December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

न्यायालयको विवाद अशोभनीय : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको विकसित घटना क्रमलाई अशोभनीय भनेका छन् । नेपाल बार, सर्वोच्च बार लगायत अधिकांश कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । यस विषयमा राजनीतिक दलहरुले धारणा नबनाएको भन्दै आलोचना भइरहेको छ । अध्यक्ष यादवले भने न्यायालयमा भइरहेको विवाद ठीक नभए पनि यसमा राजनीति घुसाउन नहुने धारणा राखेका छन् ।

Advertisement

भैरहवामा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवल भने, ‘अहिले देखिएको कार्य राम्रो छैन तर न्यायालयको मामलामा राजनीति गर्नु हुँदैन, यसले झनै सम्हालिन दिँदैन । न्यायाधीशहरु विद्वान हुनुहुन्छ । उहाँहरुले आफै निकास खोज्नुहुन्छ, निरुपण गर्नुहुन्छ । हामी राजनीतिकर्मी त्यहाँ पस्यौ भने अवस्था झनै जटिल हुन्छ ।’

यादवले न्यायपालिकाभित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुने जनाए । ‘राजनीति र न्यायिक क्षेत्रको आआफ्नै क्षेत्राधिकार छ, यसलाई क्रस गर्नुहुँदैन, दुवै क्षेत्रलाई अलग राख्नुपर्छ’, उनले भने, ‘राजनीतिक दलले न्याय दिने र न्यायालयले राजनीतिक गर्न थाल्ने हो भने मुलुक के हुन्छ ?’

अध्यक्ष यादवले राजनीति गर्ने काम राजनीतिक दलको र न्याय निरुपण गर्ने काम न्यायालयको भएकाले एकअर्काबीच प्रवेश गर्न नहुने बताए । उनले राजनीति संविधान र कानूनविपरीत जाँदा न्यायालय पुग्ने र न्यायालयभित्र राजनीति हुन थाले त्यो नेताकहाँ पुग्ने गरेको भन्दै यो दुर्भाग्यपूर्ण भएको जनाए ।

‘यसलाई अलग राख्न सक्यौ भने मात्रै न्याय विशुद्धरुपले अघि बढ्छ, न्यायालयको स्वतन्त्रता र गरिमा बढ्छ, राजनीति ठीक ढंगले अघि बढ्छ’, उनले भने । उनले राजनीतिक मुद्दालाई अदालतबाट भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने जनाए । ‘हामीकहाँ अदालतले हस्तक्षेप गर्यो पनि भन्ने अनि न्यायालय पनि गइरहने परिपाटी छ’, उनले भने, ‘यो हुनुहुँदैन, रोक्नुपर्छ ।’

अर्को प्रशंगमा अध्यक्ष यादवले पर्यटनको विकासबाट नै मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताए । ‘हामीकहाँ राजनीतिक अस्थिरिताका कारण नेपाल बाहिरकाले फाइदा लिने खोज्ने प्रवृत्ति छ’, उनले भने, ‘यसलाई रोक्नुपर्छ, प्रकृतिले दिएको पर्यटन विकासमा विशेष ध्यान दिनुपर्छ । अस्थिरता अन्त्य हुनुपर्छ ।’

यादवले नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगारीका लागि कतार, मलेसिया लगायतका मुलुकमा युवाहरु जान नपर्ने बताए । पार्टी कार्यक्रममा सहभागी हुन सोमबार रुपन्देही आएका यादवले आज जिल्लाका विभिन्न ठाउँमा आयोजित पार्टीको सभाहरुमा सम्बोधन गर्ने छन् ।