December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

मोतीपुर घटनाका मुख्य योजनाकार पक्राउ

भैरहवा- प्रहरीले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा बुटवलबाट एक व्यक्तिलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित भाडाको घरमा बस्ने ४४ वर्षीय साविरअलि मुसलमान छन् । उनी घटनाका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको दाबी छ ।

Advertisement

मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण तथा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनी भेला-जम्मा हुने गरेको प्रहरीको भनाइ छ। सो काम हुने गरेको भन्दै उक्त क्षेत्रमा जिल्ला सुरक्षा समिति रूपन्देहीको बैठकले असोज २४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर साविरअलिले सरकारी जग्गा अतिक्रमण गर्न मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आरोप उनीमाथि छ। उनलाई प्रहरीले सोमबार राति साढे ८ बजे डेराबाट पक्राउ गरेको प्रहरी प्रमुख मनोज केसीले बताए ।

उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ। 

उनीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको केसीले बताए । मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो।