November 8, 2024, Friday
२०८१ कार्तिक २४

क्लासिक कथा : खुला दिल

म उसलाई कान कम सुन्ने विश्वासमा ठूलो स्वरले बोल्ने गर्दथेँ भने ऊ पनि मलाई बहिरो, लाटो ठानेर त्यस्तै ठूलो स्वरले कुराकानी गर्थ्यो ।

मैले उसलाई यस विषयमा कहिल्यै सोध्न चाहिनँ र उसले पनि मलाई यसबारे सोधेको थिएन ।ऊसित मेरो चिनापर्ची भएको केही महिनाअघि मात्र हो र बाटो–बाटोमा भेटघाट हुँदा ऊ ठूलो स्वरमा ‘हल्लो’ भनेर बोलाउँथ्यो ।

Advertisement

उसलाई पनि म ठूलो स्वरले ‘हल्लो’को जवाफ ‘हल्लो’मा दिएर ठूलठूलो स्वरमा भलाकुसारी गर्न लाग्थेँ ।

ऊ मलाई पहिलेभन्दा दुब्लो देख्तथ्यो र म पनि उसलाई पहिलेभन्दा दुब्लो भएको कुरा कोट्याउँथेँ । यद्यपि, ऊ मभन्दा मोटो थियो र मचाहिँ सधैँ मरन्च्याँसे नै देखिन्थेँ, अनि मलाई अझ दुब्लाएको देखेकोमा उसलाई ‘तपाइँको आँखा कमजोर भएछ’ भनी हाँस्थेँ ।तर, ऊ आफ्नो आँखा ठिक भएको कुरा गर्थ्यो ।

उल्टो मलाई नै चस्मा लगाउने सिफारिस गर्दथ्यो । त्यसपछि ऊ देशदेखि लिएर देशावरका घटनाबारे टीका–टिप्पणी गर्न थाल्दथ्यो, अनि मसित सम्पूर्ण मानिस जातिको जीवन निकट भविष्यमा कुनै दैवी प्रकोप वा विस्फोटमा ध्वस्त हुने आशंका व्यक्त गर्दथ्यो र जीवन रमाइलो र मनोरञ्जनमा समाप्त गर्ने सुझाव दिन थाल्दथ्यो ।

उसको भौतिकवादी दर्शनले मलाई केही बेर दुविधामा पार्दथ्यो, तर म खुला दिलले उसको तर्कका खण्डन गर्ने प्रयास गर्थें । मलाई ऊ आदर्शवादी सदाचारी पनि ठान्दथ्यो ।

यसरी उसको र मेरो मित्रता कुराकानीभित्र मात्र सीमित हुँदैनथ्यो । ऊ मलाई आफ्नो जीवनवादी दर्शनमा ढाल्ने चेष्टा प्रयत्नमा कुनै बार एन्ड रेस्टुराँमा लगेर रक्सी खुवाएर ढाल्ने चेष्टा गर्दथ्यो, तर म उसको आग्रहलाई टार्ने ढालसिद्ध भइरहन्थे ।

तर, उसले मेरा एक–दुई कमजोरीहरू पनि फेला पारेको थियो । एकचोटि ऊ जसलाई भेटन गएको थियो, उसैलाई म पनि संयोगवश भेट्न पुगेको थिएँ । अतिथेयीले वचन टार्न नसकेर केही पेग घुट्काउनु परेको थियो । यो मेरो मित्रले देखेको र मलाई जहाँ जहिले दिन होस् या रात, रक्सी खुवाउन अनुरोध गर्दथ्यो ।

म उसलाई सधैँ प्रेमभूषणजी भनेर सम्बोधन गर्थें र ऊ सधैँ मलाई प्रेमभूषण मेरो नाम होइन, यो त कुनै भूतपूर्व मन्त्रीको नाम हो, मेरो नाम त प्रेमपाषाण हो भन्थ्यो । पाषाण मेरो उपनाम हो भन्थ्यो ।अनि, पाषाण हुनुहुन्छ केका लागि भनेरे सोधेँ भने ऊ जवाफ दिन्थ्यो— मलाई समाजले पाषाण बनायो, तर म कोही कवि, साहित्यकार होइन, उपनामधारी भन्ने जवाफ दिन्थ्यो ।

म उसलाई बाटोमा देख्यो कि बोलाइहाल्थेँ— प्रेमभूषणजी !म प्रेम पाषाण हुँ । फेरि बिर्सनुभो ? भन्दै आउँथ्यो मसित हात मिलाउन ।उसले मलाई भन्यो— तपाईंको स्मरणशक्ति अब पहिलेभन्दा कमजोर भएछ । बुढौलीले हो कि ?आज तपाइँलो स्वर सानो झीनु सुन्छु— मैले उत्तरमा भनेँ ।के तपाईंले कान सुन्न थाल्नुभो ?— उसले आश्चर्य दर्शायो ।

के म बहिरो थिएँ र ?— मैले ठूलो स्वरले भनेँ ।

तपाईं फेरि ठूलो स्वरले कानै खाने गरी कराउनुहुन्छ ।— उसले झर्को मानेझैँ भन्यो ।तपाईंले कहिलेदेखि कान सुन्न थाल्नुभो ?— मैले फेरि सवाल गरेँ ।दुवैजनाले ठानेका धारणा एकाएक स्पष्ट भयो । ऊ पनि बहिरो थिएन र म पनि ।

एक छिन हाँसैहाँसोमा बितेपछि उसले भन्यो— हामीले बहिरो नै भन्ठानेर के भो त ? यस्तै ठूलो स्वरले हामी कुरा गरौँ ।

छाती तानेर सडकमा हिँडौँ । किन खुम्चेर बस्ने र कुरा गर्ने ? हामीले अरूका सामु घुसघुसे स्वरले कहिल्यै कुरा गर्यौँ ? हामीलाई जनतासित ढाँट्ने के कुरा छ र ? कोसित दाउपेच गर्नु छ र ? कुन चुनाव जित्नु छ ? कुन पोस्ट पड्काउनु छ भन्नुस् त ? न कुनै तकमाको लोभ, न कुनै उपाधि पाउने धोको ?आज यो नौलो कुरा गर्नुभो किन प्रेमभूषणजी ? यस्तो डाहिल्लो हुनु सुहाउँदैन हामीले ।

भूतपूर्व मन्त्री प्रेमभूषणको नाम लिनुभो फेरि ?– उसले भन्यो ।हामी डाहिल्लो भएका छैनौँ । मेरो मुखबाट हृदयको कुरा निस्केको हो । मलाई त कुन काम गरे कसरी तकमाले विभूषित हुन पाइन्छ यति कुरा पनि थाहा छैन भने मैले किन कसैको डाह गर्ने ?प्रेमपाषाणले रत्नपार्कको चौरमा पुग्दै भन्यो— बसौँ एक छिन र बदाम खाऔँ ।मैले भनेँ— तपाइँले निजामती सेवा गरेको कति वर्ष भो ? प्रेम भू–भू–पाषाणजी ? मैले उसको नाम सम्झँदै भक्भकाउँदै भनेँ ।भो पच्चीस–तीस वर्ष– उसले जवाफ दियो ।

निजामती सेवाबाहेक अतिरिक्त क्रियाकलाप पनि गर्नुभएको छ कि देशलाई फाइदा हुने ?– मैले अर्को प्रश्न सोधेँ । देशलाई के रोग लागेको देख्नुभो र कृष्णप्रसादजी ?देशलाई मैले कहाँ रोगी भनेको छु र ? मैले भनेँ– फाइदा भन्नाको तात्पर्य तपार्इंलाई बताइरहनुपर्छ र ?जवाफमा उसले भन्यो— मैले के गरिनँ, राणायुगमा राणाजीको नुनको सोझो गरेँ । अहिले कसको युग भनूँ ? जनयुग नै सही, जनताको सेवा गर्दै आएँ, जनताको नुनको सोझो चिताएर ।

सरकारको नुन खाएर देश र जनताको नुनको सोझो हुन्छ भनी इमानदारीसाथ लाग्नुभो । यसैले सधैँ सबै क्षेत्रमा ढिलासुस्ती गर्दै जीवन बिताउनुभो । देश पछिल्तिर लैजानुभो र आफू पनि पछारिनुभो । सबैले तक्मा पुरस्कार पाए तपाईंले पाउन सक्नु भएन । अब अवकाश पाएपछि त झन् आकाशको फल । तपाईं जनताको सेवा भनेर आफ्नै जीवनको सेवा गर्न नसक्नेलाई जनताले टेरपुच्छर लाउने छैन– मैले स्पष्ट भनेँ ।

उसले बुझेर हो या नबुझेर मेरो कुरामा सही थाप्यो, अनि डालोमा बदाम बोकेर डुलिहिँड्ने एउटा केटोसित एकमाना बदाम किन्यो ।त्यसो भए म लाटो हुँ ?– उसले सचिन्तित भई सोध्यो ।

अवश्य । मैले भनेँ— मैले पहिले बहिरो मात्र भन्ठानेको त अब लाटो पनि हुनुहुन्छ भन्ने थाहा पाएँ, प्रेम के रे पाषाणजी हो कि हैन ?ठिक भन्नुभो । म निकै बाठो भन्ठान्थेँ । म कान राम्ररी सुन्छु, आँखा राम्ररी देख्छु, कुरा गर्न सक्छु, आफ्नो दुनो सोझ्याउने क्षमता राख्छु भन्ठानेको थिएँ मैले त— उसले उस्तै स्वरमा भन्यो ।

अनि, मैले उसको चिन्ता हटाउने कुनै हास्य विनोदको कल्पनै गर्न सकिनँ र आफू मात्र बलपूर्वक हाँस्न लागेँ ।(कोइरालाको कथासंग्रह ‘सुर्तीको पातमा झुन्डिएको जीवन’बाट)