March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लोप हुँदै मेडरी नाच

भैरहवा– लुम्बिनी प्रदेशका बर्दिया, दाङ जिल्लामा थारु समुदायको बाहुल्यता छ । यस्तै, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके पनि थारु समुदायको बाक्लो बसोबास छ । थारु समुदायको आफ्नै मौलिक कला, संस्कृति, रीतिरिवाज छन् । तर पछिल्लो वर्षहरुमा यसको जगेर्ना भने हुन् सकेको छैन ।

Advertisement

नयाँ पुस्ता आधुनिकतामा रम्दै छन् । पाकापुस्ताले आफ्नो संस्कृति बचाउने कोसिस गरे पनि त्यो, त्यती प्रभावकारी हुन नसकेको रुपन्देही थारु अगुवा सन्तराम चौधरी बताउँछन् । ‘हाम्रा आफ्नै मौलिक कला–संस्कृति छन् । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । तर, नयाँ पुस्ताले त्यती चासो दिएको पाइँदैन’, उनले भने, ‘यसैको परिणाम पछिल्लो समय हाम्रो पुरानो मेडरी नाच लोप हुने अवस्थामा पुगे छ ।’

Advertisement

बर्दियालगायतका जिल्लाहरुका केही भित्री गाउँवस्तीमा मेडरी नाच हुने गर्छ । तर, यसलाई बचाई राख्न कठिन भएको अगुवाहरु बताउँछन् । चौधरी भन्छन्, ‘थारू समुदायका अन्य नाच युवापुस्ताले केही मात्रामा जगेर्ना गर्दै आएका छन् तर पनि मेडरी नाचप्रति भने उनीहरुले चासो देखिँदैन ।’

दैवीशक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ । अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ । पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो । पछिल्ला समय युवापुस्ताले चासो नदेखाउँदा मेडरी नाच लोप हुने अवस्थामा पुगेको हो ।

मेडरी नाच कृष्णलीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभारत नाच र रामलीलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुन्छ । यस नाचमा कम्तीमा १०० र बढीमा १५० नचनियाहरू गोलाकाररूपमा नाच्ने गर्दछन् । मेडरी नाच्दा मादल, झ्याली, तरबार र लट्ठीको प्रयोग गरिन्छ । नाचमा विशेषतः पुरुषहरू सहभागी हुने गर्दछन् । नाच सञ्चालन गर्नका निमित्त जनशक्ति धेरै र खर्चिलो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुने गरेको चौधरी बताउँछन् ।

थारूको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिँदै गएका छन् । पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो । गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेका छैन् । नयाँले चासो देखाउन छाडे, जसले गर्दा अहिले नाच हराउँदै गएको छ ।

थारू समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो समय लुम्बिनी प्रदेशका जिल्लाहरुमा कुनै विषेश अवसरमा पाकापुस्ताले मेडरी नाच प्रस्तुत गर्ने गरे पनि पनि संरक्षणमा भने चासो छैन ।