January 25, 2025, Saturday
२०८१ माघ १३

काँग्रेस रूपन्देहीको कुन तहमा कसको पल्लाभारी ?

भैरहवा– नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार अधिकांश जिल्लामा गाउँ–नगर तहको निर्वाचन भएको छ । रुपन्देहीका केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि अधिकांशमा मतदान भएको थियो । प्राप्त परिणामअनुसार बुटवल उपमहानगरपालिका नगर समिति सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । प्रतिद्वन्द्वी रीता केसीलाई झण्डै दोब्बर मतले हराउँदै उनले जित निकालेका हुन् ।

पाण्डे यसअघि पनि उपमहानगर समिति सभापति थिए । उनी तेस्रोपटक नगर सभापतिमा निर्वाचित भएका हुन् । उनी काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । पाण्डेले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी केसीले १ सय १४ मत प्राप्त गरिन् ।

Advertisement

काँग्रेस, सिद्धार्थनगर नगरपालिका सभापतिमा कोशिशबहादुर खड्का विजयी भएका छन् । उनी सभापति शेरबहादुर देउवा निकट हुन् । सभापतिमा खड्काले १ सय ३९ मत पाए । उनका प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत मात्रै पाए । देवदह नगरपालिकामा गुणाखर भूर्तेल निर्वाचित भएका छन् । उनले झविन्द्रप्रसाद पाण्डेलाई ३ मतले पराजित गरे । खसेको कूल २०५ मतमा २ मत मात्रै वदर भएको थियो । भूर्तेल १०३ पाए भने पाण्डेले एक सय मत पाए ।

तिलोत्तमा नगर सभापतिमा हरिलाल पाण्डे दोस्रोपटक विजयी भएका छन् । उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराए । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । पाण्डे १७४ मत पाउँदा प्रतिद्वन्द्वी न्यौपाने १७२ र हरि तिवारीले ३० मत पाए ।

सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन् भने पोखरेल गृहमन्त्री बालकृष्ण खांण निकट हुन् ।

कञ्चन गाउँपालिका सभापतिमा देबिराम रेग्मीले नेतृत्व गरेको समूह निर्वाचित भएको छ । रेग्मी ६४ मतसहित बिजयी भएका छन् । प्रत्यासी प्रेमचन्द्र पोख्रेलले १९ मत प्राप्त गरेका छन् । जम्मा ८७ मतमध्ये ८६ मत खसेकोमा सभपाति पद लागि ८३ मत सदर भएको थियो भने ३ मत बदर भएको मतदान अधिकृत नुरजंग केसीले जानकारी दिए ।

मायादेवी गाउँपालिका अध्यक्षमा पदमपानी भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ९१ मत पाए भने उनका प्रतिद्वन्दी मोहम्मद रफिक खाँले २९ मत ल्याए ।

रोहिणी गाउँपालिकाको सभापतिमा पारसनाथ योगी निर्वाचित भएका छन् । अर्का उम्मेदवार इकवाल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन् । १२५ जना क्षेत्रीय प्रतिनिधि रहेको रोहिणीमा योगीले ७० मत र खाँले ५४ मत प्राप्त गरेका थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान सर्वसम्म निर्वाचित भएका छन् । यहाँ सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।