December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

सीताको मृत्यु प्रकरण : श्रीमान्, जेठाजू र आमाजू पुर्पक्षका लागि कारागार चलान

भैरहवा- रूपन्देहीको तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।जिल्ला अदालत रुपन्देहीले २७ वर्षीया भण्डारीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तिलोत्तमा-५ का उनका श्रीमान् टिका पौडेल, जेठाजू हरिप्रसाद पौडेल र आमाजू विष्णु पौडेललाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

Advertisement

तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मंगलबार र बुधबार थुनछेक बहसपछि तीन जनालाई नै अदालतले कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि उनीहरूलाई भैरहवास्थित कारागार चलान गरिएको प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । भण्डारी भदौ २० गते बिहान साढे ४ बजे आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको थियो।

तर, उनलाई आत्महत्या गर्न बाध्य भएको व्यहोराको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भण्डारी परिवारमा सम्पत्ति बेचबिखनबारे लामो विवाद थियो। त्यो सिलसिला उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ।टिका र सीता पाल्पामा रिसोर्ट सञ्चालन गर्दै आएका थिए।

त्यही रिसोर्ट बिक्री गर्ने नगर्ने विषयमा परिवारमा विवाद थियो। माइती र आफन्तले भने हत्या गरिएको आरोप लगाएका थिए। आफन्त र स्थानीयले सीतालाइ न्याय माग्दै प्रदर्शन गर्दै आएका थिए ।