April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रदेश राजधानी भालुबाङमा ५० शय्याको अस्पताल बनाइँदै

भैरहवा– लुम्बिनी प्रदेशको स्थायी राजधानीमा सुविधा सम्पन्न अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ । राप्ती गाउँपालिका–१ भालुबाङमस्थित लालमटियारहेको स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी सुविधा सम्पन्न अस्पताल बनाउन लागिएको हो ।

Advertisement

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य चौकीको स्तरबृद्धि गरी ५० शय्याको अस्पताल बनाउने प्रक्रिया थालेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले प्रस्तावित भालुबाङ अस्पतालको उद्घाटनसमेत गरेका छन् । स्तरोन्नति गरिएको स्वास्थ्य चौकीलाई प्रस्तावित भालुबाङ अस्पताल बनाइएको हा े। जसको सेवा सुभारम्भ गरिएको छ ।

Advertisement

राजधानी क्षेत्रमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न ५० शय्याको अस्पताल बनाउन सुरु गरिएको मन्त्री थारुले जानकारी दिए । ‘हरेक पालिकामा १५ शय्याको अस्पताल र वडामा आधारभूत स्वास्थ्य इकाई स्थापनासँगै औषधोपचार सेवा सुनिश्चित गरिने छ’, उनले भने । लमहीमा प्रादेशिक ट्रमा सेन्टरको स्थापना गरेर ट्रमाका बिरामीको उपचार गरिने मन्त्री थारुले जनाए ।

मन्त्री थारुले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन वडा तहमा आधारभूत स्वास्थ्य सेवादेखि माथिल्लो तहसम्म विशेषज्ञ उपचार सेवाको ग्यारेन्टी गरिने आश्वासन दिए । भालुबाङमा ५० शय्याको अस्पताल बनाउन लुम्बिनी सरकारले चालु आर्थिक वर्षमा १ करोड बजेट बिनियोजन गरेको छ । ‘यो बजेटले विस्तृत योजना निर्माणदेखि जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा गरिने छ’, उनले भने, ।

मन्त्रालयका सचिव डा.विकास देवकोटा यहाँ अस्पतालको रुपमा सेवा थप गर्दै लगिने बताए । देउखुरीमा भरपर्दो स्वास्थ्य उपचारको लागि अस्पताल छैन । सामान्य शल्यक्रियाको लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । निक साइमन इन्स्टिच्युटका प्रमुख डा.कासिम शाहले अब स्वास्थ्य उपचारको क्षेत्रमा देउखुरीले फड्को मार्न प्रदेश राजधानी अवसरको रुपमा रहेकोे जनाए ।

उनले अस्पतालको सेवा वृद्धि गर्न निक साइमनको तर्फबाट जनशक्ति र उपकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भालुबाङमा सेवा सुरु गरेको अस्पतालको सेवा विस्तारमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य चौकीबाट स्तरवृद्धि गरिएको भालुबाङ अस्पतालमा अब अस्पतालसरह जनशक्ति र उपचार उपकरण थप्दै लगिनुपर्ने उनले बताए ।