December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

सुस्तामा जङ्गे पिलर राख्न माग

परासी– नेपाल–भारतको सीमा छुट्याई सुस्तामा जङ्गे पिलर राख्न माग गरिएको छ । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा जंगे पिलर राख्न सरकारसँग माग गरेका हुन् ।

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी उनीहरुले उक्त माग गरेको जनाएका छन् । संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालसहितको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाउँदै माग पेस गरेको छ ।

सांकेतिक तस्बीर

नेपाल–भारत सीमा छुट्टयाउनुपर्ने, सुस्ताबासीले जोतभोग गरी आएको जग्गाको लालपुर्जा वितरण गरी राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय बासिन्दालाई नागरिकता उपलब्ध गराउनुपर्नेलगायत माग उनीहरुले गृहमन्त्रीसमक्ष राखेका छन् ।

अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले मागबारे आफू सकारात्मक रहेको उल्लेख गरेका थिए । अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन उनले आग्रह गरे । सीमाङ्कन गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।