February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

लुम्बिनीमा स्पेनका चिकित्सक ल्याएर स्वास्थ्य शिविर, पाठेघर विरामीको निःशुल्क शल्यक्रिया गरिने

भैरहवा– मधेशी समुदायमा स्वास्थ्यसम्बन्धी चेतनाको कमी छ । त्यसैले उनीहरु आफ्नो समस्या बताउन हिच्किच्याउँछन् । खासगरी यो समस्या महिलाहरुमा बढी पाइन्छ । पछिल्ला पुस्ताहरु शिक्षा र चेतनाका कारण आफ्नो स्वास्थ्यबारे खुले पनि पुराना पुस्ताले अझै रोगबारे बताउन चाहँदैनन् । परिवारमा समेत खुलेर कुरा नगर्दा कयौंले अनाहकमा ज्यानसमेत गुमाएका उदाहरण हाम्रो समाजमा छन् ।

यस्तो समस्यालाई निराकरण गर्न र स्त्री तथा प्रजनन् स्वास्थ्यबारे वास्तविकता पत्ता लगाउने उद्देश्यले स्पेनबाट चिकित्सक ल्याएर लुम्बिनी सांस्कृतिक नगरपालिका भित्रका महिलाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनले यहाँ स्वास्थ्य शिविर अयोजना गरेका हुन् । तीन दिनसम्म चलेको शिविरमा स्वास्थ्य जाँच गर्न महिलाहरुको भीड लागेको थियो ।

Advertisement

शिविरमा स्पेनबाट गाइनो, एनएसथेसिस, सर्जन गरी तीन विशेषज्ञ र एक नर्ससहित चार जनाको टोली लुम्बिनी आएका छन् । शिविरमा नगरपालिका, लुम्बिनी प्रादेशिक र भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका गरी दुई दर्जन बढी विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।

चेकजाँचका क्रममा महिलाहरुमा पाठेघर, पिसाव चुहिने, सेतो पानी बग्ने लगायतका समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका गाइनो विशेषज्ञ डा.रमेश पौडेलले बताए । ‘अधिकांश विरामी औषधि सेवनले नै ठीक हुने देखिएको छ, त्यस्तालाई हामीले औषधि दिएर पठाएका छौं’, उनले भने, ‘पाकापुस्ताका केही महिलाहरुलाई भने पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएको छ ।’

नगर प्रमुख मनमोहन चौधरीले शल्यक्रिया गर्नुपर्ने विरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा स्पेनिस चिकित्सकको उपस्थितिमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको बताए । ‘हामीले प्रादेशिक अस्पतालमा कुरा गरिसकेका छौं’, उनले भने, ‘केही दिनमा नगरपालिकाले आफ्नै यातायातको व्यवस्था गरेर उहाँहरुलाई शल्यक्रिया गर्न लैजान्छ ।’

शिविरमा इसीजी, ल्याब, सर्जरी, गाइनो, अल्ट्रासाउण्ड लगायतको स्वास्थ्य सुविधा प्रदान गरिएकोे थियो । आफ्नै घरछेउ विदेशीसहित नेपाली विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा स्थानीय शुखी भएका छन् । स्थानीय सुनिता बानियाँले भनिन्, ‘मलाई पेटको समस्या थियो, गरिबीले अस्पताल जान सकेकी थिइन् । तर, विदेशी चिकित्सक आएर घर छेउमा उपचार गर्न पाएँ, खुशी छु । औषधि लिएर गएकी छु । अब ठीक होला ।’

शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । पाँच सय बढीलाई निःशुल्क औषधि वितरण गरिएको छ । ‘त्योभन्दा महत्वपूर्ण कुरा रोग लुकाएर बसेका महिलाहरुको निःशुल्क शल्यक्रिया हुने भएको छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्रकुमार पाण्डेयले भने, ‘शिविरबाट रोग लुकाउन हुँदैन भन्ने चेतना फैलिएको छ । अब, स्वास्थ्य संस्थामा उपचार गर्न जाने र रोग नलुकाउने बानीको विकास गर्न सक्यौं भने धेरै महिला दिदीबहिनीको स्वास्थ्य राम्रो हुन्छ ।’

विदेशी संस्थासँग सहकार्य गरेर विदेशी चिकित्सक ल्याएर महिलाहरुको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने नगरपालिकाको योगदान आफैमा सह्रानीय भएको स्थानीयले बताएका छन् । लुम्बिनी सांस्कृति नगरपालिकामा मधेशी समुदायको बाहुल्यता छ । नजिक स्वास्थ्य संस्था हुँदासमेत चेतना, गरिबी र रोग लुकाउने सामाजिक परम्पराले यहाँका महिलाहरु झट्ट अस्पताल जाँदैनन् । तर, निःशुल्क र घर छेवैमा शिविर संचालन भएपछि धेरै लाभान्वित भएका हुन् ।

‘यहाँ चेतना र गरिबीकै कारण रोग लुकाउने समस्या बढी छ’, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने, ‘यसलाई चिर्न अब हामीले निरन्तर सचेतनाका कार्यक्रम गर्छौं ।’ लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका महासचिव एकराज गिरीले लुम्बिनी जस्तो महत्वपूर्ण र ऐतिहासिक ठाउँमा स्पेनका विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिन पाउँदा खुशी लागेको बताए ।

‘बुद्ध भूमि, पवित्र भूमिमा स्वास्थ्य जस्तो महत्वपूर्ण विशिर गर्न सक्यौं’, उनले भने, ‘लुम्बिनी आउन पाउँदा चिकित्सक धेरै खुशी हुनुहुन्छ ।’ उनले लुम्बिनी क्षेत्रको हरेक समस्या समाधान गर्न फाउण्डेसनले सहकार्य गर्ने बताए । नगरपालिकासँगको सहकार्यमा लुम्बिनीमा एक सय बेडको अस्पताल बनाउने तयारी गरिरहेको उनले जनाए ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख धु्रवराज घिमिरेले खासगरी रोग लुकाउने समस्या यहाँका महिलाहरुमा बढी भएको बताए । उनले शिविर संचालनपछि यो समस्या हट्ने अपेक्षा गरिएको जनाए । उनले गरिब परिवारले विशेषज्ञ सेवा गाउँठाउँमा पाउँदा निकै हर्षित भएको बताए । नगरपालिकाले शिविरमा सहभागी हुन स्थानीयलाई तीन दिनसम्म माइकिङ र पर्चापम्पलेट वितरण गरेर आह्वान गरेको थियो । आह्वान गरेअनुसार शिविरमा चेकजाँच गराउनेको उल्लेख्य सहभागिता रहेको नगर प्रमुख चौधरीले बताए ।