December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बाढीले देवदहमा डाइभर्सन बगायो, यातायात अवरुद्ध

भैरहवा– भारी वर्षापछि आएको बाढीले रूपन्देहीमा डाइभर्सन बगाएको छ। जिल्लामा आइतबारबाट भारी वर्षा भइरहेको छ । डाइभर्सन बाढीले बगाएपछि यातायात अवरूद्ध भएको छ।

Advertisement

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो। सोमबार बिहान बाढीले डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको जनाए ।

लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठानलगायत सबैजसो जिल्लामा सोमबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । यसअघि घोडाह पुलसमेत भाँसिएको थियो।

गत भदौ ११ मा परेको भारी वर्षापछि आएको बाढीले यहाँ पुल भाँसिएको हो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो। डाइभर्सनसमेत बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो । अहिले पनि भारी वर्षा भइरहेकाले अन्य ठाउँमा पनि थप क्षति हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।