December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

व्यंग्य : जनताको भाषण !

सधैँ नेता र मन्त्रीले मात्रै कति भाषण गर्ने, आज हाम्रो पालो भन्दै टुँडिखेलको खुलामञ्चमा जनताले भाषण गर्ने निधो गर्यो, एक दिन । निधो त गर्यो उसले, तर भाषण कहिले गरेको भए पो थाहा हुन्थ्यो, सुरुवात नै गर्न आएन बिचरो जनतालाई !

Advertisement

सधैँ सुन्ने मात्रै बानी परेको उसलाई लाग्यो भाषण गर्ने काम सजिलोचाहिँ होइन रहेछ । यसका लागि धेरै अनुभवको खाँचो रहेको पायो उसले । मारपिटको अनुभव, ढुंगामुढा गराउँदाको अनुभव, जेलमा बस्दाको अनुभव, भूमिगत हुँदाको अनुभव, भाषाले भाषामा ल्याउने द्वन्द्वको अनुभव, वर्ग–वर्गको गीत गाएर फुट गराउने अनुभव, जातपात छैन भन्दै त्यही जातपातको कुरा दोहोर्याइरहने अनुभव ।

कत्ति अनुभव चाहिने रहेछ एउटा नाथे भाषण गर्नलाई । त्यति मात्र कहाँ हो र, झुक्याएर दोष लगाउन जान्ने कला, पीठमा छुरा घोप्ने कला, असत्य कुरालाई बंग्याएर सत्य भन्न सक्ने कला, आफूलाई मात्र फाइदा हुने कुरा बोल्न जान्ने कला, देशको ढुकुटीलाई रित्याउने कला अनि अरू पनि थुप्रै कलाहरूको आवश्यकता पर्ने रहेछ !

त्यो जनतालाई कसरी थाहा हुनसक्थ्यो र, सायद त्यसैले होला, जनता खुलामञ्चमा उभिएको धेरै बेर भइसक्दा पनि एक शब्द उसको मुखबाट निस्कन सकेको थिएन ।

जनताको भाषण सुन्न आएका नेता र मन्त्रीहरू भने उसको त्यो हविगतमा हाँसोको ठहाका लाउँदै थिए, “भाषण गर्ने काम बच्चाको खेल हैन, ए जनता ! त्यो हामीजस्तो नेताको काम हो । भाषण गर्न झुटो बोल्न सक्नुपर्छ । त्यो नै तिमीलाई आउँदैन । त्यसै मञ्चमा उभिएर मात्र हुन्छ र !”

एउटा नेता आफ्नै तालमा जनतालाई गाली गर्दै थियो । विवश जनताका सामु गाली सुन्नेबाहेक अरू केही विकल्प थिएन ।

त्यहीँ उपस्थित एक अर्काे नेता आफूसँगै बसेको मन्त्रीलाई सोध्दै थियो, “जिमिगु थासय् थ्व जनता तयेत सुनां छ्वयेके बिल ? थ्वयागु थपायधंगु हिम्मत ? थ्वयात याकनं क्वय् क्वकाय् माल । ए जनता छ थहे क्वाहां वयेगु कि छन्त ठिक यायेत वये ?”

मन्त्रीले कुरा नबुझ्दा उनीहरू दुईमा बाझाबाझको स्थिति पैदा भएको थियो । तिनका समर्थकहरू झगडा छुट्ट्याउनभन्दा ‘तँभन्दा म के कम’ भन्दै झगडाको आगोमा घिउ थप्ने क्रममा थिए ।

अर्कोतिर पनि त्यस्तै घटना घटिरहेको थियो । एक नेता आवेशमा आएर कराउँदै थिए, “अपन सबके स्थान मे यी जनताके के आबदेल्कै ? एकर एतेक साहस् ! एक्रा अख्ने निचा आन पर्तै । यौ जनता अप्ने निचा एबै कि आऊ हम ठिक कर ?”

उसको कुरा सुनेर अर्को नेता पनि उफ्रिन थाले, “हामार ठाउँम यी जनता हुकन केजाई देलिन ? याकर अत्रा हिम्मत ! यहिन झतहे तर झार परल । ए जनता अपने झरना कि आउ तोहिन ठिक पार ।”

मिश्रित भाषाहरूमा आइरहेको विरोधका आवाजहरूबीच जनता मूकदर्शक बनेर ठिंग उभिरहेको थियो ।

अनायासै नेता र मन्त्रीका एक झुन्डले नाराबाजी गर्न थाले, “चाहिँदैन, चाहिँदैन… भाषण नजान्ने जनता चाहिँदैन !”

चर्को नाराहरूले बाँकी रहेको साहस पनि कमजोर बन्दै जान थालेको महसुस हुन थाल्यो, जनता स्वयंलाई । धिक्कारिरहेको थियो ऊ आफूलाई । हिजोअस्तिसम्म सुन्दा कति सजिलो लाग्ने भाषण, तर आज एक शब्द पनि भन्न नजान्दा लज्जाले शिर निहुरेको थियो उसको ।

अगाडि बसेका नेता अनि मन्त्रीहरू नाराबाजीमै अल्मलिरहेका थिए । नाराबाजीमै रमाइरहेका थिए । यस्तो लाग्थ्यो, नाराबाजी नै उनीहरूको पहिचान हो । त्यही नै उनीहरूको बाँच्ने आधार पनि ।

उनीहरू नाराबाजीमा अल्मलिरहेको देखेर जनता सोच्न थाल्यो, “म यसरी मूकदर्शकझैँ उभिरहन हुँदैन, केही त मैले बोल्नैपर्छ । यी अगाडि बस्नेहरूको थिचोमिचो अति भयो अब । सबैतिर यिनीहरूकै हानथाप कति सहनु । नाथे एउटा बोल्न नजान्दा यी नरभक्षीझैँ आइलागेकाहरूले सत्यानाश पारिसके । अब बोल्नुपर्छ । यिनीहरूको नाराबाजी रोक्नुपर्छ ।  यिनीहरूको हात बाँध्नुपर्छ र खुट्टामा साङ्लो लाउनुपर्छ । मुख थुन्नुपर्छ । धेरै खाए, अब खान दिनु हुन्न ।”

ऊ झल्याँस्स भयो, अर्को झन् चर्को नाराबाजीको लहरले । नेता अनि मन्त्रीको बथान कुर्लंदै थियो, “ए जनता, के लछारपाटो लायौ र तिमीले खुलामञ्चमा उक्लेर ? तिमीले केही गर्न सक्दैनौ । पचासौँ वर्षदेखि त्यहाँ चढेर भाषण गर्ने हामी हो, तिमी होइन । तिमी त सुन्ने मात्रै । तल ओर्ल । मञ्चमा चढ्Þदैमा भाषण आउँदैन । जनता, तिमी निरीह नै ठिक । तिम्रो मुख बन्द भएकै ठिक । तिमी त्यसरी मनमनै आफ्नो विचारहरूसँग जुधेकै ठिक । तिमी पीडित भएकै ठिक । मोज गर्ने त हामी हो । त्यसैले तल ओर्ल ।”

बिचरो जनता आफ्नो कमजोरीमा लज्जित थियो । नेताको छुद्र वचन सुन्दै भाषण गर्न नसकेकोमा आफैलाई मनमनै सराप्दै थियो, “यही बोल्न नसक्नुको फाइदा उठाउँछन् यी अवसरवादी भ्रष्टाचारीहरू । हैन जनतालाई किन नबोल्ने बनाएका होलान्, पशुपतिनाथले पनि !” जनताको सोचमा भगवान्ले अपजस पाएथे, अनायासै ।

अपजसको बाबजुद जनता त्यही भगवान्सँग पुकारा गर्दै थियो, “हे पशुपतिनाथ ! यिनीहरूको उपद्रो सहेको धेरै भयो । अब हामीलाई बोल्ने बनाऊ प्रभो ।”

भगवान्ले सुन्नेचाहिँ कहिले हो, त्यो भविष्यकै गर्भमा छ ।

नेता मण्डलीबाट एउटा उठ्यो र फलाक्न थाल्यो, “जसले जे जानेको छ, त्यही गर्ने हो । जनता तिमी लाटो छौ, तिमी त्यही गर्छौ, जुन हामी तिमीलाई भन्छौँ । त्यही हुँदै आइरहेको छ र भविष्यमा पनि त्यही हुनेछ । त्यसैले नजान्ने कुरामा ढिपी नगर । तिमी त्यहाँबाट ओर्ल र घर जाऊ । एक छाक खाऊ अनि भोलिको चिन्ता गर । भाषण र शोषण हामीलाई मात्र सुहाउँछ ।”

“जनता मञ्च छोड, जनता मञ्च छोड,” सर्वत्र नारा चर्किन थाल्यो ।

जनता सोच्न थाल्यो फेरि– यसरी बोल्न नसक्नुको कारण के होला ! सडकमा उफ्रँदा त के–के न गराैँला र के–के न बोलौँलाझैँ हुन्छ । तर, यहाँ अहिलेचाहिँ सुद्धी हराएको जस्तो के भएको यो ! हुन त सडकमा उफ्रँदा पनि यिनीहरूले सिकाएकै दुई–चारवटा नाराबाहेक अरू के नै पो बोलिन्छ र ! हामी त कठपुतली नै हो कि क्या हो ? नाचभन्दा नाच्ने अनि गाभन्दा गाउने । के गाना गाइरहेका हुन्छौँ अनि त्यसको मतलब के हुन्छ, कहिले थाहा हुन्छ र हामीलाई ? ओहो ! कस्तो अवस्था !”

जनताको सोच र नेता अनि मन्त्रीगणको नाराबाजीले चर्को रूप लिइसकेको थियो । कुनै कोणबाट हेर्दा पनि अवस्था साम्य हुने लक्षण देखापर्न सकेको थिएन ।

खुलामञ्चमा अझै जनताको भाषण सुरु भएको थिएन ! baahrakhari