December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

माओवादी र कम्युनिष्ट घटकहरू एक हुनुपर्छ : केसी

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले नेपालमा परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् । पार्टी जिल्ला कमिटी रुपन्देहीद्वारा शुक्रबार मणिग्राममा आयोजित कार्यक्रममा बोल्दै केसीले भने, ‘माओवादीकै कारण लोकतन्त्रलगायत अहिलेको व्यवस्था आएको हो । प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न अब माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्छ ।’

Advertisement

उनले परिवर्तन ल्याउन जनयुद्ध र १९ दिने जनआन्दोलन, मधेश आन्दोलनको पनि भूमिका रहेका बताए । उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको बताउँदै अब माओवादी आन्दोनलाई एकीकृत गर्नु पर्ने बताए । साथै उनले माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पूर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्नका लागि आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढाउनु पर्नेमा जोड दिए ।

‘माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने छ’, उनले भने, ‘त्यसलाई महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई शष्लेषण गर्नुपर्ने हुन्छ ।’ नेपालमा बामपन्थीहरुको एकतालाई मजबुत बनाउने महान योजना माओवादी केन्द्रको भए पनि केपी ओलीले वज्रपात गरेको उनले आरोप लगाए ।

‘फेरि पनि असली कम्युनिष्ट पार्टी बनाउन सबै लाग्छुपर्छ’, उनले भने । आम जनताको सेवकको रुपमा पार्टी निर्माण गरी देश र जनताको समृद्धिका लागि काम गर्नुपर्ने उनले बताए । केसीले लुम्बिनीमा पार्टीको नेतृत्वमा सरकारकार रहेकाले पार्टीको दृष्टिकोण र विचारका आधारसँगै गठबन्धनको समर्थनमा नै आफ्नो नेतृत्वमा सरकार चलिरहेको बताए । उनले प्रदेशबासीको चाहनाअनुसार सरकारले काम गरिरहेको जिकिर गरे ।