March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अस्पतालमा निरन्तर धर्ना

नेपालगंज– बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका परिसरमा कालोपट्टी बाँधेर स्वास्थ्यकर्मी र कर्मचारीहरु धर्नामा बसेका छन् । इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । लेखा र प्रशासन शाखामा ताल्चा मारिएको छ । उनीहरु कात्तिक १ गतेबाट कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् । जिल्ला प्रशासनसित भएको बार्ताबाट कुनै निष्कर्ष नआएपछि आन्दोलन रोकिएको छैन ।

Advertisement

पाँच बर्ष आफ्ना समस्या सुनाउँदै आएका उनीहरुको माग पुरा भएको छैन् । विभिन्न सात बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा छन् । प्रशासकीय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले गत बुधवारदेखि आपतकालीन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।

Advertisement

अस्पतालका १२ सय कर्मचारीहरु तीन महिनादेखि तलब नपाएर पनि आन्दोलनमा उत्रिएका हुन् । तलव वृद्धि, भत्ता लगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु गत सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले आफूहरुको मागमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् ।

यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.सुरेश कुमार कनोडियाले कोरोनाका कारण संस्थाको अवस्थालाई मध्यनजर गर्दै माग सम्बोधन गर्न नसकिने बताए । ‘कोरोनाले सबै क्षेत्रको अवस्था डामाडोल बनाएको छ’, उनले भने, ‘यो बेला कर्मचारीको सेवा सुबिधा बढाउने अवस्था रहँदैन्’ ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा सोमवारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले बताए ।

‘प्रशासन हाम्रो समस्या सुन्न पनि आवश्यक ठान्दैन्’, उनले भने, ‘अहिलेसम्म दुबै पक्षबीच छलफल पनि भएको छैन् ।’ तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठ कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।