December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

एसपीलाई तस्करीको आरोपपछि रूपन्देही प्रहरीद्वारा प्रगति विवरणको लेखाजोखा

भैरहवा– गत भदौ २४ मा रुपन्देही प्रहरीले संचारमाध्यमलाई एउटा समाचार पस्क्यो । त्यो थियो– ‘अवैधरुपमा भारततर्फ लैजाँदै गरेको अष्ट्रिचको बच्चासहित पिकअफ नियन्त्रणमा लिई पशुसेवा क्वारेन्टाइन चेकपोष्ट पठाइएको ।’

Advertisement

‘इलाका प्रहरी कार्यालय धकधई, रुपन्देही र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ २३ गते राती पौने १० बजे रोहिणी गाउँपालिका वडा नं.२ मैनिहवा स्थित लु ३ च १९१३ नं.को पिकअपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अबस्थामा १८ वटा अष्ट्रिजको बच्चा अन्दाजी मूल्य रु.९० हजार, पिकअप गाडीको मूल्य अन्दाजी १४ लाख गरी कुल जम्मा रु.१४ लाख ९० हजार बरावरको अबैध अष्ट्रिजको बच्चा फेला पारी आवश्यक कारवाहीका लागि आज मिति २०७८।०५।२४ गते पशु सेवा क्वारेन्टाइन बेलहिया रुपन्देही पठाइएको छ’, यो प्रहरीले संचारमाध्यमका लागि पठाएको विज्ञप्ती हो ।

प्रहरी अवैध चल्ला पक्राउ गरेको भनिएको केही घण्टामा चल्ला बैध ठहरियो । अष्ट्रिच नेपाल प्रालिले अनलाइन विलिङ गरेर पठाएको भए पनि प्रहरीले अवैध भन्दै पक्राउ गरेको चल्ला भन्सारले वैध भन्दै छाड्यो । गाडी पनि छुट्यो । व्यवारिसे भनिएको चल्ला र गाडी क्यारेन्टाइन पठाउँदा ड्राइभर भने २४ घण्टा थुनामा राख्यो ।

प्रालि अध्यक्ष सिपी शर्मा भन्छन्, ‘बक्यैता प्रमाण हुँदाहुँदै प्रहरीले दुःख दिने काम गर्यो । ड्राइभरलाई थुनेर संचारमाध्यमलाई व्यवारिसे भेटिएको सूचना सम्प्रेषण गरेर हाम्रो बद्नाम गर्यो ।’ प्रहरीको यो मात्रै लापरबाही होइन । यस्ता कयौं घटना छन्, संचारमाध्यमलाई एउटा सूचना दिने र काम देखाउने अनि भित्रभित्रै अर्कै गर्ने ।

पछिल्लोपल्ट केही दिन अघि एउटा अनलाइन संचारमाध्यममा एसपी मनोज केसीले तस्करी गरिरहेको समाचार आयो । त्यसपछि भने प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर बैशाखयता आफूहरुले गरेको कामको फेहरिस्त सार्वजनिक गरेको छ । कतिपयले प्रहरीले बिलविजक हुँदाहुँदै र नाकामा व्यवसाय गर्न लैजाँदै गरेको सामान पनि पक्राउ गरेर दुःख दिने गरेको आरोप लगाएका छन् ।

प्रहरीले आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार गत बैशाख महिनादेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख रुपैयाँ मूल्यका भन्सार छलेर नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार, गत बैशाख महिनामा १ करोड, ४ लाख, जेठमा १२ लाख ७३ हजार, असारमा १ करोड ५ लाख, भदौमा ८५ लाख ४ हजार, असोजमा १ करोड ४४ लाख रुपैयाँ मूल्यका भन्सार छलेर नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरिएको हो । यही कात्तिक बुधवार र बिहीवारमात्रै १९ लाख ३५ हजार रुपैयाँ मूल्यका सामान बरामद गरिएको जनाइएको छ ।

बिहीवार बिहान १६ लाख भन्दा धेरै मूल्यका विभिन्न सामान रुपन्देहीको सिमावर्ती एक गाउँबाट बरामद गरेको छ । ती सामान रोहिणी गाउँपालिकामा पर्ने सीमावर्ती गाउँ भगवानपुरस्थित एक झुपडीमा संकलन गरेर राखिएको व्यवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामानमा, टिसर्ट, साडी, मोवाइल डिस्प्ले, सर्ट, बच्चाको सेट कपडा, चुन्नी, टप्स, लेहेंगा, पेन्टी, सेन्डो, गम्छा, स्मोकिङ पेपर लगायतका छन् ।

सामान बरामद गरिएको स्थानबाटै प्रहरीले ति सामान ओसार्नका लागि प्रयोग गरिएको लु १२ प ४०५७ नम्बरको एक पल्सर मोटरसाइकल पनि बेवारिसे अवस्थामा बरामद गरेको छ । रुपन्देहीका एसपी केसीले प्रहरीलाई देख्नासाथ तस्करको समूह मोटरसाइकल र सामान छाडेर फरार भएको बताए । बरामद गरिएको सवै सामान र मोटरसाइकल बिहीवार नै भैरहवा भन्सार कार्यालयमा चलान गरिने जनाए ।

रुपन्देही प्रहरीले बुधवार पनि जिल्लाको विभिन्न स्थानबाट यसरी नै भन्सार छलेर नेपाल भित्र्याइएका ३ लाख १३ हजार रुपैयाँ मूल्यका तयारी पोशाक, सिरकको खोल, मसाला, जुत्ता लगायतका विभिन्न खाद्य सामाग्री बरामद गरेको थियो ।

एसपी केसीका अनुसार, चाडपर्वको वेलामा सीमावर्ती भारतबाट खुल्ला सीमानाको फाइदा उठाउँदै विभिन्न नाकाबाट अवैध रुपमा चोरी तस्करीको रुपमा सामान नेपाल भित्रिने गरेको छ । विभिन्न नाकाबाट यसरी भित्रिएको सामान बिशेषगरि बुटवलमा व्यापारीले संकलन गरि व्यापारको माध्यमबाट नेपाल भरि पुग्ने गरेको छ ।

दुई दिन अघि भने एक अनलाइन पत्रिकाले रुपन्देही प्रहरी प्रमुखबिरुद्ध तस्करीको लाइन खुलाउन सक्रिय भन्दै सामाचार प्रकाशित गरेको थियो । नेपाल बहस नामको अनलाइन पत्रिकाले गत कात्तिक २ गते रुपन्देही प्रहरी प्रमुख मनोज केसीले रुपन्देहीमा तस्करी भैरहँदा पनि नियन्त्रणका लागि कुनै चासो नदिएको र उनको समेत मिलोमतो भएको कुरा समाचारमा उल्लेख गरेको छ ।