भूत धपिएमा पच्चीस रुपियाँ पाउने कबुलमा झाँक्रीले त्यसै रात तन्त्रमन्त्र गर्ने भयो ।
बिहान बित्यो, दिन बित्यो, साँझ बित्यो ।

राति सबैजनाले खानपिन सकेपछि त्यस्तै तोप चल्ने बेलातिर त्यो झाँक्री एउटामा खरानी, अर्कोमा अक्षता भएको दुई बोहोता दुई हातमा लिएर उही बुइगलमा आयो । उसका पछिपछि राममान, श्याममान, द्योचा र ती सिपाहीहरू थिए । त्यो दिन भूतलाई खानेकुरा केही पनि राखिएको थिएन । झाँक्रीले नराख्नू नै भनेको थियो । उसले भँडारभित्र पसेर आफ्नो शरीरलाई मन्त्रले बाँध्यो र ढोका बन्द गराएर एक्लै भित्र आसन जमायो ।

अरूहरूचाहिँ आश्चर्य र भय संमिश्रित हृदयले ढोकाबाहिर बसेका थिए । राममानचाहिँ किन हो कुन्नि लगलगलगलग काम्दो थियो, सायद अब केके हुने हो भनेर होला । झाँक्री र भूतको झगडा !

तोप चल्यो, एघार बज्यो, बाह्र बज्यो, तर भूत पनि आएन, तर्साएन पनि । अनि पछि बाहिर बसेका सबैजनालाई पट्यार पनि, निद्रा पनि लागेर उनीहरूले झाँक्रीलाई बोलाए— तर्साउने बेला टर्यो, अब आजलाई तर्साउँदैन भनेर । 
झाँक्रीसहित सबैजना आफ्नाआफ्ना कोठामा गएर सुते ।

के राममानको आँखा झिपिक्क लागेको मात्र थियो, माथि त थाल्यो फेरि तर्साउन । उस्तै– कहिले यो कुनाबाट उ कुना दगुड्ने, कहिले जोडासित खल कुट्ने ।

राममानले बिस्तारै उठेर गएर श्याममानलाई बिउँझायो । अनि पछि दुवैजना तल गएर भएको कुरा झाँक्रीलाई भने ।

झाँक्री पनि तमाखु खाएर पल्टेको मात्र थियो, उसलाई त हुनसम्म रिस उठ्यो र फेरि तिनै बोहोताहरू हातमा लिएर माथि बुइगलमा गयो ।

नभन्दै भूत त भँडारभित्र थिति न बितिसित दगुडिरहेको । उसले आफैले ढोकाको ताल्चा खोल्यो, बाहिर ताल्चा खोल्न लाग्नासाथ भँडारभित्र घुत्रुक्क के आवाज गर्यो । झाँक्री भुतभुताएर अक्षता छर्दैछर्दै भँडारभित्र पस्यो । ती सिपाहीहरू पनि पसे । राममान, श्याममान पनि । बत्तीले सारा अन्तरकुन्तर नियालेर हेरे, कहाँ केही छैन ।

अनि पछि ती सबैजना बाहिर आएर ढोकामा ताल्चा मारे र फेरि आउँदो रहेछ कि, केके गर्दो रहेछ भनेर त्यहीँ चालोमालो केही पनि नगरेर चुपचाप बसिराखे ।

एक छिनपछि फेरि घुत्रुक्क आवाज आयो । अनि त फेरि थाल्यो कहिले दगुड्न, कहिले खल कुटन । झाँक्री पनि छक्कै पर्यो । यस्तो तर्साउने त उसले कहीँ कहिले पनि देखेको थिएन ।

ऊ भँडारको ताल्चा फटाफट खोलेर एक्लै भित्र पस्यो । अरूहरूचाहिँ ढोकामै उभिरहेका थिए । त्यो झाँक्रीले हातमा बत्ती लिएर रिसाएर, मन्त्र भुनभुनाएर अक्षता र खरानी छर्दैछर्दै कुनाकानी अन्तरकुन्तर सर्वत्र हेर्यो । कहीँ केही देखिएन ।

राममान र श्याममानचाहिँ मौन ‘त्राहि गोविन्द !’ थिए । सिपाहीहरूचाहिँ “के भेटिथ्यो ! हावा, ऐलेको ऐले अल्पिहाल्यो के ।” भन्न थाले ।

झाँक्रीचाहिँ भूतलाई पनि तर्साउला कि जस्तो गरेर भित्र काम्दो थियो, घुम्दो थियो । अचानक उसको दृष्टि पर्यो घ्याम्पाहरूमा । सबैको मुख केही न केही भाँडोले छोपिएको, तर एउटा घ्याम्पोको भने मुख उघारै थियो । उसको मनमा के लाग्यो कुन्नि, ऊ त्यही घ्याम्पोभित्र बत्ती लिएर हेर्न पुग्यो । उसले त्यहाँभित्र एउट भूत जिङ्ग्रिङ्ग कपाल पारेर बसेको देख्यो । त्यसलाई, त्यहाँ त्यसरी बसेको देख्नासाथ रिसले बलेर तालुको छाला नै च्यात्तियो कि जस्तो गरेर झाँक्रीले जगल्ट्याएर माथि तान्यो ।
अनि त द्योचा भूत आत्तिएर निसासिएर, एक सासमा चिच्चायो, “अय्याः ! अय्याः !! अय्याः !!!” baarakhari