व्यङ्ग्य : अतीतको यात्रा !
विज्ञानको चमत्कारले गर्दा भर्खरै आविष्कार भएको यानमा चढेर मैले पनि अतीतमा फर्कने मौका पाएँ । यो गज्जबको आविष्कार जापान, अमेरिका, चीनलगायत अरू दुई–तीन देशका वैज्ञानिकहरूको सामूहिक प्रयासमा सम्भव भएको थियो ।यसमा चढेर अतीतको कुनै पनि समयमा पुग्न सकिन्थ्यो ! भविष्यमा जाने अप्सनचाहिँ अनुसन्धानमै रहेको जानकारी आएको थियो, विभिन्न पत्रपत्रिकामा ।यो यानको परीक्षणका लागि कोटा प्रणालीमा विभिन्न देशबाट मान्छेहरू बोलाइएका थिए । मेरो भाग्य ! नेपालबाट म छानिएँ ।
अमेरिकाको फ्लोरिडाबाट परीक्षण उडान तय भएकोले अमेरिका पुग्नु मेरा लागि आवश्यक थियो । अनि, बाध्यता पनि । भाग्योदय चिट्ठा परेको नयाँ आविष्कारको परीक्षणमा सम्मिलित हुन अमेरिकाको भिसा लिनु र हवाईजहाजको टिकट किन्नुपर्ने झन्झटले मेरो टाउको नदुखेको पनि होइन ।दुवैमा खर्च स्वयंले बेहोर्नुपर्ने भन्ने सूचनाले मेरो दिमाग निकै बेर हल्लिन पुगेको थियो !
यस्तो मौका फेरि नआउने अनि पाएको मौकालाई गुमाउन नहुने श्रीमतीको सल्लाह अनुशरण गर्दै हल्लेको टाउको थपथपाएर पैसाको जोहो गर्ने तरिकाहरू खोजेको थिएँ मैले ।भिसा र प्लेन टिकटलाई मात्रै भनेर के पुग्थ्यो र ! अमेरिका जान पाउने सुनेदेखि नै श्रीमतीदेखि ससुरालीसम्मका आफन्तको फर्माइस लिस्ट आइसकेको थियो मेरोमा । कसैलाई के चाहिने त कसैलाई के !
फर्माइससँगै खामबन्दी गरेर ‘डलर’ दिएको भए त रमाइलै हुन्थ्यो, तर के गर्नु ‘आकाशको फल’ झर्ने भए पो खानु । फर्माइस गर्न सजिलो थियो, तर ‘डलर’ दिनु सजिलो थिएन ।फलस्वरूप, एक टुक्रा जग्गा नै बेच्नुपर्ने निधो गरेँ मैले । त्यस्तो विचित्रको चिट्ठा पर्दा पनि जग्गा बेच्नुपरेकोले मेरो मन क्षत–विक्षत भएको बुझ्ने भने कोही भएनन् !एकरास पीडा र टाउको दुखाइका बाबजुद अन्ततः अमेरिका जाने प्लेन टिकट र भिसा आइपुग्यो ।
अब दिन गन्ने क्रम सुरु भयो अमेरिका जानलाई ।मभन्दा बढी पत्नीजी ‘एक्साइटेड’ थिइन् मेरो अमेरिका जाने कुरालाई लिएर । अमेरिका जाने मुख्य उद्देश्य ओझेलमा पर्थ्यो अक्सर उनको फर्माइसहरू सुन्दा ।
०००
अमेरिका आइपुगेँ । एयरपोर्टमा विभिन्न देशका वैज्ञानिकहरूको लस्कर नै रहेछ मलाई रिसिभ गर्नलाई । मजस्तो नेपालको एउटा नाथे बेरोजगार लेखकलाई स्वागत गर्न आएका विद्वान्को बथान देख्दा जिन्दगीमा पहिलोचोटि आफैँले आफूलाई निकै ठूलो मानिस ठानेँ । मनमनै सिपाहीले झैँ बुट बजारेर आफैँलाई सलाम ठोकेँ । त्यो पनि दशचोटि ।‘वेलकम टु अमेरिका’ एकजना हात अगाडि बढ़ाउँदै मेरा सामु आए । उनी स्वागत टिमको नेतृत्व गर्ने परेछन् । मैले ‘थ्यांक यु’ भन्दै हात मिलाएँ । सामान्य भलाकुसारीपश्चात् मलाई लिएर एउटा गाडी होटेलतर्फ गुड्यो ।परीक्षण उडानको समय र मितिमा कुनै फेरबदल भएको थिएन । त्यसमा सहभागी हुन विभिन्न देशबाट मान्छेहरू आइरहेका थिए । त्यो दिन आइपुग्न अझै एक हप्ता रहेकोले मैले यो अवधि अमेरिका घुमेर बिताउने निधो गरेँ ।श्रीमतीलगायत अरूका फर्माइस पूरा गर्न विभिन्न पसल चहार्दै गर्दा एक हप्ता बितेको ख्यालै भएन ।
०००
परीक्षण उडान हुने दिन आ–आफ्नो मौलिकता र पहिचान दर्शाउने पोसाक पहिरिएर आएका थिए सबै यात्रुहरू । दौरा, सुरुवाल र ढाकाटोपीमा सजिएको म पनि समयमै उडानस्थल पुगेँ । सबै क्रमबद्ध लाइनमा थिए, उडान पर्खंदै ।
अनभिज्ञ म कता जाने–जाने भन्ने रनभुल्लमा लाइनको अग्रस्थानमा उभिन पुगेछु । सबै मुखामुख गर्न थाले । तर, म बुझपचाएको जस्तो त्यहीँ बसिरहेँ ।
लाइन मिच्ने हाम्रो शैली बहुतै काम लाग्यो त्यस बखत । अग्रस्थानमा रहेको म चढेँ यानमा सबैभन्दा पहिले र रोजे सबभन्दा राम्रो सिट । त्यो पनि चालकनजिकै ।केही समयपश्चात् उडानका लागि काउन्टडाउन सुरु भयो । १०, ९, ८, ७, ६, ५, ४, ३, २, १… ड्वाङ ! ठूलो गर्जनका साथ यान आकाशतिर तेर्सियो । हामी यात्रु सबै रोमाञ्चित थियौँ, अतीत यात्राको लागि ।
चालकनजिक रहेको मैले मौकाको फाइदा उठाएँ र चालकलाई अतीत यात्रामा नेपाल जाने भनेँ ।
०००
यान उत्रियो नेपालमा । हामी गोरखा पुगेछौँ । स्कुले विद्यार्थी छँदा इतिहासको पानामा पढेको गोरखाको झझल्को दिइरहेको थियो त्यहाँको दृश्यले । हामी सबै यात्रुहरू अचम्मित थियौँ, साँच्चै नै अतीतमा पुग्दा ।त्यो यानले नभन्दै हामीलाई इतिहासको त्यही समयमा पुर्यायो, जुन बेला नेपाल एउटा सिंगो देश नभएर २२/२४ सानासाना टुक्राहरूमा बाँडिएको थियो । गोरखामा पृथ्वीनारायण शाहले शासन गरिरहेका थिए ।दौरा–सुरुवालमा देखापरेको मलाई मात्र गोरखा दरबारमा प्रवेश अनुमति मिल्यो । आफ्ूलाई भाग्यमानी ठान्दै म छिरेँ ‘दरबार’भित्र ।
०००
पृथ्वीनारायण आफ्ना भाइ शूरप्रतापसँग गम्भीर वार्तालापमा देखिन्थे । उता, छोराहरू प्रतापसिंह र बहादुर शाह घुयेँत्रोले नजिकै रहेको कालिजको बथानलाई निसाना बनाइरहेका थिए । महारानी इन्द्रकुमारी बगँैचामा फूल टिप्दै थिइन् । केही सुसारेहरू रानीसँगै थिए भने सिपाहीहरू यत्रतत्र छरिएका भेटिन्थे । राजर्षि ठाँटमा निकै आकर्षक व्यक्तित्वका धनी महाराज पृथ्वीनारायण शालीन मुद्रामा आफ्ना भाइ शूरप्रतापलाई केही भनिरहेका थिए, जुन टाढा भएको मैले सुन्न सकिनँ ।
अचानक उनले मलाई देखे । उनको र मेरो आँखा जुध्यो । दूरीका बाबजुद उनको आँखामा मैले थुप्रै प्रश्नहरू एकसाथ देखेँ । उनी उठे आफ्नो स्थानबाट र म भएतिर लम्के । कस्तो आकर्षण, कस्तो व्यक्तित्व ! म हेरेको हेर्यै भएँ उनलाई ।“मेरा मुलुकमा आएका तिमी को हौ ?,” उनको व्यक्तित्वमा हराएको म उनको आवाजले झस्केँ । उनलाई कसरी अर्थ्याऊँ म २१औँ शताब्दीको नेपाली भनेर । कसरी विश्वास दिलाऊँ परीक्षण उडान गर्दै यहाँसम्म आइपुगेको कुरा ।अलमलिँदै, हडबडाउँदै अनि थुप्रै दुविधाहरूबीच मैले सम्पूर्ण वृतान्त सुनाए । बडो शालीन मुद्रामा उनी मुस्कुराए अनि बोले, “ए ! त्यसो भए तिमी मेरो भविष्यको नेपालको मान्छे । कस्तो छ त मेरो नेपालको रूप ? भर्खर नुवाकोट हानेर सकियो । अझै धेरै काम गर्नु छ ।
भाइ शूरप्रतापसँग त्यही विषयमा छलफल गर्दै थिएँ, तिमी आइपुग्यौ । तिमी त भविष्यबाट आएको, पक्कै पनि तिमीलाई त ज्ञान छ होला । मैले यो खण्डित राज्यहरूलाई जोडेर सिंगो नेपाल निर्माण गर्न सक्छु त ? मेरो सम्पूर्ण नेपालको रूप देखेको मान्छे, बताऊ मलाई मेरो नेपाल कस्तो छ ?”“खै के भनूँ महाराज, हजुरले एकीकरण गरेको नेपाल हेर्दा त एउटै छ । तर, मानिसहरू भने दल, वर्ग, जात गर्दै प्रान्त–प्रान्तमा फेरि विभाजित भइसके । हजुरलाई भूमि एकीकरणमा सफलता मिले पनि मानिसको व्यवहार, दिल, दिमाग र उनीहरूको देशप्रतिको निष्ठामा सफलता मिलेन ।
अहिले पनि हामी लड्दै छौँ । कहिले पार्टीको नाममा त कहिले केको नाममा । सिर्फ आफ्नो स्वार्थपूर्ति भएको छ अहिले ।”“ओहो ! मेरो सपनाको चार जात छत्तीस वर्णको फूलबारी भविष्यमा त्यस्तो हुने भएछ । धिक्कार होस् ती स्वार्थीहरूको । मेरा वशंजहरूले कसरी हुन दिए त त्यस्तो ? के उनीहरू पनि स्वार्थी भए ?”“हजुरको वंशज अहिले राजगद्दीमा छैनन् । केही नरसंहारको सिकार भए । बाँकी बचेकाले गद्दी छोडिदिए । प्रजाहरूको माझबाटै केही बाठाहरूले देशको शासन हातमा लिएर अनेक गरिरहेछन् ।
निरीह प्रजा पीडित छन् । विकास के हो धेरैलाई थाहा नै छैन ।”“ओहो ! के सुनायौ तिमीले यस्तो ? हे भविष्यको मान्छे, यदि यस्तै हो भने मैले किन एकीकरण गरिरहनु त ? भर्खर नुवाकोट मात्रै हो जितेको । अझै धेरै जित्न बाँकी छ । गण्डकीपारि थुप्रै सानासाना राज्यहरू छन्, तिनीहरूलाई गोरखामा मिलाउनु छ । कान्तिपुर, भादगाउँलगायत उपत्यकामा मल्लहरू निकै शक्तिशाली छन् रे, उनीहरूलाई परास्त गर्नु छ । एकीकरणको यो अभियान सजिलो छैन ।
तिमीले भोलिको नेपालको त्यस्तो निराश कुरा गरेर मेरो मनोबल कमजोर बनायौ । म मेरा सेनाहरूलाई के भनूँ ? शूरप्रतापलाई के भनेर सम्झाऊँ ? छोरा प्रतापसिंह र बहादुर सानै छन् । तिनीहरूले मेरो अपुरा कामलाई निरन्तरता दिनुपर्नेछ । तिनीहरूलाई कसरी उत्साहित पारौँ ? हे भविष्यको नेपालको मान्छे, मलाई मेरो सिंगो नेपाल र एकमन भएको नेपाली चाहिन्छ, देशभक्त अनि स्वाभिमानी । ती देशहित नचाहने सबैलाई मेरो सन्देश लिएर जाऊ– आफूलाई सुधार । नत्र…”उनी अझै केही भन्न खोज्दै थिए, ढोकेले मछेउ आएर बाहिरबाट बोलावट भएको सूचना दियो ।
महाराजसँग बिदा लिएँ मैले । यानमा सवार बाँकी यात्रुहरू गोरखकाली मन्दिर जाने बाटोमा बसेर गोरखा दरबार नियालिरहेका रहेछन् ।आफूलाई बडो गौरवशाली महसुस गर्दै म उनीहरू भएतिर लागेँ । चालकले अब अतीत छोडेर साबिक समयमा फर्कनुपर्ने बेला भएको जानकारी दिए । baahrakhari
प्रतिकृया दिनुहोस्