October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मेरी सौता

“पैजब (पाउजु) कैहिया गरहाइलहि ?”
उसले पैजब लगाएको देखेर मैले सोधेँ । उसले मेरो जवाफ दिन उचित ठानिन । केही बोलिन । केही नबोलेको देखेर मैले उसलाई फेरि सोधेँ, “पैजब कत किनलिही ?”
ऊ योपल्ट चुप लागेर बस्न सकिन । छिट्टै जवाफ फर्काई, “भौजी देलक हमरा ।”
“कतहेक भोइरके छौ ?”
“तीन, तीन भोइरके ।”

मलाई विश्वास लागेन । भाउजूको आफ्नै परिवार छ । जिम्मेवारीको बोझले थिचिएकी छिन् । कसरी उसलाई पैजब दिन सक्छिन् ?
अर्को महिना म माइती गएपछि भाउजूलाई सोधेँ, “भौजी, गुलाबके पैजब किनदेलही ?”
मेरो कुरा सुनेर भाउजूले जवाफ फर्काइन्, “हम कत से किनदेबै ? पौहना बन्या देलक ।”

मैले बल्ल थाहा पाएँ, उसले मसँग झुटो बोल्ने रहिछे । प्रत्येक कुरामा मेरो लोग्नेले मभन्दा बढी हेरचाह सौतालाई गरेको पाएँ । मेरो मन धेरै जल्यो । लोग्ने र सौता दुवैदेखि घृणा लाग्यो ।

म रामतोरिया । मेरो माइती ब्रम्हपुरमा भएकोले मेरो नामले भन्दा ससुराल गाउँमा सबैले मलाई ब्रम्हपुरवाली भनेर बोलाउँछन् । जब रात पर्छ म अनभिज्ञ क्रोधले बहुलाउँछु । जेठ महिनाको गर्मीमा मेरो घरको छानाको टायल तातेझैँ मेरो दिमाग नराम्ररी तात्छ । आँगनमा भएको कर्चीको टाँटी असारको झरीमा कुहिएर टुक्रिएर झरेझैँ मेरा लोग्नेले सौतालाई हेरचाह गरेको देखेर मेरो मन गलेर सिन्कासिन्कामा टुक्रिँदै झर्छ ।

जब म मेरो सौतालाई देख्छु मेरो रिस चौगुणा हुन्छ । मनभित्र आगो बल्छ । उसको यौवनले भरिएको जिउ, शृंगार पटार, सुकुमार हत्केला, रसिला ओठ, गोरो अनुहार, गाजलु आँखा, मिलेको दन्तलहर, लामा केश राशि, बाटुला छाती भएकी उसले मेरो अगाडि हाँस्दा मेरो मनमा अथाह पीडा हुन्छ । मेरो दिमाग फुट्न खोज्छ ! भकारी बनाउन बाँस ताछेर कैमचा (मसिनो बनाउनु) बनाएझैँ उसको यौवन ताछेर जगल्टाएर घरबाट निकालिदिऊँ लाग्छ ।

मलाई हत्यारा बन्न मन लाग्छ । म पटकपटक उसको मृत्युको कामना गर्छु, तर मेरो कामना कहिल्यै पूरा हुँदैन ।

यो सत्य हो मेरो लोग्नेसँग ऊ जिस्किरहँदा र हाँस्दा मेरो मनमा पिरो धुवाँ पुतपुताउँछ, जसलाई म नियन्त्रण गर्न सक्दिनँ । आफूलाई धीर र शान्त बनाउन धेरै प्रयास गर्छु । तर, मेरो प्रयास असफल हुन्छ । मेरो अनुहार क्रोधले रातो, निलो हुन्छ । कान र गाला ताता हुन्छन् ।

घरको धरैनलाई (धुरी) घुनले खाएजस्तो उसको खुसीले मलाई घुनझैँ भित्रभित्रै खाइरहेको थियो ।

म मेरा लोग्ने भगलुसँग बोल्न छोडेदेखि दुईचार दिन उनी मसँग बोल्न आए, तर मैले वास्ता गरिनँ । उनीसँग बोलिनँ । त्यसपछि उनले मसँग बोल्न छोडे ।

जब मेरी सौता राति सबै काम सकाएर सुत्न जान्छे, रात नभइदिए हुन्थ्यो भन्ने लाग्छ ! आफ्नै टाउको फुटाउन मन लाग्छ । म ससाना कुरामा सौतालाई झर्किन्छु । बोल्न त के ऊतिर हेर्न पनि मन लाग्दैन ।

जब ऊ बिहान उठेर घरको ढोका खोल्छे, म तलदेखि माथिसम्म उसको जिउतिर हेर्छु । उसको गाला, घाँटी र हत्केलामा निलो डाम देख्छु । तुरुन्तै उसको अनुहारतिर हेर्छु । उसको अनुहार सन्तोषले जाज्वल्यमान भएको देखिन्छ ।

उसको यो सुख र खुसी म देख्न सक्दिनँ । म उसको एकएक अंगमा आँखा डुलाउँदै सोच्छु– उसको प्रत्येक अंग मेरो लोग्नेको स्पर्शले फक्रेको छ । पहिला ख्याउटी देखिएकी ऊ लोग्नेको सामीप्यले अहिले धानले टम्म भरिएको भकारीजस्तै सुन्दर देखिन थालेकी छे ।

उसलाइै देखेर मेरो मनमा धेरै अकल्पनीय गोप्य कुराहरू पलाउँछन् । जसलाई म तह लगाउन सक्दिनँ । मलाई मेरो लोग्ने सम्झेर घिन लाग्छ र म पिच्च थुक्छु उनको नाममा ।

सौतालाई हेर्दै कालो अनुहार बनाउँदै भन्छु, “बौहतेक काम करैला छै ? दुपहर दिनतक सुतल रहैचिही ?”
मेरो कुरा सुनेर उसले खुसी र नम्र स्वरमा भन्छे, “हम सैब काम तुरन्ते कैरलेबै, दिदी ।”

उसको कुरा सुनेर मलाई असहज अनुभव हुन्छ र म मनमनै दाँत किट्छु । तर, मुट्ठी बाँध्दै आफूलाई नियन्त्रित गर्छु । उसलाई खुसी देख्नासाथ मेरो अनुहारमा क्रोधको ज्वाला बढ्छ । उसले बोलेको राम्रो कुरा पनि मलाई नराम्रो र विषले भरिपूर्ण लाग्छ । आफ्नो व्यक्तिगत कुनै पनि कुरा उसलाई सुनाउन मन लाग्दैन ।

ऊ पनि आफ्नो कुनै कुरा मलाई सुनाउँदिन । म चाहन्छु, मेरो लोग्नको समीपमा ऊ नजाओस् । उसले पनि म त्यस्तै गरुँ भन्ने चाहन्छे, सायद ।

मैले लोग्नेसँग बोल्न छोडिसकेकी छु । एउटै घरमा बसेर उनीसँग हजारौँ माइलको दूरी छ । त्यो दूरी मैले नै बनाएकी हुँ । उनीसँग बोल्नुभन्दा नबोलेको बेस लाग्छ । मलाई स्पर्श गरेका उनका औँलाहरू, मलाई चुम्बन गरेका उनका ओठहरूले सौतालाई कसरी चुम्दो हो ? मभन्दा पनि माया उसलाई गर्दा हुन् !

अनि त, म नबोल्दा उनले पनि मलाई बोलाउन छोडिसकेका छन् । लाग्छ– म यस्तो विधवा हुँ जसको लोग्ने हुँदाहुँदै पनि सबै कुराबाट वञ्चित छे ।

मेरो पूर्ण रूपमा अधिकार भएको लोग्नेमाथि सौताले अधिकार जमाउन थालेकी थिई । उनी सौतालाई मभन्दा बढी माया गर्न थालेका थिए । जुन दिनदेखि उनले सौतालाई मभन्दा बढी माया गरेको अनुभव भयो, त्यसै दिन मैले उनीसँग धेरै झगडा गरेँ । तर, उनले एकपल्ट जवाफ फर्काएनन् । किनकि, त्यो घरको लागि मैले धेरै थोक गरेकी थिएँ ।

गाउँबाहिर भएको डिहबार थानमा गएर घरको कुल देउतालाई सम्झिँदै मनभरि रोएँ । म उनका लागि धेरै तड्पिएँ । धेरै आँसु बगाएँ । आँसु बगाएर मन हलुको भयो । तर, मुटु गह्रौँ भइरह्यो । उनको समीप नजाँदा नजाँदै उनी मदेखि विस्तारै टाढा हुँदै गए ।

म बिहे भएर भित्रिँदा उनको खरको छाना भएको दुइटा फुसको घर मात्रै थियो । मैले चामलको फेर (व्यापार) गर्न सुरु गरेँ । चामलको फेर गर्दै खेती गर्न एक हल गोरु किनेँ । खरको घर भत्काएर टायलको छाना भएको घर बनाएँ । दुई ठाउँमा चार कट्ठा खेत पनि जोडेँ । घरको नुन, तेल मैले नै चलाइरहेकी थिएँ ।

सौता मेरो जीवनबाट धेरै टाढा गएकी भए हुन्थ्यो, तर त्यस्तो सम्भव थिएन । एक समय थियो, जब म आफ्नो लोग्नेबिना एक पल बस्न सक्दिनथेँ । उनी भएनन् भने मेरो जीवन व्यर्थ लाग्थ्यो ।

मेरी सौता मेरो जीवनमा आएदेखि उनले मलाई पहिलेजस्तै वास्ता गर्न छोडिसकेका थिए । उनी सौता भएको बेलामा मसँग बोल्न पनि डराउँथे । हो, मैले खाना खाएँ कि खाइनँ कहिल्यै सोध्दैनथे ! मलाई हेरचाह गर्दैनथे ।

जब आमा बिरामी पर्दा सौता माइती गई, ऊ नभएको रात मेरा लोग्नेले मलाई भने, “हमर देह दुखाइये । हमरा तेल लग्यादे ।”

मलाई तेल लगाइदे भनेको सुनेर मलाई अनुमान लगाउन कति पनि गाह्रो भएन, उनी मसँग के चाहन्थे । यसको अर्थ, सौता भएर उसको डरले उनी मसँग बोल्न र म नजिक आउन सक्दैनथे । उनी मेरी सौताको स्त्रीमिश्रित नियन्त्रणले पूर्ण रूपमा नियन्त्रित थिए ।

मेरै लोग्ने मबाट पराई भइसकेका थिए ! उनले ‘तेल घसिदे’ भनेको सुनेर मैले केही प्रतिक्रिया नदिई बस्न सकिनँ । सन्चो छैन भनेर बहाना बनाउँदै भनेँ, “म तेल लाउन सक्दिनँ । मलाई ज्वरो आइरहेको छ ।”

मैले मनमनै सोचेँ, यस्तो जोइटिङ्ग्रे लोग्नेलाई तेल घस्नुभन्दा उनीभन्दा टाढा बस्नु नै जाती । किनकि, म जति उनको समीप जान्छु, त्यति नै उनले मलाई पिरोल्नेछन् ।

सौताको निकटताले म पटकपटक जलिरहेकी थिएँ । यस्तो जलनले ममा नकारात्मक ऊर्जा जागृत भइरहेको थियो । मैले निर्णय लिएँ, कि त सौतालाई घरबाट निकाल्नु राम्रो कि त उनलाई बिर्सनु राम्रो ।

मैले उनलाई बिर्सने निर्णय लिएँ । आफ्नो कोठामा गएर सुतेँ । मलाई सन्चो नभएको थाहा पाएर उनी राति खाना खाएर मेरो कोठामा आए । मेरो टाउको नजिक बसे । मेरो निधार छामे । निधार छाम्दै भने, “तोहर मुह घोकैच गेलछौ । बरी बुरह देखैचिही तु । ठोर सोहो सुखल छौ । (तेरा अनुहार कति धेरै चाउरिएको ? तँ सारै बूढी देखिन्छेस्, ओठ पनि सुकेको छ !)

कुनै पनि स्वास्नीमान्छेले आफ्नो बारे सुन्न नखोजेको कुरा उनले मलाई भने ! मेरो मन सारै खिन्न भयो । तर, म केही बोलिनँ ।

उनलाई मेरो सन्चो बिसन्चोभन्दा मेरो कुरूपतामा आँखा गयो । उनको र सौताको ईष्र्या र लापरबाहीले मेरो अवस्था त्यस्तो भएको थियो भन्ने उनले बुझेर पनि अबुझ बने वा जानीजानी मेरो चित्त दुखाउनलाई त्यस्तो भने, मलाई थाहा भएन ।

उनले यति भनेर मेरो निधारमा भिक्स दलिदिए । भिक्स दलेर सिरक ओढाए । मेरो निधारमा उनले भिक्स दल्दै गर्दा मेरा गह भरिए, तर उनले देख्ने गरी आँसु झार्न सकिनँ । मलाई पहिलाको जस्तै हेरचाह र प्रेम गर्नुस् भन्न सकिनँ ।

खासमा उनले मेरो मन बुझेनन् । घरमा सौता नभए पनि उनी मेरो कोठाबाट निस्केर सौता सुत्ने कोठामा गए । यसको अर्थ म के लाऊँ, उनी सौताको यौवनको दिवाना बनिसकेका थिए ।

प्रेम त मैले पनि गरेकी थिएँ उनलाई । प्रेमको आँखाले हेरे भने एक लोग्नेले आफ्नी प्रियालाई कहिल्यै बूढी भएको देख्दैन । नभए मेरो यौवन उनले रित्याएको किन चाल पाएनन् ? चाल पाएर पनि हिसाब किन गरेनन् ?

सौता भोलिपल्ट फर्किँदा मेरो कोठा लिप्न आई । उनको गम्छा मेरो खाटमा देखी । उनको गम्छा हातमा समात्दै भनी, “दिदी, ओकर गम्छा कथिले तोहर खाटमे छौ ?”
मलाई ऊसँग कहिल्यै राम्ररी बोल्न मन नलागे पनि आफूलाई सामान्य बनाउँदै जवाफ फर्काएँ, “ऊ काइल राइतमे हमर कोठा येलछेलै ।”

मेरो कुरा सुनेर उसको अनुहार रिसले कालो–निलो भयो, तर मलाई जवाफ फर्काइन । उसले लिप्नलाई माटो, पानी घोलिएको सिलबरको डेक्चीमा लात हानी । उसले लात हान्दा डेक्ची भ्यात्त बोल्यो । एकापट्टि थेप्चियो पनि ।
त्यस दिनदेखि उसले एक पलका लागि पनि लोग्नेलाई छोड्दिनथी ! जहाँ जान्थी, उनलाई पनि सँगै लिएर जान्थी ।

मैले नै लोग्नेलाई त्यस्तो बनाएँ । आफ्नो खुट्टामा बन्चरो आफैँले हानेँ, तर दोष अहिले लोग्नेलाई दिइरहेकी थिएँ । उनलाई दोष नदिई कसलाई दिने ? उनले पनि अर्को बिहे गर्न सिधै अस्वीकार गर्नुपर्ने । त्यस्तो गरेको भए उनी दोषी हुने थिएनन् ।

त्यति बेला मेरो मति मारिएको थियो । मेरो मति मारिएको भए पनि उनले मलाई सम्झाउन सक्थे । एकदुईपल्ट उनले भने– मलाई अर्को बिहे गराउन राजी नगरा । तर, मैले नै जिद्दी गरेँ । जब मेरो मति फर्कियो, उनी मदेखि धेरै टाढा गइसकेका थिए, जहाँबाट म उनलाई फर्काउन सक्दिनथेँ ।

म निकै भावुक छु । पहिले यति धेरै भावुक थिइनँ । अचेल ससाना कुराहरू मेरो मनमा बिझ्छ । हप्तौँ दिनसम्म बिझेका कुरा मनमा खेलिराख्छ । म ती कुराहरूलाई उपेक्षा गर्न सक्दिनँ । ससाना कुराले म रुन्छु ।

म आफैँलाई भन्छु– साहसी रामतोरीया कहाँ हराई ? एक समय थियो, जहाँ मलाई कुनै कुराले छुँदैनथ्यो । ती दिनहरू कसरी एकाएक परिवर्तन भए मैले अनुमान लगाउन सकेकी छैन ।

बिहेको १५ वर्षसम्म मेरो कोखबाट सन्तान जन्मिएन । मेरो उमेर ढल्किँदै थियो । जतिजति उमेर ओरालो लाग्दै थियो, त्यति नै मातृवात्सल्यले म छटपटिन थालेँ । कास् ! मेरा पनि सन्तान भइदिएका भए छातीभरिका सम्पूर्ण मातृवात्सल्य लुटाउँथेँ ।

उनको अर्को बिहे गरिदिने बारे मेरो मनमा सोच आउन थाल्यो । उनको बिहेका विषयमा मनमा कुरा आउँदा पनि म सन्तान सुख प्राप्ति सोचेर खुसी हुन्थेँ ! तसर्थ, उनलाई अर्को बिहे गर्न राजी गराउन थालेँ ।

माइतीमा मेरा बा बिते । कान्छी बहिनी गुलाब बिहे गर्न बाँकी थिई । मेरो मनमा एउटा सोचाइ आयो– कान्छी बैनीसँग उनको बिहे गराइदिए सन्तान सुखसँगै पराई स्वास्नीमान्छेलाई सौताका रूपमा स्वीकार्नु पर्दैन । त्यसअर्थमा कान्छीलाई नै उनीसँग बिहे गराउँदा राम्रो । दुवै दिदीबैनी मिलेर बसूँला ।

उनलाई मैले कान्छीसँग बिहे गर्न सल्लाह दिएँ । कान्छी पनि राजी भई ।

सुरुमा मैले उसलाई बैनीका रूपमा मात्र हेर्थेँ । जब मेरो लोग्ने बिहेको पहिलो रात कान्छीको कोठामा गए, अचानक मेरो मन परिवर्तन भयो । मेरो मुटुमा छिद्रैछिद्र भयो । मैले आफूलाई रोक्न सकिनँ । आफ्नो कोठाको ढोका लगाएर आफ्नै मुख थुन्दै मनभरि रोएँ ।

म मेरो लोग्नेलाई मेरी सौतासँग बाँड्दै थिएँ । आफ्नो लोग्ने अरू स्वास्नीमान्छेसँग बाँड्न कुनै पनि स्वास्नीमान्छेले सपनामा पनि चिताउँदिनन् । तर, म विपनामै त्यस्तो गर्दै थिएँ ! यति धेरै जलन पहिला भएको थिएन । नभए उनलाई अर्को बिहे गर्न राजी गराउँदिनथेँ ।

भोगेपछि बल्ल मेरो मुटु छियाछिया भयो । र, मैले उसलाई सौताको रूपमा हेर्न थाले । बहिनीका रूपमा हेर्दा मलाई ऊप्रति ज्यादै माया, दया भाव पलाउँथ्यो । तर, सौता बनेदेखि मलाई ऊसँग ईष्र्या र घृणा मात्र लाग्न थाल्यो ।

हुन त उसको पनि दोष थिएन । मैले सोचेँ– अरूलाई सौता बनाउनुभन्दा आफ्नै बैनीलाई बनाए मिलेर बस्न सजिलो हुन्छ । तर, त्यस्तो भएन । मरेको सौताले त पिरोल्छ भन्छन्, यो त झन् जिउँदो सौता थिई !

सिरुवा मेला थियो । प्रत्येक वर्ष उनले मेरा लागि सारी किनेर ल्याउँथे । योपल्ट पनि किनेर ल्याए, तर दुई थरीको सारी थियो । मेरा लागि धोती थियो भने सौताका लागि सिफनको सारी । उसको लागि महँगो चप्पल थियो भने मेरो लागि बाटा चप्पल ।

अर्थात्, मलाई हेर्ने र माया गर्ने दृष्टिकोणमा धेरै फरक देखेँ ! मलाई बुढ्यौलीले छोएर उनले त्यस्तो पहिरन ल्याइदिए वा सौतालाई बढी माया गर्न थालेर ? उसले खुसी हुँदै सारी र चप्पल राखी ।

म रिसले रातो भएँ । सलाईको काँटी बाल्दै मैले सारीमा आगो सल्काएँ । मलाई हेप्ने ? दुई जिब्रे । दुई थरीको सारी किनेर ल्याउने ? म लगाउँदिनँ यस्तो सारी ।

सारीलाई उनकै अगाडि खरानी बनाएँ । मैले सिन्दूर लगाउन त्यही दिनबाट छोडेँ । हातको चुरा फुटाएँ, पोते फुकालेर फालेँ ।

उनले बजार गएर सौताको जस्तै सिफनको सारी मेरा लागि फेरि किनेर ल्याए, तर मैले त्यो सारी लिन अस्वीकार गरेँ ।

सडकछेउको खेतमा छाप्रो टाँगेर लोग्नेले त्यहीँ चिया दुकान खोले । ऊ पनि दुकान जान थाली । उनी र सौता दिनभरि दुकान चलाउँथे । पछि राति पनि उतै बस्न थाले । दुवैले घर आउन छोडे ।

म एक्लै गाउँमा बस्थेँ । माटाको टायल भएको दुई कोठाको फुसको घर, खेती, गृहस्थी सबै एक्लै सम्हाल्थेँ । चामलको फेर पनि गर्थेँ । हलीमार्फत खेती गराउँथेँ ।

एक वर्षपछि सौताले छोरा पाई, तर मलाई उसको छोरामा कुनै चाख लागेन । मान्छेहरू भनिरहेका थिए, ‘छोरो बापट्टि गएको छ ।’ यो कुरा सुनेपछि मलाई झन् हेर्न मन लागेन । उनीहरू दुकानमा बस्ने भएकाले बोलचाल मात्र होइन, आवतजावत नै पनि बन्द थियो ।

६ महिनापछि एकाबिहानै खेततिर उनी दिसा गर्न गए । उनी खेतमै लडेछन् । अस्पताल लग्दासम्म उनी बितिसकेका थिए ।

उनी बितेपछि सौता अलिक दिन उदास रही । ऊ एक्लै पसल चलाउँथी । बच्चालाई पनि हेर्थी । उनी बितेदेखि गाउँभरि हल्ला थियो, ‘ऊ फुलडला चालकसँग लागेकी छे ।’ फुलडला चालक सडकमा फुलडला रोकेर पसलमा बसेर ऊसँग घण्टौँ कुरा गरिरहन्छ ।

एक दिन बेलुकी दुकानमा बच्चा बेसरी क्वाँ…क्वाँ… रोइरहेको छेउछाउका मान्छेहरूले सुने । ग्राहक कोही थिएनन् । मान्छेहरू बच्चा रोएको आवाज सुनेर दुकानभित्र छिरे । बच्चा दोरीमा (कोक्रो) एक्लै रोइरहेको थियो । ऊ त्यहाँ थिइन ।

वरिपरिको गाउँमा पनि उसलाई खोजे । ऊ फेला परिन । तर, प्रत्यक्षदर्शीका अनुसार ऊ फुलडलामा बसेर पूर्वतिर गई अरे ! भन्ने थियो । सबैले अनुमान लगाए– ऊ छोरोलाई छोडेर भागी ।

जब मैले यो खबर सुनेँ, आफूलाई रोक्न सकिनँ । जस्तो अवस्थामा थिएँ, त्यस्तै अवस्थामा दौडिँदै दुकान पुगेँ । छोरोलाई देखेर मेरो मुटुभित्रको मातृत्व पग्लेर आँखाबाट बग्न थाल्यो । हत्तपत रोइरहेको छोरोलाई काखमा बोकेँ ।

उसलाई बोक्नेबित्तिकै ऊ चुप लाग्यो ! मेरो मुटु मातृवात्सल्यले ओतप्रोत भयो । मैले ‘हमर बेटा’ भन्दै छोरोलाई छातीमा स्नेहले टाँसेँ । baahrakhari