October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

फर्केको लाहुरे

आँतै खहरिएझैँ लाग्छ अचेल हरिलाई । एकपल्ट आँत पुरेर घिउ र भात खान मन लागेको छ ।

मकैले सुत्ला च्यापे, जम्मै जहान बारीमै हामफाल्न थालेका छन्, को हुन् र जहान भन्नु । ऊ स्वयम् त जेठो हो । कति थेग्ला यो मकैले बिहानबेलुका भात पनि त यसैको पाक्छ– फ्याप्लो । कलिलो भर्खर हो लागेको मकै, के अडिलो होस् ?

बर्सेनि यसैगरी चलेको छ– चल्ला त नि अब पनि । रिन बढ्छ । ब्याज झन् बढ्छ । ब्याजको पनि ब्याज स्याज झन्झन् बढ्छ । त्यो त एकदम बेग्लै कुरा हो । त्यससँग हरिको आँतलाई के वास्ता ?

आँतको धीत मर्दैन र चाहन्छ चिल्लै भात, अघि सानु छँदा खाएको जस्तो नुन, जिरा हालेर घिउमा भुटेको चिल्लो भात खान पाए ।

बुबा मरिदिए त… अचानक उसको दिमागमा उब्जन्छ । एक छिन मिठो लाग्छ यस्तो कुरा पनि । हत् बा मर्नु हुँदैन अहिले ऊ निर्णय गर्छ ।

हरि– भुर्तेलको छोरो । भुर्तेल बाजे, भुर्तेल मुखिया, भुर्तेल जिम्वालको छोरो होइन । हो केवल भुर्तेल काठाको । भुर्तेल काठो मर्यो भने हरिले किरिया गर्नेछ– गर्नैपर्नेछ । किरिया बस्दा पूरा तेह्र दिनसम्म उसले घिउ भात र सखर मात्रै खानुपर्नेछ ।

कैले हुन्छन् र घरमा यी सबै थोक ? नभए पनि हुन्छ, फरक पर्दैन । तेह्रदिने दाजुभाइहरू छँदै छन् । किरिया बसुन्जेल जसरी पनि खाँचो टार्नेछन् । बाँचुन्जेल भन्या अर्कै कुरा हो– मर्दापर्दा काम लाग्नु भन्या त्यो हो । हरिले यो बुझेको छ ।

यस्ता कुराहरू यस्ता ठाउँमा खुबै सुन्न पाइन्छन् । अरू गर्ने कुरै के छ र ? हावापानीको अनिकाल परेको छैन । कोसीमा प्रशस्त पानी बग्छ… हिउँदमा न्यानु घाम लाग्छ… बर्खामा पानी पर्छ… चैतमा हुरी चल्छ… ठिक… सबैथोक एकदम ठिक छ… पञ्चहरू बजार, गाउँ… अड्डा, अदातल ओहारदोहोर गरेकै छन्… ।

एक झोक्का हिमालको स्याँठ चल्दछ, जिरिङ काँढा उम्रन्छन् । पिठ्यँुभरि भ्वाङ परेको हरिको कमिजको अघिल्लो पाटो पनि ह्वांगै छ । ऊ टाँक लगाउन खोज्छ, तर हात कक्रक्किएको छ– ऊ त गोबर पो सोहोर्दै छ ।

एक हल गोरू र दुईवटा थारा गाईहरूको गोबर । यिनैको निम्ति हो यो छाप्रो सतिबेरको सेउलाले बारेको र सेउलैले छाएको । हरि सधैँ बिहान सिध्याउँछ गोबर सोहोरेर, दिउँसो गाई हेरेर र साँझ यिनै वस्तुको कोते धन्धामा लाग्छ ।

काम छिनेर बिँडी सल्काउँदै छ ढुंगेसोरदेखि ल्याएको अंगेरीका पातमा । अंगेरीका पातको बिँडी मिठो हुन्छ । …तैपनि तलतल मेटिँदैन । कसैगरी मेटिँदैन यो तलतल …सायद घिउभातले मेटिएला । 
‘घिउभात ।’ लगत्तै सम्झिहाल्छ ऊ ‘बाको मृत्यु ।’

मुखा रसाएको पानी बिलाउँछ । ‘हत् ।’ ऊ आफ्नु खराब सोच टार्छ । अरू नै कुराहरू सम्झन थाल्छ । मात्र सम्झना टार्न सम्झना… । बानी बिग्रिसकेको छ, नचाहँदा पनि दिनको धेरैपटक यो कुरा नसम्झी धरै छैन ।

बा बिरामी छन्… सधैँका बिरामी । कैले छैनन् र बा बिरामी ? कैलेकाहीँ सद्दे पनि हुन्छन्, तर केमा सगाउँछन् र सद्दे भए पनि ? हुने भए हलो जोत्थे होलान् । तर, बाहुनले हलो जोत्न हुँदैन । त्यसैले यौटा हली राखिएको छ ।

हरिलाई सबभन्दा कठोर जीवन आफ्नै लाग्छ ।
के काम गरेअनुसार खान पाइन्छ र ? पाइन्छ– कुनैकुनै वर्ष । पेटभरि खान पाउनुको अर्थ गुन्दु्रक–ढिँडो दुवै छाक वा सिस्नाको खोले । बाहुनले त सिस्नु पनि खान हुँदैन !

‘बाले टपरी टक्टक्याउँदैनन् । हरिलाई अचेल मन पर्न छाडेको छ– कुलको इज्जत जान्छ रे । उन्मूलनको सिलसिलामा इज्जत उन्मूलनको पालो कहिल्यै आएन ! कसैको पुरेत भए कैलेकाहीँ घिउ पनि दान पाइन्थ्यो । आह ! घिउभात ! ठूलो भएपछि ऊ अवश्य पुरेत बन्नेछ ।

हरि निदाउन बल गर्छ, खै निद्रा ? यो भोक, खै घिउभात ? बरु हुन्छ–मरुन् बा नै, म पेटभरि त खान्छु, राति बर्बराउन थालेको छ हरि । गहिरो निदाउन पनि छाडेको छ आजकाल ।

हरिलाई बरु आमाको माया लाग्छ– सकुन्जेल काम गर्छिन् बरी । बिहान कुखुरा बासेको हुँदैन उनी ब्युँझदा । पानी भर्न एक कोस ओरालो झर्नुपर्छ । भात, भान्सा । दिउँसो अर्कोको ढिकीजाँतो नगरे बेलुका घर फर्कंदा दुईचार मुठी कनिका पोल्टामा कसरी आउँछ ?

आफ्नो ढिकी जाँतो हुनु खै पुर्पुरोमा लेखेको ? घरखर्च, दाउरा पनि उनकै पिठ्युँले ओसार्छ । वनजाँच बसेको छ– नगिचै दाउरा पाइँदैन… ।

हरिले गाई कुट्न थालेको छ– साँढे थाराहरू । यी थारै बस्नुभन्दा त आमा थारै बसिदिएको भए हुन्थ्यो । के पाइएको छ आमा बस्र्यूनि ब्याएर ? बस्र्यूनि गाई ब्याए दूध खान पाइन्थ्यो । दूध… (ठेकी)… दही… (घारघुर)… मोही… नौनी… ताप्के… घिउ । बा ज्यूँदै छँदै घिउभात खान पाइन्थ्यो ।

हरिको गाई हेर्दाको साथी हो जुठे… जुठे माझी । जुठे जाँड खान पाउँछ । उसको बाले रिन गरेर पनि जाँड खान्छ, ख्वाउँछ । रिन तिर्न नसकेर बसैँ हिँड्नुपर्छ । त्यो अर्कै कुरा हो ।

घिउभात खान पाउने भए ऊ नै जुठेलाई पछार्ने थियो । पौडेर कोसी तर्ने थियो । हुतुतु खेल्दा पनि जित्ने थियो । लुरे काठा भनेर कहाँ खिज्याउन पाउँथे मोराहरू ।

आमा आज मरिन् । बाँच्नु पो विशेषता थियो उनको । अब उनले खोले दामासाही बाँड्नु पर्ने भएन । न थोत्रो गुन्यु तुनेर लाज छोप्नु परोस् । अब उप्रान्त पोइको दीर्घायुको लागि व्रत बस्नु पर्ने छैन । न पुसको आइतबार न माघको मंगलबार, न साउनको सोमबार नै । न एकादशी न औँसी–पूर्णेहरू र वर्षको तीन सयभन्दा बेसी दिनहरू उनले भोकै बसेर पुण्य कमाउनुपर्ने भएन ।

हुन त तिनले र अरू आइमाईले व्रत बस्नु यस ‘स्वतन्त्र हिन्दु राज्य’ मा एकदम उचित हो । नत्र कसरी तिन्का पोइ र छोराछोरीहरू कहिलेकाहीँ मात्रै निख्लाम बसे पुग्थ्यो ? उनीहरूजस्तो सातामा तीन दिन भोकै बस्नु पर्दैनथ्यो ।

हरिको धोको प्रकारान्तरले पूरा हुन्छ । बाको हैन आमाको मृत्युबाट हरिलाई तेह्र दिनसम्म खुब चिल्लो–गुलियो ख्वाइन्छ । दाजुभाइहरू मर्दापर्दा काम लागिहाल्छन् । सुरुका केही दिन रसिला भए । अरू पनि नमिठा भएनन् । सधैँ घिच्न पाइने पो नमिठो हुन्छ ।

घिउभात, सखर खाने दिनहरू सकिन्छन् । अब हरि ‘आमा’ पनि हुन्छ भान्सामा । भात पकाउँछ हरि । भाँडा माज्छ हरि । वन जान्छ हरि । पँधेरो जान्छ हरि । भाइबैनीलाई थुम्थुम्याउँछ हरि । भए लाम्टा पनि चुसाउँथ्यो होला… ।

हरिको जुँगारेखी बस्छ । आफ्नू बिहा हुने बेलामा उसले यौटी ‘कान्छी आमा’ पाउँछ ।

हरिको बा भन्छ, ‘के गर्नु घर गर्ने यौटी आइमाई नभै त…,’ हरि आमामा बैनीको झझल्को पाउँछ ।

…आज यौटा तन्नेरी धेरै वर्षपछि आँगनमा उभिएको छ । हठात् सम्झनाहरू ओइरिरहेछन्… धेरैअघि घिउ नपाएर खहरिएको आज घिउले अघाएर फर्केको छ । आज ऊ लाहुरबाट फर्केको छ ।

उसको बाबु उस्तै बेकामी रहेछ । उसकी कान्छी आमा बस्र्यूनि ब्याउन थालिसकिछ । गोठमा केही थारा बूढाखाडा गाई रहेछन् । गोरु मरेछन् । गाराका केही छपनी ढुंगा खसेछन्… घर चर्किएछ… छानु चुहिन थालेछ… यौटा बारी पनि लिलाम भएछ… त्यो मकैबारी ।

आज स्थिति झन् भासिएको छ– ऊ लाहुर झरेभन्दा । बाबु भन्छ, ‘आइछस् बाबु । अब त बूढो भइयो, घर व्यवहार अब तरै जिम्मा छ… यी भाइबहिनीहरू… ।’

के ऊ फेरि लाहुर झर्ला ? …अझै उसले होटेलका ती चिसा प्लेट धुन बाँकी नै छ ? …बासी घिउभातले एकपटक धीत मरिसकेको छ… के अझै जबर्जस्ती खानुपर्नेछ ? …अझै छ त्यो चिल्लो गुलियोको रहर ? 
हरि अचेल घोरिन थालेको छ ।

(गोरखापत्र २०२३)