काँग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा पौडेल पक्षधर अगाडि


भैरहवा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत शनिवार भएको पालिकास्तरको अधिवेशनमै पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच कडा प्रतिष्पर्धा देखिएको छ । गाउँनगर अधिवेशनमा दुबै पक्ष प्यानलसहित उत्रिएका थिए । पार्टीका प्रमुख गुटबीच भएको चुनावी प्रतिष्पर्धामा कतै स्पष्ट त कतै झिनो मतान्तरले हारजीतको टुंगो लागेको छ ।
लुम्बिनी प्रदेशका १२ मध्ये शनिबार ८ जिल्लामा पालिका अधिवेशन सकिएको हो । ती जिल्लाको परिणाम अनुसार यहाँका पालिकामा पौडेल पक्षधर अगाडि देखिएका छन् । तराईका जिल्लामा स्पष्ट प्यानल खडा गरेर मैदानमा होमिएका थिए । पहाडी जिल्लामा कतै प्यानलबीच प्रतिष्पर्धा भएको थियो भने कतै खुल्न बाँकी छन् ।
धेरै पालिका रहेको रुपन्देहीमा १६ मध्ये ११ वटा पालिकामा निर्वाचन भएको थियो । पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व चयन भएको थियो । ती मध्ये ९ वटामा देउवा र ५ मा पौडेल पक्षधर विजयी बनेका छन् । दुई पालिका सभापति दुवै पक्षमा खुलेका छैनन् ।
दाङमा वरिष्ठ नेता पौडेल पक्षको बाहुल्य देखिएको छ । १० पालिकामध्ये ६ पालिकामा पौडेल र चार पालिकामा देउवा पक्षधर निर्वाचित भएका छन् । पाल्पाका १० मध्ये ९ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन भएको छ । तीनमा देउवा पक्षमा २ र पौडेल पक्षका ७ जना चुनिएका छन् ।
अर्घाखाँचीका ६ स्थानीय तहमध्ये तीन नगरमा चुनाव र तीन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अर्घाखाँचीमा देउवा पक्ष शून्य देखिएको छ । एक जना तटस्थ छन् । बाँकी पालिकामा पौडेल पक्ष बिजयी भएका हुन् । रोल्पामा १० स्थानीय तह मध्ये अधिकांशमा युवा नेतृत्वमा पुगेका छन् ।
त्यहाँ चार पालिकामा देउवा र बाँकीमा पौडेल पक्षका चुनिएका छन् । नवलपरासी पश्चिममा पनि देउवा पक्ष कमजोर देखिएको छ । त्यहाँ तीन पालिकामा कांग्रेस महामन्त्री सशांक कोइराला पक्षधर र बाँकीमा देउवा पक्षका चुनिएका छन् ।
रुकुम पूर्वका सबै पालिकामा सर्वसम्मत गाउँ कार्यसमिति चयन भएको छ । तीनवटै गाउँपालिकामा भएको अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गरेको हो । सिस्ने गाउँपालिकामा मदन बीसी, भूमे गाउँपालिकामा दिनेश रोका र पुथाउत्तरगंगा गाउँपालिकाको सभापतिमा सतस बुढा निर्वाचित भएका छन् । जिल्लाका तीनै जना कुनै पक्षमा खुलेका छैनन् ।
प्रतिकृया दिनुहोस्