December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

गाउँपालिकाको छात्रवृत्ति दुरुपयोग

रुकुम– रुकुमको पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिकाको छात्रवृत्ति दुरुपयोग भएको पाइएको छ । गतवर्ष सुरु छात्रबृत्तिको उद्देश्य प्राविधिक जनशक्ति उत्पादन गर्ने थियो । त्यसका लागि गाउँपालिकाले पठनपाठनका लागि सूचना जारी गर्यो ।

Advertisement

अहिले उक्त कार्यक्रममा सहभागी हुन तीन जनाले निवेदन दिएका छन् । निवेदन दिने मध्ये एक पालिका अध्यक्ष ओमप्रकाश घर्तीका छोरा नवीन छन् । अर्की छात्रा स्थानीय निर्वाचनमा घर्तीसँगै पराजित भिउमान घर्तीकी छोरी मिलन रहेकी छन् ।

तीन जनामध्ये अन्तिम निराजन मल्ल रहेका छन् । पहुँचवालाले छात्रबृत्ती प्राप्त गरेपछि बिरोध भएको छ । विपन्नलाई प्राविधिक शिक्षा पढाउने उद्देश्य भए पनि पािलका प्रमुख र स्थानीय नेताले लाभ लिएपछि बिरोध भएको हो । उक्त पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले एमबीबीएस अध्ययन गरिरहेकी छात्राको ५० प्रतिशत शुल्क पालिकाले तिरिदिने दाबी गरेका छन् ।

अन्य दुइ जनाको सबै खर्च बेहोर्ने उनले बताए । एमबीबीएस अध्ययन गरिरहेकालाई ७ लाख ३९ हजार ३ सय ३७ रुपैयाँ भुक्तानी गरिएको छ । इन्जिनियर पढिरहेका मल्लको पढाइका लागि २ लाख ९८ हजार ५ सय रुपैयाँ भुक्तानी हुँदा सोही विषय पढिरहेका घर्तीको लागि १ लाख ५७ हजार २ सय ९० रुपैयाँ भुक्तानी गरेको छ ।

कलेजमा शुल्क मागेका बेला मात्रै गाउँपालिकाले शुल्क भुक्तानी गर्ने गरेको छ । गाउँपालिकाले डाक्टर, इन्जिनियर, स्टाफ नर्स, स्वास्थ्य सहायक एचए लगायतका क्षेत्रमा पढ्न चाहनेहरुका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो । तर स्टाफ नर्स, एचए लगायतका अरु क्षेत्रमा अध्ययन भने कसैले गरिरहेको छैन ।