October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

अनुवाद लघुकथा : भुल सुधार

चारैतिर चहलपहल छ । चारै दिशामा चहकिलो र उज्यालो छ । अर्थात्, सर्वत्र झकिझकाउ । फूलहरूको बीचमा उभिएको छ विवाह–मण्डप । त्यसकै बीचमा रहेको छ अग्निकुण्ड ।

एक छेउमा बसेका छन् वरवधू । ती दुवैको अर्कोतिरबाट मन्त्रोच्चारण गरिरहेका पण्डितजीले आदेशात्मक अन्दाजमा भने- ‘कन्याका मातापितालाई बोलाउनुस् कन्यादानका लागि ।’
कोही अगाडि आउनुपूर्व नै कुँवरजी बोले-
‘कन्यादान हुँदैन ।’

सबै हतप्रभ भए । कन्या पक्ष अचम्ममा थियो कि तिनीहरूबाट के त्यस्तो गल्ती भयो । एकै छिनमा सनईको आवाज रोकियो । भिडियो क्यामेराको चहकिलो लाइट पनि निभ्यो । पिता, भाइ, फुपाजु, मामा सबै दगुर्दै आए । कानेखुसी हुन थाल्यो चारैतिर ।

त्यसैबेला बेहुलीको आवाज सुनियो- ‘वरको पनि दान हुनेछ…’
र, केही छिनमै बेहुला र बेहुलीको मिश्रित आवाज निस्कियो- ‘आजदेखि हामी एक हौँ, तर हाम्रा मातापिता दुई । हाम्रा दुवै मातापिता आउनुस् ।’
सनई फेरि बज्न थाल्यो ।
० ० ०

रेनकोट
पाँच–छवटा रेनकोट हेरिसक्दा पनि उसलाई कुनै मन परिरहेको थिएन । पसलेले ‘साहब’लाई एउटा अन्तिम डिजाइन देखाउन काम गर्नेलाई अह्राए ।
थाहा छैन यो अन्तिम डिजाइन कस्तो होला ! यस्ता साना गाउँहरूको यही नै समस्या हो । आवश्यकता परेको कुनै पनि सामान सजिलो गरी भेटिँदैन– त्यो फेसनमा लपक्क भिजेको केटो यही सोचमा डुबेको थियो । त्यसै बेला बर्सातबाट बच्नका लागि एउटा मानिस पसलको सटर सामुन्ने, सटरको छेउको पेटीमा आएर उभियो ।

कपडाको नाउँमा उसको शरीरमा सेन्डो गन्जी र एउटा मैलो प्यान्ट थियो र एकजोडी हवाई चप्पल पनि । पेटीमा आउनासाथै उसले प्यान्ट मोड्न थाल्यो ।

रङ, रूप र शारीरिक गठनलाई हेर्दा त्यो मजदुर लाग्थ्यो । त्यसको काखीबाट निस्किएको पसिनाको गन्ध र बर्सातको गन्ध मिलेर निस्केको हरकले उसको उपस्थिति पसलको भित्रसम्म पुगेको थियो ।

सहरी केटो, जो केही दिनअघि मात्रै एउटा चलेको बैंकको गाउँ शाखामा जिम्मेवार पद सम्हालेको थियो । उसले कमिजको माथिल्लो बटनमा आफ्नो नाक पुर्याउँदै केही समय अगाडि प्रयोग गरेको डियोड्रेन्टको बास्ना लिँदै त्यो गन्ध केही हदसम्म कम गर्ने कोसिसमा लाग्यो ।

बाहिर उभिएको, आधा भिजिसकेको मानिस बर्सात रोकिने छाँटकाँट नदेखी दर्के पानीमै भए पनि बाहिर निस्किन चाह्यो । फेरि केही बेर रोकिएर आफ्नो गोजीबाट केही निकाल्न थाल्यो । केही क्षणमै उसको हातमा पाँच रुपैयाँको केही खुजमुज्ज मोडिएको नोट देखियो ।

त्यो नोट लिएर ऊ पसलभित्र आयो र पसलेसँग भन्यो, ‘सेठजी, अढाइ मिटरभन्दा छोटो बर्सादी कतिमा आउँछ ?’
‘पच्चीस रुपैयाँमा ।’
‘सेठजी, बाइस रुपैयाँ छ । चल्छ ?’ उसले गम्भीर हुँदै सोध्यो ।
‘नाइँ… । हुन्न… ।’

ऊ बाहिर निस्केर कुनामा रहेको, गोदामबाट आएको सामानबाट उतारिएको प्लास्टिकलाई घुुर्न थाल्यो । फेरि बाहिरबाटै भन्यो, ‘सेठजी, यो प्लास्टिक लैजाउँ ?’
‘लैजाऊ दुई रुपैयाँमा ।’ baahrakhari