December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

जनतालाई अनुभूति हुनेगरी काम गरौं : मुख्यमन्त्री

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘समृद्ध र आत्मनिर्भर प्रदेश’ बनाउने सरकारको अभियानलाई साकार बनाउनुपर्ने बताएका छन् । त्यसका लागि जनतालाई अनुभूति हुनेगरी उत्साहपूर्वक जनसेवामा काम गर्न मन्त्रीहरू तथा कर्मचारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

Advertisement

मन्त्रालयगत छलफलमा मुख्यमन्त्री केसीले मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई प्रदेश सरकारको काम कारबाही प्रभाकारी बनाउन आग्रह गर्दै सूचना प्रणाली र रेकर्डिङ राख्ने कार्यशैलीमा सुधारको आवश्यकता औल्याए ।

‘सरकारले प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप प्रदेशका बासिन्दालाई प्रदान गर्ने छ’, उनले भने, ‘त्यसका लागि तत्काल खोप खरिद प्रक्रिया अगाडि बढाउन र समयमै जनतालाई खोप प्रदान गर्न आग्रह गर्छु ।’

उनले गठबन्धन दलको सरकारले जनतालाई विकासको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्नुपर्नेमा जोडदिए । किसानहरुले लगाएको धानबालीलाई बर्षाले पुगेको क्षतिमा बिशेष राहत प्याकेज प्रदान गर्ने पनि उनले जनाए ।

त्यस अवसरमा पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका योजनाको समयमै टेन्डर प्रक्रिया थालेर समयमै सक्ने गरी काम गर्नसमेत आग्रह गरे । कार्यक्रममा सबै मन्त्रालयका मन्त्रीहरुले राजनीतिक लक्ष र जनहितको उद्देश्य अनुसार काम गरिदिनका लागि सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले ऐन नियम कानुनको परिधि भित्र रहेर व्यवसायिक निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले आपसी समन्वय भएमा अपेक्षित नतिजा निकाल्न सकिने बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव खोमराज कोइरालाले सवै मन्त्रालयहरुले समयसिमालाई हेरर बजेट कार्यान्वयन गर्न र बैशाख पछि रकमान्तर नगर्ने गरी काम गर्न आग्रह गरे । कार्यक्रममा सचिवहरुले समयमै काम गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।