December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

पूर्ववर्ती सरकारले सत्ता कब्जा गर्न खोजेपछि गठबन्धन सरकार बन्यो : गृहमन्त्री खाँण

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले साशन व्यवस्थाको मानसिकताबाट राज्यसत्ता कब्जा गर्न खोजेकाले त्यसबाट मुक्त गर्न नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाइएको बताएका छन् । काँग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै खाँणले भने, ‘ओली सरकारले मानवअधिकार, जनताका मौलिक अधिकारमाथि नै घात गरेकाले गठबन्धन बनेको हो ।’

Advertisement

उनले संविधान, लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाई राज्यसत्तालाई सरकारको माध्यमबाट कब्जा गर्ने, बहुदलीय साशन व्यवस्थाको बर्खिलाप एकदलीय साशन व्यवस्थाको कारणले अहिलेको सत्ता गठबन्ध बनेको प्रष्ट्याए ।

खाँणले विगतमा काँग्रेस नेतृत्वको सरकार हुँदा पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा काँग्रेस सरकारमा लामो समय टिक्न नसकेको जनाउँदै अब सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताए । ‘१४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बन्नुहुन्छ र संघीय निर्वाचनपछि प्रधानमन्त्री पनि देउवा नै बन्नुहुन्छ’, उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले जितेकाले जित्न नसकेकालाई समेटेर लैजानुपर्नेमा बताए । कांग्रेस सरकारमा रहेको बेला पार्टी व्यवस्थापनमा केही समस्या देखिएको बताए । ‘देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेका छन्’, उनलभने, ‘आगामी निर्वाचनमा पार्टीको नेतृत्व पनि देउवाले गर्नुपर्छ ।’ एकताबद्ध कांग्रेसले संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनले जनाए । कांग्रेस कमजोर भए जनता र जनताको हकअधिकार कमजोर हुने उनको दावी छ ।

खाँणले जुनसुकै दर्जाका प्रहरी सेवानिवृत्त हुँदा एक तह बढुवा हुने गरी प्रहरी नियावली संशोधन गरेर लोकसेवा आयोगमा स्वीकृतिका लागि पठाइएको बताए । ‘लामो समय बढुवा हुन नसक्दा वर्षौसम्म राज्यलाई योगदान गरेका प्रहरीहरु सेवानिवृत्त पछि घरव्यवहार र गुजारा चलाउन समेत नसक्ने भएकाले एक तह बढुवा गरी पेन्सन बृद्धिको योजना ल्याइएको हो’, उनले भने । अघिल्लो सरकारले माथिल्लो दर्जाका प्रहरीलाई प्रक्षपोषण गर्न दरबन्दी बढाउने गरे पनि काँग्रेस नेतृत्वको सरकारले भने तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी अधिकृतहरुलाई ध्यान दिएर प्रहरी नियमावली संशोधन गरेको दावी गरे ।

अर्को प्रशंगमा खाँणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरे । मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्न र शान्तिको मार्ग सबैका लागि प्रशस्त गर्दै वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन संकल्प लिएको बताए । ‘विप्लब नेतृत्व पार्टीका कार्यकर्ताहरुका बाँकी मुद्दाका विषय पनि समाधान गर्न सरकार लागि परेको छ’, उनले भने, ‘अब सबै शान्ति प्रक्रियामा आउनुपर्छ । मुलुकको विकासतर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा काँग्रेस रुपन्देहीले पार्टीको १३औं अधिवेशनमा जिल्ला, क्षेत्र, स्थानीय तह, वडा तहमा निर्वाचित तीन सय पदाधिकारीहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । १४औं महाधिवेशनको संघारमा सम्मान कार्यक्रम आयोजना गरी कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप देउवा पक्षीय काँग्रेसले राणनीतिअनुरुप सम्मान कार्यक्रम आयोजना गरेको हो ।