December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

मुगुभित्रको अर्घाखाँची

बाटोमा आरसीसी ढलान गर्न ठिक्क पारेको ठाउँबाट तारहरू छल्दै पाइला टेकेर चन्दननाथ होटेलतिर फर्कंदै गर्दा केही मानिसहरू बाटोमा भेटिए र भान्जीहरूसँग कुरा गर्न थाले । म केही अगाडि भएकोले अलि परै उभिएर उनीहरूलाई पर्खिन थालेँ । म उभिएको निकै बेरपछि निशाकुसुमले भनिन्, “मामा, हजुर होटेल जानुस् । हामी साथीहरूसँग कुरा गरेर आउँछौँ । अलिकति समय लाग्छ जस्तो छ, हजुरलाई किन कुराउने ?”

Advertisement

कुरो ठिक हो  । ती उनीहरूका चिनारु होलान् र केही कुरा पनि होलान् । म बीचबाटोमा ठिंग उभिएर ‘खडानन्द ढकाल’ भइरहनुको कुनै तुक देखिएन र विस्तारै होटेलतिरै लाग्दै छु ।

कृष्णचोक आइपुग्ने बेलामा देखेँ, एउटा मान्छे दुवै हात फालेर सानसँग उकालोतिर लाग्दै छ र वरिपरि अरू ४/५ जना छोटो कपाल भएका मान्छेले घेरेर उसलाई हिँडाउँदै छन् । ज्यान पनि खाइलाग्दो छ र हिँडाइ पनि ‘कुछ है’ शैलीको छ । अनुमान गरेँ यी मान्छे पक्कै पनि यहाँको सीडीओ हुनुपर्छ । र, छेउकै पसलेलाई सोधेँ, “यी पुँडो झान्याँ मान्ठ को हुन् ?”

हो रहेछ । सीडीओ नै हो रहेछन् तिनी । “नयाँ सीड्यो हुन्, भख्खरै आयाका हुन्,” पसलेले भन्दै थिए । तर, नचिनेको मान्छे हुनाले मैले नै ध्यान दिइरहिनँ र आफ्नै बाटो लागेँ ।

कृष्णचोक र चन्दननाथ होटेलको दूरी नै कति छ र ! त्यही ५०/६० कदम त हो । बाइझाँदो छु— आफ्नै कोठो ताकीकन ।

होटेलमा पुगेँ । मान्छेहरूको भिड नै छ । ‘डाइनिङ’का लागि अलग्गै ‘हल’ छ र हेर्दा पनि केही व्यवस्थित नै देखिएको छ । म पनि एक छिन त त्यतै अल्मलिएर बसेँ । तर, जब आफ्ना चिनारु कोही देखिएनन्, तब कोठामै बसेर ‘जुजी’को प्रतीक्षा गर्न थालेँ । ‘जुजी’ अर्थात् रञ्जुको ‘जु’ र भान्जीको ‘जी’ मिलेर बनेको शब्द ।

सुरुमा जब मैले यो शब्द प्रयोग गरेथेँ, ती दुवै खुब हासेँ । कारण के रहेछ भने, धेरै पहिलेदेखि नै रञ्जुलाई बोलाउँदा निशाले ‘जु’ मात्रै भनेर बोलाउँदिरहिछन् र रञ्जुले पनि ‘निशाजी’को सट्टा ‘जी’ मात्रै उच्चारण गर्दिरहिछिन् । मलाई यो कुरा थाहै थिएन र उनीहरूले यसरी बोलचाल गरेको पनि मैले सुनेकै थिइनँ । मैले नयाँ शब्द बनाएँ भन्ठानेको त उनीहरूका लागि पुरानै पो भएछ ।

हुन पनि ‘धन्यवाद’लाई टीक्यू र ‘स्वागत छ’ लाई डब्ल्यूसी लेख्ने पुस्तालाई यस्तो संक्षिप्तीकरणमा कहाँ भेट्न सकिन्थ्यो र हामीले ? जे होस्, निशाले भनिन्, “मामाको सोच त पूरै उत्तरआधुनिक छ क्या ?”

यो सुनेर मलाई पनि क्षणभरका लागि रमाइलै भयो । तर, ज्याक डेरिडाको नामै नसुनेकी उनले कति बुझेर यो ‘उत्तरआधुनिकता’को कुरा गरिन्, त्योचाहिँ उनै जानून् । मैलेचाहिँ तातोभुत्लो क्यै नबुझेको अवधारणा हो यो उत्तरआधुनिकतावाद । डा. गोविन्दराज भट्टराईको त्यत्रो विमर्शको ठेली पढेर पनि दिमागाँ क्यै घुस्या नाइँ ।

निकै ढिलो गरेर आए ‘जुजी’ । आएर आफ्नो कोठामा सामान पनि सारे । खाना खाएर आएर पनि हामी सबै ‘मेरो’ भनिएको कोठामा नै बस्यौँ धेरै बेरसम्म । उनीहरूलाई छोड्न आएका जिल्ला सरकारी वकिल कार्यालय मुगुका खरिदार प्रकाश धिताल पनि धेरै बेर बसेर गफ गरिरहे । गफको कुनै सिलसिला नै थिएन । तर पनि तीनैजना मेरा पाठक भएका नाताले कुरो जताजता पुगे पनि घुमिफिरी आएर मेरै किताबमा ठोक्किन्थ्यो ।

यही प्रसंगमा रञ्जुले गुनासो गर्दै फेरि पनि उही कुरो भन्न भ्याइन्, “हजुरका सबै किताब पढेकी छु । तर, कहीँ कतै पनि हाम्रो अर्घाखाँचीबारे एक शब्द पनि लेख्नुभएको छैन । यो त सरासर अन्याय भयो नि हामीमाथि । अर्घाखाँची पुगिसकेको छु पनि भन्नुभएकै हुन्छ सधैँ । यो के ताल हो हजुरको ?”

म भुटानमा जन्मेर झापामा हुर्केको मान्छे भए पनि मैले सबैभन्दा पहिले सबै जिल्लाको भ्रमण गरेको नेपालको पहिलो अञ्चल लुम्बिनी नै थियो । संयोगले पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अहिलेको नवलपुर सबै जिल्लामा पुगिसकेको मान्छे थिएँ म । त्यसैले रञ्जुतिर फर्केर भनेँ, “हो, पुगिसकेको जिल्लाभित्रै पर्छ त्यो ।”
“अनि किन नलेख्या त ?”
“त्यस बेला मलाई यो विधामा आउँला भन्ने पनि लागेकै थिएन होला सायद । धेरै पहिलेको भ्रमण हो त्यो, २०४१ वा ४२ सालतिरको । ठ्याक्कै मिति थाहा पाउनचाहिँ रामबहादुर थापाको बिहेको मिति जान्नुपर्ने हुन्छ ।”
“को रामबहादुर थापा ? गृहमन्त्री बादल ?”

“बादल होइन, त्यो अर्कै साथी थियो मेरो । पशु स्वास्थ सेवातर्फको प्राविधिक कर्मचारी । हामी पाल्पाको अर्गलीमा एउटै सेवा केन्द्रमा बस्थ्यौँ । ऊ पशुसेवातर्फको ‘जेटिए’ थियो र म कृषितर्फको ‘जेटी’ । ऊ प्राविधिक खरिदार । म प्राविधिक सुब्बा । खानापिना, बसाइ, उठाइ, घुमाइ सब सँगसँगै हुने एकदमै मिल्ने साथी । हाम्रा कपडा पनि छुट्टिँदैनथे, जसले जसको पनि लगाउँथ्यौँ । दोहोरी गाउन, जाँड खान र झाम्रे बस्न पनि कहिल्यै साथ नछोडेर मलाई साथै लिएर हिँड्ने साथी । मेरा लुगा पनि उसैले धुन्थ्यो । र, धोएका दिन यसरी धुन्थ्यो कि फेर्ने लुगा पनि बाँकी नराखेर तौलिया बेरेर बस्थ्यो । त्यस्तो मिल्ने साथीको बिहे यसरी अकस्मात् हुने भएछ कि म तानसेन आएको बेलामा ऊचाहिँ बिहे गर्न तम्घास जानुपर्ने परिस्थिति परेछ । साहै्र खिन्न मन लिएर हिँडेको थियो रे, बेहुलो हुन । म तानसेनबाट अर्गली फर्केपछि अरू साथीहरूले भनेर यो कुरो थाहा पाएँ ।”
“अनि ? अनि के भयो त ?”
“अर्गलीमै ऋषिकेशव ढाका कपडा उद्योग चलाइरहेका कृष्णप्रसाद भट्टराई जसलाई हामी सजिलोका लागि ‘घरेलु कृष्ण’ भन्ने गथ्र्र्यौँ, उनैले सुनाए कि रामबहादुर त अपर्झट परेर बिहे गर्न गयो । तर, भन्दै थियो, “प्रतीक त पानीमुनि भए पनि मेरो बिहेमा आउँछ । त्यसका लागि असम्भव भन्ने केही छैन । ऊ तानसेनबाट फर्कनासाथ थाहा दिइहाल्नू । ऊ जसरी पनि आइपुग्छ । तिमेरू पनि उसैसँग आउनू ।”
“अनि के भयो त ? खोइ त यसमा अर्घाखाँची ?”

“पर्ख न, आउँदै छ । जुन रात अर्घाखाँचीको कुनै गाउँमा रामबहादुरको बिहे हुनेवाला थियो, त्यही बिहान मात्र म तानसेनबाट अर्गली आइपुगेँ । घरेलु कृष्णले खबर सुनायो, “तँमाथि उसको एकदमै ठूलो विश्वास छ । तँ नपुगे त पिर नै मान्छ रामेले ।” 
मैले कृष्णलाई भनेँ, “तिमी पनि हिँड । दुई भाइ भएर जाऔँ ।”

“आज बिहान त तम्घासबाट जन्ती नै हिँड्यो होला, तर हामी भर्खर पाल्पाको अर्गलीमा बसेर जन्तीमा मिसिने कुरा गर्दै थियौँ । तैपनि, हामीले समय गुमाएनौँ र तयार भएर ‘कुडापानी’तिर झर्यौँ । कुडापानी भन्ने ठाउँको आँपको सानो बगैँचा भएकै ठाउँमा थियो भाइ जीवन केसीको घर । हामीलाई देखेपछि जीवन पनि सँगै जान तयार भयो । कुडापानीबाटै बिहान ९ बजेतिर एउटा ट्रक समात्यौँ र तम्घास जान भनेर निस्कयौँ ।”

“गुल्मीको रिडीबजारभन्दा अलिकति माथि पुगेपछि ट्रक बिग्रियो । बनाउन भनेर ड्राइभर र खलासी खुरुन्धार लगेका लाग्यै छन् । तर, ट्रक बन्दै बनेन । अहिले बन्ला, भरे बन्ला भनेर पर्खंदापर्खंदै साँझको ५ बज्नै लाग्यो । अहिलेको जस्तो हातहातमा मोबाइल र सजिलो सडक भएको बेला थिएन त्यो । हामी साहै्र नै आत्तियौँ । अब कसरी पुग्ने बिहे घर ? अहिलेको जस्तो विवेक प्रयोग गर्न सक्ने उमेर भएको भए ‘जति प्रयत्न गर्दा पनि सकिएन है रामु’ भनेर छोड्न पनि मिल्थ्यो होला । तर, त्यो नौजवान बेला, भावनामय समय अनि त्यहीँमाथि ‘पानीमुनि भए पनि आउँछ’ भन्ने साथीको दृढ विश्वाससँग कसरी खेल्नु ? थाहै नपाई यसलाई त हामीले प्रतिष्ठाको प्रश्न पो बनाएछौँ ।”

“हामीले ट्रकलाई माया मार्यौँ र पुनः रिडीबजारतिरै फर्केर रिडीखोलालाई पछ्याउँदै बाटो लाग्यौँ । टर्चमा नयाँ ब्याट्री हाल्यौँ र ढुक्क भएर खाजासमेत खाएर साँझको ५ बजे बाटो लाग्यौँ हामी ।”

“तीनैजना फटाफट हिँड्न सक्ने मान्छे हुनाले हामीलाई रात–बिहान गरेर पनि सिधै बेहुलीकै घरमा दुलाहालाई भेटेर त्यहीँ ‘सरप्राइज’ दिन्छौँ भन्ने कुरामा पूरै विश्वास थियो । र, बेहुलीको घर थियो अर्घाखाँची जिल्लाको वाङ्ला गाउँ पञ्चायतको कुनै एक गाउँमा ।”

“नदी किनारामा मान्छे हिँड्ने बाटो मात्र थियो त्यो बेला । सामानका भारी बोकेर हिँडेका मान्छेहरू बाटोमा भेटिइरहन्थे । तर, हामीलाई यी कुनै कुराले तान्न सकेको थिएन । रिडीखोला पारिपट्टि देखिएको अर्चले गाउँ हेर्दै र खोलासँगै बांगिदै हामी अँध्यारो हुँनै लाग्दा बल्ल बल्ल ‘मानकोट’ पुग्यौँ ।”

“त्यसपछि रातकै अँध्यारोमा र टर्चलाइटकै उज्यालोको सहारामा हामी अर्घातोसको उकालोमा पुग्यौँ । चकमन्न रात हुनाले कहाँ आइपुगियो, कुन ठाउँमा घुम्दै छौँ भन्ने केही थाहै भएन । बाक्लो वनको बीचैमा पुगेपछि जीवन केसी एकदमै निराश भयो र भन्यो, “प्रतीक दाइ, मलाई किन मर्न मन लागेछ र तपाईंंहरूलाई पछ्याएँछु नि ! अब त म एक कदम पनि हिँड्न सक्तिनँ ।”

“यति भनेर ऊ त एउटा ठूलो रूखको फेदमा ज्यानै फालेर फ्यात्तै पल्टियो । कृष्ण र म पनि कम थाकेका त थिएनौँ । तर पनि बिहेको जग्गेमै पुगेर रामुलाई छक्क पार्नुपर्छ भन्ने धुन मात्र दिमागमा सवार भएकाले शरीरको थकाइतर्फ ध्यानै दिइएको रहेनछ । जीवन भुइँमै पल्टेपछि बल्ल हामीले पनि थाकेको थाहा पायौँ र हामी पनि यसो सजिलो ठाउँ हेरेर उसकै छेउछाउमा पल्टियौँ ।”
“मिठो गरी निदाइएछ । भोक र थकाइले लखतरान परेको ज्यानले केही घण्टा भए पनि आराम पाएछ । रातको दुई बजेतिर म बिउझिएँ । चकमन्न वनको बीचमा आफूलाई पाएर झसंग पनि भएँ । साथीहरूलाई उठाएँ र फेरि हिँड्न तयार पारेँ । हाम्रैछेउमा राम्रा र टेक्न मिल्ने बाँसका केही लौराहरू पनि भेटिए । तीनैजनाले एउटा–एउटा लौरो टिप्यौँ र फेरि निशाचरको कर्ममा प्रवृत्त भयौँ ।”

“थाहा छैन, हामी कहाँ कहाँ पुग्यौँ र कति घुम्यौँ ! गोरेटो बाटोको धर्सोमा निरन्तर हिँडिरहँदा पारिपट्टि कतै उज्यालो बत्ती देखिन्थ्यो र हामी ‘हो, बिहे घरको मइन्टोलको उज्यालो त्यही हो’ भनेर खुसी हुन्थ्यौँ र त्यसैलाई लक्ष्य बनाएर हिँड्थ्यौँ । दशौँ ठाउँमा ठक्कर खाँदै लड्दै र पड्दै त्यो दूरी पार गर्दा फेरि त्यस्तै उज्यालो अर्को विपरीत दिशातर्फको वनमा देखिन्थ्यो । हामी फेरि त्यतै लाग्थ्यौँ । तर, त्यो उज्यालो कहीँ पनि भेट्टाउन सकिएन । घुम्दाघुम्दै एउटा प्राथमिक विद्यालयको बोर्ड देखियो । अहिले त्यसको नाम त बिर्सिएँ, तर बोर्डमा ‘वाङ्ला, अर्घाखाँची’ लेखेको थियो । धेरै बेर हिँडेपछि फेरि अर्को कुनै माध्यमिक विद्यालयको भवनमा पनि हामी पुग्यौँ । त्यसमा पनि ‘वाङ्ला’ नै लेखेको हुनाले हामी बिहे भइरहेको गाउँ पञ्चायत क्षेत्रमै छौँ भन्ने कुरामा चाहिँ ढुक्क थियौँ । तर, रातको चुक घोप्ट्याएजस्तो अँध्यारो थुतुनो र कान्लाहरूमा हुर्केका रूखले गर्दा वन हो कि गाउँ हो भन्ने नै छुट्ट्याउन नसकिने भएर हामीले दुःख पाइरहेका थियौँ ।”

“बाटोमा मान्छेको गुहु गनायो भने हामी खुसी हुन्थ्यौँ, अब गाउँ आउँदै छ  भनेर । पहिलेपहिले त भनाइ नै थियो नि, ‘गुहु आयो कि गाउँ आयो । गाउँ आयो कि गुहु आयो ।’ गाउँ र गुहुको यो अन्योन्याश्रित सम्बन्धले पनि हामीमा आशा जगाउँथ्यो । तर, केले तानेर हो बडो आश्चर्यजनक ढंगले फेरि हामी एकै छिनमा वनको बीचैमा पुगिसक्थ्यौँ ।”

“बिहानको चार बजेतिर जीवनले आफूले टेकेर हिँडेको लौराको टुप्पोमा सेतो धजो बाँधिएको देखेछ । लौरोको भुइँतिर पर्ने भागमा रहेछ एउटा सानो धजो । बाँसको टुप्पोमा चिरेर अड्याइएको सानो टुक्रो सेतो कपडा ।”

“जीवन त एकैपटक वनैमा चिच्यायो, “लौ न, मैले त चिहानको लौरो टेकेको रहेछु । अब म मर्छु दाइ । मेरी आमालाई के लगेर बुझाउनुहुन्छ ? चिहानको धजो बाँधेको लौरो टेकेर रातभर हिँडिएछ । अब त मसानले मलाई छोड्दै छोड्दैन । म मरिहाल्छु नि दाइ ।”

“यसो निहुरिएर टर्चको उज्यालोमा हेरेको त मैले टेकेको लौरोमा पनि तल धजो रहेछ । तर, मैले केही भन्न नपाउदै जीवन त भुइँमा पल्टिएर “मेरो त कोखामा हान्न थाल्यो दाइ” भन्दै छट्पटाउन थालिहाल्यो । कृष्ण पनि आत्तियो र ठूलै अनिष्ट होला कि झैँ गरेर निन्याउरो मुख बनायो । डर त मलाई पनि लागेकै थियो । तर, म पनि डराएझैँ देखिए जीवन बिरामी पर्ने निश्चित थियो । त्यसैले मैले आफूलाई दह्रो बनाएर जीवनलाई सम्झाएँ, “तिमी त रूखको फेदमा निदायौ । तर, म जुन ढिस्कोमा आड लिएर बसेको थिएँ नि, त्यो त झन् एक चिहान थियो भनेर गफ लगाइदिएँ ।

तिमीहरू डराऔला भनेर मैले नभनेको मात्रै हो । यस्तो भूत–सुतको चक्कर छोड क्या भाइ ! त्यस्तो केही हुन्न । नत्र म किन चिहानलाई सिरानी बनाएर सुत्थेँ त ?”

“अघिसम्म जिउ छोडेर कहालिएको जीवन अब त उठेर बहस पो गर्न थाल्यो, “गफ नदिनू दाइ । चिहानमाथि पनि कोही बस्न सक्छ ? तपाईंंका पैतालामा भर्भरी फोका उठिहाल्छन् नि ! भित्रको आत्माले तानेर हामीलाई बिरामी बनाउन थालिहाल्छ के !”

“म मनमनै खुसी भएँ, बिरामी हुनै लागेको जीवन कम्तीमा उठेर बहस गर्न सक्ने त भयो नि ! अब त भ्यात्तै ज्यान फालेर थप दुःख देला भन्ने डर अलि कम भयो । तर, यो मामिला अझै पनि पूर्ण समाधान भइरहेको थिएन । कृष्ण त मौन नै थियो अझै । उसका मनमा पनि कुरा त खेलेकै होलान् नि बरा !”

“पिसाब गर्न यसो दुई कदम पर जाँदा कृष्णले टर्चलाइटको उज्यालोमा देखेछ, हामी त फेरि पनि घुमिफिरी चिहानघारीमै आइपुगेका रहेछौँ । र, आत्तिँदै भनिहाल्यो— ए जीवन, तुरुन्तै उठ् त मूला ! हामी त फेरि पनि चिहानघारीमै आइपुगेका रहेछौँ ।”

जीवन पनि जर्‍याकजुरुक उठ्यो । टर्च बालेर हेरेको त छेउछाउमै नयाँ र पुराना चिहानहरू रहेछन् । जीवनको मनमा के सुर चल्यो कुन्नि, उसले त मैलाई पो अत्तो थाप्न थाल्यो, “केही हुन्न भनेको होइन ? ल, ऊ त्यो आलो चिहानमाथि बसेर देखाउनोस् । तब मात्र म पत्याउँछु ।”

“म बडो धर्मसंकटमा परेँ । नबसौँ जीवन बिरामी पर्ने निश्चित छ । बसौँ आखिर म पनि त यही समाजको उपज हुँ नि ! भूत, प्रेत, वायु, दोख, लागो, किचकन्नी, निदेनी, डुलुवा, तर्साउने, मसानजस्ता कुराहरू त मेरा पनि अवचेतन मनमा बसेकै छन् नि ! बालककालमा अँगेनाका वरिपरि आगो तापेर बस्दा होस् वा धानको दाइँ हालेको बेला होस् वा गाउँमा कसैको घरमा सिकिस्त मदौरु कुर्दा होस् वा कसैको लास कुरेर उज्यालो बनाउँदा होस्, रातकटनीका मसला त यस्तै भूतप्रेतका कथै त हुन्थे नि ! अझ बुवा र काइँला भिनाजुको त प्रतिस्पर्धै हुन्थ्यो कसले धेरै र डरलाग्दा भूत देखेको छ भनेर व्याख्या गर्न । बुवाले त झन् घरमास्तिरको काब्राको रूखको फेदमै फुर्लुङ बोकेका मसानहरू डुलेको आफ्नै आँखाले देखेको भनेर डर देखाउनुहुन्थ्यो । ती सबैको प्रभावले हामी दिनदिनै काँतर बन्दै गएका छौँ भन्ने कुरामा उहाँहरूको हेक्कै पुग्दैनथ्यो । हामी यस्ता कथा सुन्दासुन्दा बरन्डाबाटै पिसाब सुइँक्याइदिने भइसकेका थियौँ । पछि जब मोदनाथ प्रश्रितका किताबहरू पढ्न थालेँ, तब मात्र अलिअलि ऊर्जा फर्किएको कुरा पनि मनमा खेल्यो ।”

“मलाई सोचमग्न देखेर जीवन खुसी भयो । भन्यो, “गफ लाएजस्तो हुन्छ र दाइ चिहानमाथि बस्न ? सक्नुभएन होइन ?”
“जीवनकै लागि मात्र भए पनि मैले चिहानमाथि बसेर देखाउनैपर्ने भयो । मैले डराएको त देखाउनै नहुने भयो । अँध्यारै हुनाले मैले आकाशतिर फर्केर हात जोडेरै मनमनै प्रार्थना गरेँ, “हे इष्टदेवता, म अभरमा परेर र यो केटाको जीवनरक्षाका लागि यो गलत काम गर्देछु । मलाई रक्षा गर है प्रभु !” 
अनि जीवनतिर हेरेर भनेँ, “यो कसको चिहान हो भन्ने तिमीलाई थाहा छ ?” 
“थाहा छैन ।”
“जिउँदो हुँदा चिनेको मान्छे हो ?”
“होइन ।”
“जिउँदोमा कुनै दुश्मनी थियो यो चिहानको मान्छेसँग ?”
“थिएन ।”

“त्यसैले हेर भाइ, जोसँग जिउँदो हुँदा चिनजानसम्म पनि थिएन, कुनै लेनदेन र दुस्मनी थिएन । मरेपछि यी पितृ भए अब । पितृको स्थान त देवताको भन्दा पनि माथि हुन्छ । पितृ सदा कल्याणकारी हुन्छन् । म तिम्रो रहर पूरा गर्नका लागि मात्र यी अज्ञात पितृसँग क्षमा मागेर उनको चिहानमाथि बस्दै छु ।”

“जीवन गम्भीर भयो । त्यही बेला मैले पनि त्यो चिहानसँग हात जोडेर क्षमा मागेँ र चिहानको माथिल्लो भागको सम्म सतहमा पलेँटी मारेर बसेँ ।” 

“जीवनले नै घडी हेरेर मलाई तीन मिनेट पूरै बसायो, चिहानमाथि । तीन मिनेटपछि चिहानमाथिबाट उठेर मैले युद्धविजेता सिपाहीले झैँ घोषणा गरेँ, “देख्यौ ? केही भयो त ?”

“फेरि जीवनले अर्को बखेडा गर्‍यो, “ए दाइ, भएन भएन । तपाईंं छालाका जुत्ता लगाएर बस्नुभएको हुनाले केही पनि नभएको हो । यी जुत्ता खोलेर बस्नुहोस् त अनि थाहा पाउनुहुनेछ । तुरुन्तै रगत छाद्नुहुन्छ बुझ्नुभयो ?”

“मैले रगत छादेर तँलाईचाहिँ के फाइदा हुन्छ नि पाजी ? कति जिद्दी गरेको यो केटाले नचाहिने कुरामा पनि ?”
“मैले पनि चित्त दुखाएँ अलिकति । मचाहिँ उसको उपचार गर्दै छु । ऊ मूलाचाहिँ मैलाई बिरामी पार्न अत्तो थापेको छ, छ ।”
“मैले फेरि जुत्ता पनि फुकालेर एक मिनेट चिहानमाथि पलेँटी मारेँ, मनमनै हनुमान चालिसा जप्दै—
   “भूत पिशाच निकट नहीं आवै
      महावीर जब नाम सुनावै
         संकट तेँ हनुमान छुडावै
            मन क्रम वचन ध्यान जो लावै…”

बल्ल जीवनको पनि चित्त बुझ्यो र ऊ पनि उठेर हिँड्न थाल्यो ।”
“हिँड्दा हिँड्दा हिँड्दा बल्ल उज्यालो भयो । गाउँघर पनि प्रस्ट देखिन थाले । हामी बिहेघर सोध्दै–खोज्दै जाँदै छौँ । दुइटा घरमा छोरीको बिहे रहेछ । संयोगले हामी पहिलोपटक अर्कै बिहे घरमा पुगेछौँ, जहाँ हामीलाई चिन्ने कोही थिएन । बेहुलो पनि रामबहादुर थिएन ।”

“लखतरान परेका हामी बिहानको ७ बजेतिर रामबहादुर थापा नै बेहुलो भएको बिहेघरमा पुग्यौँ । हामी पुग्नु र बेहुली अन्माउनु सँगसँगै भयो । रामबहादुर खुसी त भयो, तर उसलाई हाम्रो हालत थाहा हुने कुरै भएन ।

हामी भोका, प्यासा र अनिँदा प्राणीहरू जन्तीसँगै फर्कियौँ उही बाटो । उही वाङ्लाका गाउँहरू र अर्घातोसको उकालो नाघेर लखतरान परेर दुलाहाको घर तम्घास आइपुग्यौँ । आउँदा त निकै छिटो भयो । अनि, बल्ल हामीले रातभरि कति दुःख पाएछौँ भन्ने अनुमान गर्न सकियो । बिहे घरको मइन्टोलको उज्यालोको कुरा गर्दा रामबहादुरका दाइले झन् रहस्यमय कुरा सुनाउनुभयो, “भाइहरूलाई राँकेभूतले नराम्रो गरी झुक्काएछ । त्यो ठाउँको विशेषता नै त्यही हो । रातभरि राँकाहरू डुलिरहन्छन् । कहिले यता देखिन्छन् । कहिले उता देखिन्छन् । कहिले छरिन्छन् र कहिले एउटै मुस्लो भएर बल्छन् । त्यो राँकेभूतले स्थानीय धेरै मान्छेलाई समेत दुःख दिएको छ । धन्न भाइहरूलाई केही भएनछ ।”

“त्यो फोस्फोरस बलेको हो भन्ने थाहा हुँदाहुँदै पनि फेरि एकपटक डराइयो । भारतीय सेनाका अधिकृत रहेका दाइले समेत यसरी चित्रण गरेपछि जीवनले त फेरि पनि “आब्बुई, राँकेभूत पो !”  भन्न भ्याइहाल्यो ।”

“मैले चुप लाग्ने संकेत गरेँ र जीवन चुप लाग्यो । साह्रै मायालाग्दो भाइ भएकाले जीवनको विशेषता नै के थियो भने ऊ कहिल्यै मेरो कुरा काट्दैनथ्यो । त्यही एक रातचाहिँ आफू विश्वस्त हुनका लागि जिद्दी गर्यो र मलाई दुईपटक चिहानमाथि बसायो । त्यत्ति हो ।”

“बल्ल जन्तेबाख्रो तयार भयो । टपरीमा खसीको झोल र भात खाएर सुतेका हामी भोलिपल्ट १२ बजेतिर मात्रै उठ्यौँ । यति थाकिएछ कि त्यो दिन त रेसुंगाको डाँडो चढ्ने रहर पनि पलाएन ।”

“भोलिपल्ट रेसुंगा गएर हामी फेरि रिडी फर्कियौँ र आ–आफ्नो धन्दामा लाग्यौँ । रामबहादुर ८÷१० दिनपछि मात्र जागिरमा हाजिर हुन आयो । सबैको जीवन फेरि आफ्नै लयमा फर्कियो ।”

“हामी यस कथाका पात्रहरू पनि सबै सकुशल नै छौँ आजसम्म । रामबहादुर थापा अझै पनि निजामती सेवामा कार्यरत नै छ । ‘घरेलु कृष्ण’ भनिने कृष्णप्रसाद भट्टराई बुटवलमा राम्ररी नै व्यापार गरेर बसेको छ । जीवन केसी भाइचाहिँ बुटवलकै प्रसिद्ध न्यु होराइजन बोर्डिङ स्कुलमा शिक्षण सेवामा संलग्न छ । र, म ढकाल भनिने पात्रचाहिँ अहिले पनि यहीँ बसेर जुजीलाई ‘अर्घाखाँची’ सुनाइरहेको छु ।

“कथा त डरलाग्दो रहेछ नि ! थ्रिलर उपन्यास पढेजस्तो,” रञ्जिताले भनिन् ।
“मेरो अर्घाखाँची भ्रमण यही हो । ल भन त, यसलाई कहाँ लेख्नु ?”
“पछि उज्यालोमा जानु भएन ?”
“गएँ । २०५४ सालमा कपिलवस्तुको सीडीओ भएका बेला सन्धिखर्कसम्म पुगेर फर्किएँ । तर, त्यहीँ एक रात बिताउने मेरो रहरलाई गृह मन्त्रालयले स्वीकृति नै दिएन र दिनभरि बजारतिर घुमेर साँझमा आफ्नै मुकाम फर्किएँ । के गर्ने, ‘मातहत’का निकायहरूले ‘मजकूर’ निकायको आदेश मान्नैपर्ने हुन्छ ! त्यहीमाथि गृह मन्त्रालय, कुरै सक्किगो नि !”

“यही कुरो अबको किताबमा लेख्नु नि त !”
“कर्णालीमा अर्घाखाँची कसरी मिसाउनु नि ?”
“हजुरले चाहने हो भने जसरी पनि मिसाउन सक्नुहुन्छ । मेरा प्रिय लेखक र गुरुलाई पनि म फुच्चीले सिकाइरहनुपर्छ र ?”
“हुन्छ नि त म विचार गर्छु ।”

मेरो कथा सकिएपछि प्रकाश धितालले भन्नुभयो, “यतातिर त यस्ता भूतप्रेतका कथाहरू झन् धेरै हुन्छन् हजुर !”

“कथा त होइन, बरु भूतप्रेतलाई हेर्ने कर्णालीको दृष्टिकोणका बारेमा चाहिँ केही बताउनोस् न । मलाई पनि सुन्ने मन छ ।”

मेरो आग्रह सुनेर प्रकाशजीले भन्न थाल्नुभयो, “भूतप्रेतको अस्तित्वलाई पूरै स्वीकार्छ यताको समाजले । हामी तिनीहरूलाई एकमुष्टमा भन्नुपर्दा ‘भ्याउन्याँहरू’ वा ‘तर्साउन्याँहरू’ भन्ने गर्छौँ । यसभित्र रागस,  भूत, भ्याउन्याँ,  मुशान्याँ,  मुखोल्या,  वायु,  कप्टिनी, बोक्सिनी, डङ्किनी, दानुवा,  पीत,  पुड्याना, भुयाँर, भान,  छा,  द्यौता,  द्यौती  आदि पर्दछन् । यताका त द्यौताले पनि मानमनितो नपुगेको खण्डमा दुःखै दिन्छन् भन्ने मानिन्छ ।”
“मुख्य देवताचाहिँ को हो नि यतातिर ?”
“सबैभन्दा ठूलीचाहिँ ‘देवी’ हुन् हाम्रा लागि । त्यही भएर यतातिर ‘कालिका’ र ‘मालिका’को बढी पूजा–अर्चना हुन्छ । बडीमालिका (बाजुरा), दरबारमालिका, चिमारमालिका र बाँसीमालिका (जुम्ला), चुलीमालिका, चुचेल्नीमालिका र पुँगेल्नीमालिका (कालिकोट) गरी जम्मा सातजना त आफ्नै दिदीबहिनी रे ! त्रिपुरासुन्दरी र कनकासुन्दरी पनि देवीमाताकै रूपहरू हुन् । यी सबै दुर्गा भवानीका रूप हुन् । तर, स्थानीयहरूले ‘भुवानी’ भन्ने गर्छन् । यिनै ‘भुवानी’ कहिलेकाहीँ कोही कोही महिलामा उत्रिनुभयो भने हामी तिनलाई ‘देउतीबज्यै’ भन्न थाल्छौँ । देउतीबज्यैभन्दा तल्लो रूपमाचाहिँ ‘लाटीबज्यू’ रहेका हुन्छन् ।”

“कुन देवी कति ठूली हुन् भनेरचाहिँ कसरी चिन्ने नि प्रकाशजी ?,” मेरो प्रश्न ।
“सजिलो छ सर । तीन हजार मिटरभन्दा अग्ला स्थानमा विराजमान देवीहरूलाई साउन पूर्णिमाका दिन भक्तहरूले ‘उचेणा’ गाउँदै गएर पूजा गर्छन् । ‘उचेणा’ भनेकै देवीको भजन नै हो । त्यो दिन बडीमालिका, चुलीमालिका, पुँगेल्नीमालिका, खेस्माल्ली, देउली, बुढीनन्दा, ठिँगेल्नीमाईका थानहरूमा ठूलो मेला नै लाग्छ । जति अग्लो स्थानमा विराजमान हुनुन्छ, त्यति नै ठूली देवी भन्ने बुझिन्छ सर ।”

“प्रकाशजी, उचेणाको एउटा सानो टुक्रो सुनाउनोस् न, हुन्न ?”
“बुकी झुपान्मनि चणी  आइन् भुवानी
           हामीकन दरिशन दिन्नी भुवानी 
                 ताँही ताँही तिनुतिलोककी धनी 
                    हामीकन दरिशन दिन्नी भुवानी
                          जात्तै झुपान्मनि  चणी आइन् भुवानी
                              हामीकन दरिशन दिन्नी भुवानी…”

“देवीको स्तुति गाइएको यो मिठो उचेणा पनि सुनियो प्रकाशजी । अब यी १२ भाइ मष्टोका बारेमा पनि केही भन्नोस् न,” मेरो आग्रह जारी छ ।
“बाह्र भाइ मष्टोको नामका बारेमा एकरूपता छैन सर । ठाउँठाउँमा फरक फरक नामहरू लिइन्छन् । खासमा यी वीर पुरूषहरूको समूह हो कि जस्तो लाग्छ मलाईचाहिँ । अन्यत्रको ‘कुलाइन’जस्तो हुनुपर्छ भन्ने मेरो अनुमान हो । यी कसका छोरा हुन् भन्ने पनि खुल्दैन । यिनलाई पैकेलो होइन, द्यौता नै मानिन्छ । यी १२ भाइमध्ये जेठोको नाममै अलमल छ, कसैले ‘थाप’ भन्छन् भने कसैले ‘ढँडार थाप’ भन्छन् । कान्छो ‘बबिरो’ हो भन्ने कुरामा बरु धेरैको मत मिलेको देखिन्छ । बीचका अरू दाजुभाइचाहिँ बुडु, कालाशिल्ला, ददमा, शिल्लोमुलो, कबा, कैलाश, ह्मादेउ, गुरो, उखाडी, दाड्यामष्टो भन्ने नामहरू सुनेको छु । यी सबै नामको आधिकारिकता त कतैबाट पनि पुष्टि भएको छैन सर ।”

“तपाईंंले जानेको कुरो नै हाम्रा लागि पर्याप्त छ । पुष्टि त किन हुनुपर्यो र, भोलि हामीले नागरिकता दिनुपर्ने होइन क्यारे ! बरु भन्नोस् अब, भोलिको कार्यक्रम के त ?”
“म बिहान ९ बजे आउँछु र हजुरहरूलाई हेर्नुपर्ने ठाउँहरूमा लैजान्छु । अब उठौँ त सर ?,” प्रकाशजीले अनुमति माग्नुभयो ।

प्रकाशजी तल ओर्लेपछि जुजी आफ्नो कोठामा गए । मैले पनि आफ्नो भूत (विगत)सँग जोडिएको त्यो भूत (राँके) र प्रकाशजीले सुनाएको उचेणाको भाव अनि ती ‘भ्याउन्याँ’हरूलाई पुनः स्मरण गर्दै ओछ्यानमा घुस्रिएँ । तर, पनि निद्रा लागेको छैन । मनमा यही क्षेत्रमा गाइएको र मैले कतै सुनेको गीतको पंक्ति आइरहेछ—
          “शेर साईले गुल्याली हान्या काल्च्या पड्यो खोला 
                  कर्नालीको भलो गन्न्याँ  यै देशाँ को होला ?”

को होला यो शेर साई भन्ने पात्र ? अन्तिम जुम्ली राजा त शोभान शाही हुन् । सबैतिर ‘साई’ लेखिए पनि यी राजाहरू ठकुरी ‘शाही’ हुन् भन्ने कुरो त स्वतःसिद्ध नै छ । हुन त कर्णालीवासीहरू गुनी पनि छन् । कसैले कुनै उदाहरणीय कर्म गरेमा तत्कालै गीत, टुक्का वा उक्ति बनाएर अमर बनाइदिइहाल्छन् । शेर साई पनि यस्तै कोही पात्र होलान् । जुम्ला अशीदराका कुन जमानाका समाजसेवी शशि आचार्यको सम्मानमा बनाइएका यी भनाइहरू अहिले पनि मानिसहरूका जिब्रोमै छन् केरे— 
“सबै भुन्ना अशी अल्को, अशी भुन्ना शशि अल्को ।” 
“अरूले हाँसेको शशिले काँसेको ।” 

मेदिनी बम्मको दानशक्तिको प्रशंसा पनि युगयुगदेखि नै भइरहेकै छ—
“धन्न धन्न मेदी बम्म  धन्न तुम्मो हियो 
सात दिन हिँड्न्याँ राज्जे दातव्यमा दियो…”

पैसा कमाउनका लागि मात्र राजनीति गर्ने यी डुङ्डुङ्ती गनाएका नेताहरूले पनि यस्ता कुराहरूबाट केही सिके कति राम्रो हुँदा हो !
       “हुम्ला जुम्ला मुगु डोल्पा उँदै कालिकोट
              फलजति नेताले खाया रित्तो भयो बोट…..”
चैत्रमा पनि चिसोचिसै पो छ त हौ ! कतै जाडो त हुने होइन ? 

(वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा हालै सार्वजनिक नियात्राकार प्रतीक ढकालको नियात्रासंग्रह ‘त्यो उज्यालो कर्णाली’बाट पुस्तक अंश ।)