March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देखिने गरी काम गर्छौं : मन्त्री श्रेष्ठ

बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरूले देखिने गरी काम गर्ने दावी गरेका छन् । उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा ब्यस्त भएको तर तिहारलगत्तै यसले गति लिने जनाए ।

Advertisement

‘हामीले जनसरोकार र अन्य कामलाई तीव्रता दिएर गर्ने छौं’, उनले भने । तिहारलगत्तै सरकारले कामको गति बढाउने समेत उनले बताए । नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भने, ‘सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम भइरहेको छ । छिट्टै समस्या समाधान हुन्छ ।’

Advertisement

मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि पनि कुटनीतिक पहल गरिरहेको जनाए । मन्त्री श्रेष्ठले नेपालका लाखौं श्रमिकहरुलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने पनि आश्वासन बाँडे । वैदेशिक रोजगारीमा जानेहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रवन्ध मिलाउने पनि उनको भनाइ छ ।

बुधबारै मन्त्री श्रेष्ठले बुटवलस्थित श्रम कार्यालयको अवलोकन समेत गरेका थिए । कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुनः श्रम स्वीकृतिको काम हुँदै आएकाले त्यसलाई चुस्त बनाउने उनले बताए ।