January 13, 2025, Monday
२०८१ माघ १

कोभिड प्रभावित पर्यटन क्षेत्रलाई बजेटमार्फत् राहत : मुख्यमन्त्री केसी

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन विभिन्न राहत कार्यक्तम बजेटमा समावेस गरिएको बताएका छन् । उनले पर्यटन क्षेत्र निकै प्रभावित भएकाले तीनै तहका सरकारले आफ्नो बजेट राहतपूर्ण कार्यक्रममा केन्द्रीत गरेको बताए ।

शुक्रबार भैरहवामा आयोजित ‘लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ वितरण समारोहमा बोल्दै मुख्यमन्त्री केसीले भने, ‘कोभिडका कारण स्रोत घटिरहे पनि सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।’

Advertisement

केसीले औद्योगिक विकासको शहरमा परिचित भैरहवा पछिल्लो समय पर्यटकीय भूमिकामा पनि अग्रणी रहेको बताए । यहाँको विकास लागि प्रदेश सरकार लागि पर्ने उनले जनाए । गौतमबुद्ध जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिस्तरमै आकर्षणको केन्द्र रहेका यहाँ हरेक कुरामा सम्भावना रहेको उनले बताए ।

उनले पछिल्लो समय वेरोजगारी बढीरहेको भन्दै अब रोजगारमूलक योजना ल्याएर त्यसलाई अन्त्य गर्नुपर्ने बताए । ‘वन रक्षकका लागि १२३ जनाको माग हुँदा ६३ हजार जनाले आवदेन दिएका छन्’, उनले भने, ‘मुलुकमा बेरोजगारी बढेको छ । यसबारे राज्यले गम्भिरतापूर्वक सोच्ने बेला आइसकेको छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले पर्यटन क्षेत्रमा नगरले प्राथमिकता दिएर काम गरिरहेको जनाए । उनले सञ्चारमाध्यमको पुनर्उत्थानका लागि नगरपालिकाले बजेट छुट्याएको र आगामी दिनमा पनि सहयोग बन्दै जाने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका शाखा अध्यक्ष रामराज पोखरेलले पछिल्लो समय संचारमाध्यम खुल्नेक्रम बढेको तर राज्यले सोहीअनुसार राहत उपलब्ध गराउन नसकेको बताए ।

पुरस्कार वितरण रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रेस क्लबका सल्लाहकार नारायणप्रसाद सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, प्रेस क्लब अध्यक्ष नरेश केसी, महासचिव कमल रायमाझी, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष विजयगोविन्द श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा सचिव शंकर पाण्डेको सञ्चालनमासम्पन्न भएको थियो ।