April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बुटवलमा नेपाल अम्पायर्स तथा स्कोरर संघको राष्ट्रिय अधिवेशन सुरु

भैरहवा– नेपाल अम्पायर्स तथा स्कोररसंघको पहिलो साधारण सभा एवं अधिवेशनमा सहभागी हुन नेपाल भरिका अम्पायर र स्कोररहरु रुपन्देहीमा भेला भएका छन् । मुलुकभरका अम्पायर र स्कोररलाई गोलबद्ध गर्ने उद्देश्यसहित यसअघि तदर्थ समिति गठन गरिएको थियो । यसलाई आधिकारिता दिँदै संघले अधिवेशन गरेको हो ।

Advertisement

साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै नेपाला क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले अम्पायर र स्कोररहरु संघको अभिन्न अंग भएको बताए । मल्लले अम्पायर्स र स्कोरर गरेर मात्रै उनीहरुलाई दैनिकी चलाउन कठिन हुँदै आएको जनाए ।

Advertisement

‘सीमित रकमले जीवन गुजार्न उहाँहरुलाई समस्या छ’, उनले भने, ‘खेलाडी मात्र हैन क्रिकेट खेल्नेसँग सम्बन्धित सबैको जीवन निर्वाहको सुनिश्चितताका लागि नेपाल क्रिकेट संघ लागि परेको छ ।’ उनले खेलाडी मात्रै आर्थिकरुपमा सवल भएर नहुने भन्दै सँगसँगै अम्पायर्स र स्कोरर पनि सवल हुनुपर्नेमा जोड दिए ।

विगतमा नेपालको क्रिकेट क्षेत्र अन्धकारमा फसेको तर अहिले राम्रो अवस्था रहेको मल्लले जनाए । ‘त्यतीबेला खेलाडी, खेलप्रेमी, हामी अन्यौलमा थियौं’, उनले भने, ‘अहिले राम्रो हुँदै गएको छ, यसलाई अझै राम्रो बनाउँदै लजानुपर्छ । यसका लागि संघले सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

अम्पायर्स तथा स्कोरर संघ तदर्थ समिति अध्यक्ष बुद्धिबहादुर प्रधानले टेस्ट नखेल्ने राष्ट्रबीच अम्पायरहरुको आदान–प्रदान गर्ने कामको सुरुवात भएको जनाए । ‘हामीले पहिलो पटक मलेसिया र नेपालबीच अम्पायरहरुको आदानप्रदान गरेर यसको सुरुवात गरेका थियौं’, उनले भने, ‘आगामी दिनमा संघले यसलाई निरन्तरता दिन पहल गर्नेछ ।’

क्रिकेट संघ लामो समयको निलम्बन पछि अहिले बल्ल बिस्तारै अगाडि बढीरहेको बताउँदै प्रधानले अम्पायर्स र स्कोररहरुलाइ हतास नभई काम गर्न आग्रह गरे । ‘नेपाल क्रिकेट संघले अहिले सक्रियरुपमा काम गरिरहेको छ’, उनले भने, ‘अम्पायर्स र स्कोररले संघलाई सहयोग गर्दै अगाडि बढ्नेछौं ।’

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धर्मराज गिरी, पूर्व खेलाडी हरिबहादुर थापा, अम्पायर समिर खाँन, संजय गुरुङलगायतले बोल्दै क्रिकेट संघ र अम्पायर्स तथा स्कोररहरु परिपूरक भएकाले क्रिकेटको विकासमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि कार्यसमिति चयन गर्ने छ । संघकाअनुसार मुलुकभर ७० जना अम्पायर्स तथा स्कोरर छन् । उनीहरु नेतृत्व चुन्न बुटवलमा जम्मा भएका छन् । संघकाअनुसार प्रदेश एकमा ८, दुईमा १७, बागमतीमा १६, गण्डगीमा ४, लुम्बिनीमा १५, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ९ जना अम्पायर्स तथा स्कोरर छन् ।