April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

के हो जिका भाइरस ?

जिका भाइरस विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो । गर्भवती महिलालाई यो भाइरसको संक्रमण भएमा गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुनसक्छ ।

Advertisement

संक्रमण कसरी सर्छ ?
यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ । गर्भवती भएको बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ ।

Advertisement

यी हुन् जिका भाइरस संक्रमणका लक्षण
जिका भाइरस संक्रमित धेरै व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ । संक्रमित लामखुट्टेले टोकेको तीनदेखि १४ दिनभित्र केही लक्षणहरू देखिन पनि सक्छ । ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, अत्यधिक जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टाको), शरीरमा बिमिराहरू देखिनेलगायत लक्षण देखिन्छन् ।

यस्तै, संक्रमित हुँदा मांसपेशी, टाउको, पेट वा आँखा दुख्ने र थकान महसुस हुनेजस्ता लक्षणहरू पनि देखिन सक्छन् ।

जिका भाइरस संक्रमण रोकथामका उपायहरू के–के हुन् ?
अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन । यसको रोकथामको एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

जिका भाइरसबाट बच्न घरनजिकै पानी जम्मा हुन नदिने, लामो बाहुला भएको कपडा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्ने, इन्सेक्ट रेपेलेन्ट्सको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क नराख्ने र भाइरस फैलिएको क्षेत्रमा यात्रा नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।