राप्तीमा दैनिक तीन सय सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट सञ्चालन


भैरहवा– दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन गर्ने २ वटा प्लान्ट सञ्चालनमा ल्याएको छ । दैनिक २ सय सिलिन्डर क्षमताको प्लान्ट अहिले र डेढ महिना अघि एक सय सिलिन्डर भर्न सक्ने प्लान्ट सञ्चालनमा ल्याइएको हो । दुईवटै प्लान्ट सञ्चालनमा आएपछि प्रतिष्ठान लुम्बिनी प्रदेशमै सबैभन्दा बढी क्षमतामा अक्सिजन उत्पादन गर्नसक्ने संस्था भएको जनाएको छ ।
प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले दुई वटा प्लान्टबाट प्रतिष्ठानमा उत्पादन हुने प्रति दिन तीन सय सिलिन्डर अक्सिजन प्रतिष्ठानसहित अन्य अस्पतालमा समेत दिन सकिने जानकारी गराइन् । ‘कोभिडको संक्रमण फैलिरहँदा धेरै स्थानमा अक्सिजन अभाव भएको थियो,’ उनले भनिन्, ‘अब हामीले यहाँ नै अक्सिजन उत्पादन गर्ने दुई वटा प्लान्ट सञ्चालनमा ल्याएका छौं । यी प्लान्टबाट दाङसहित अन्य जिल्लामा पनि आवश्यक परेको खण्डमा अक्सिजन उपलब्ध गराउन सक्ने छौं।’
तेस्रो वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले अक्सिजन प्लान्ट थप गर्नुका साथै अन्य सेवा समेत विस्तार गरेको छ । प्रतिष्ठानमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत २५ शय्याको प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको छ । प्राइभेट वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेडसहित एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, चिकित्सक र स्वास्थ्यकर्मीको चौबीसै घण्टा उपलब्धतासहितको सेवा दिइने छ ।
यसैगरी, प्रतिष्ठानले १.५ टेस्ला क्षमताको एमआरआइ मेसिन समेत जडान गर्ने तयारी समेत गरेको छ । हाल प्रतिष्ठानमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा रहेको प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा सिंह बस्नेतले बताइन् । उनका अनुसार प्रतिष्ठानले कोरोना संक्रमणको तेस्रो लहर आएमा त्यसका लागि उपचार व्यवस्थापनका लागि कोभिड वार्डलाई तयारी अवस्थामा राखेको पनि जनाएको छ ।
प्रतिष्ठानले आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याउन प्रक्रिया समेत अगाडी बढाइसकेको जनाएको छ । प्रतिष्ठानमा हाल २० शय्याको आइसीयु, १० शय्याको पीआइसीयु र ५० शय्याको एचडीयु सेवा रहेको छ । यस्तै प्रतिष्ठानमा हाल ४ वटा अप्रेसन थिएटर निर्माण भएको छ ।
प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७–७८ मा १ हजार ५३७ मेजर र ८८० माइनर गरी २ हजार ४१७ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ । एक वर्षमा प्रतिष्ठानबाट ६६ हजार १८३ जनाले ओपिडि सेवा लिएका छन् भने २ लाख ४५ हजार ७१ जनाले प्रयोगशाला सेवा लिएको उपकुलपति प्राध्यापक डा.भण्डारीले जानकारी दिइन् ।
यस्तै, एक्सरे सेवा १ लाख १२ हजार ४६० जना, सिटी स्क्यान सेवा ७६४ जना, आकस्मिक उपचार गराउनेको संख्या १२ हजार ७१२ छ । सो अवधिमा २३ हजार ६२१ जनाले पीसीआर परीक्षण सेवा लिएका छन् भने ३७ जनाले ननकोभिड सेवा र २२ जनाले कोभिड आईसीयु र कोभिड एमचडीयु सेवा २०२ जनाले लिएका छन् ।

प्रतिकृया दिनुहोस्