April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

बुटवल– लुम्बिनी प्रदेश सरकारलाई आज पूर्णता दिने तयारी गरिएको छ । दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनबीच सहमति भएको प्रदेश सरकार स्रोतले जनाएको छ । गठवन्धनभित्र मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । माओवादी केन्द्रको नेतृत्वमा गत साउन २८ मा काँग्रेस, माओवादी केन्द्र, जनतासमाजवादी र राष्ट्रिय जनमोर्चा गरी चार दलीय गठवन्धन सरकार बनेको थियो ।

Advertisement

एमाले विभाजन पछि गठित नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा जाँदैछ । लुम्बिनी समाजवादीमा एक जना मात्रै सांसद छन् । १३ मन्त्रालय रहेको लुम्बिनीमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

Advertisement

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाहीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्हाल्दै आएका छन् । प्रदेश सरकार स्रोतकाअनुसार आज दिउँसो दुई बजेभित्रै मन्त्रिपरिषदलाई प्रर्णता दिएर तीन बजे सपथ ग्रहणको तयारी गरिएको छ ।

नयाँ बन्ने कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ । थप मन्त्रीको नाम टुंग्याउने तयारी भइरहेको छ । मन्त्री बन्नेको नाम टुंगिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री कुलप्रसाद केसीको छन् । यसअघि शुक्रबार (२२ असोज) मा मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन ।

गठवन्धनका मुख्य दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने दुई–दुई जनाको नाम टुंग्याइसकेका छन् । चार वटा मन्त्रालय पाएको कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भइसकेको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने कांग्रेसले निर्णय गरेको उनले जनाए । काँग्रेसबाट यसअघि दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् । कांग्रेसले अब एक मन्त्री र दुई राज्यमन्त्रीको टुंगो लगाउन बाँकी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र दुई राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारे काँग्रेसले अझै निर्णय गरेको छैन । मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये एकलाई मन्त्री बनाउने तयारी छ । यस्तै, दुई राज्यमन्त्रीमा कपिलबस्तुकी रिना नेपाल, अर्घाखाँचीकी निर्मला क्षेत्रीसहित अन्य पनि आकांक्षी छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको पार्टी निकट स्रोतले बतायो । माओवादीबाट यसअघि प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । गठबन्धनबीच माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी छ । माओवादीले दाङकी विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने तयारी गरिरहेको छ । जनता समाजवादी पार्टीबाट सहषराम यादव, सुमन शर्मा रायमाझी र पुरमति ढेंगा साउन २८ मै मन्त्री बनिसकेका छन् । एक जना मात्र सांसद रहेको नेकपा (एकीकृत समाजवादी)बाट रमा घर्ती पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई कुन मन्त्रालय दिने भन्ने अझै टुंगिएको छैन ।