December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

भैरहवा बहुमुखीमा एमबीएम पढाई सुरु

भैरहवा– यहाँको भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा व्यापार व्यवस्थापन (मास्टर्स अफ विजनेश म्यानेजमेन्ट (एमबीएम) पढाई सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को यस क्षेत्रकै पूरानो आंगिक क्याम्पससमेत रहेको क्याम्पसमा चालु शैक्षिक सत्रबाट एमबीएम पढाई सुरु भएको हो । काठमाडौं उपत्याका बाहिर भैरहवा बहुमुखीमा पहिलोपल्ट एमबीएम सुरु भएको हो । यहाँ ४० विद्यार्थीको कोटा छ । विद्यार्थी भर्ना राम्रो रहेको क्याम्पसले जनाएको छ ।

Advertisement

शुक्रबार त्रिवि व्यवस्थापन शंकायका डीन प्रा.डा.डिल्लीराज शर्माले उक्त शंकायको उद्घाटन गरे । उनले व्यवस्थापन शिक्षा विश्वमै उत्कृष्ट ठहरिएको जनाए । शर्माले त्रिविले २८ वटा शैक्षिक कार्यक्रम संचालन गरेको जनाउँदै सबै उत्कृष्ट र राम्रा भएको बता बताए । बीबीएस बाहेक सबै कार्यक्रमहरु सेमेस्टर प्रणालीमा गइसकेको उनले जनाए ।

पछिल्लो समय भैरहवा बहुमुखीले नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याएर अब्बल ठहरिएको बताए । ‘एमबीएम कार्यक्रम पनि यहाँ सफल हुने त्रिविको विश्वास छ’, उनले भने, ‘त्यसका लागि एक्लो प्रयासले हुँदैन, यस क्षेत्रका सबै नागरिकको उत्तिकै भूमिका रहन्छ ।’ उनले आफू व्यवस्थापन शंकायको डीन नियुक्त पछि कुनै आंगिक क्याम्पसलाई विभेद नगरी आवश्यकताका आधारमा कार्यक्रमहरु स्वीकृत गर्दै अघि बढेको बताए ।

मुलुकमा व्यवस्थापनको खाँचो रहेको जनाउँदै एमबीएम पढेपछि उद्योग–व्यवसाय क्षेत्रको व्यवस्थापनमा राम्रो र दक्ष जनशक्ति उत्पादन हुने विश्वास गरे । त्रिवि व्यवस्थापन संकायका सहायक डीन दिनेशमणि घिमिरेले गुणस्तरीय उच्च शिक्षाले नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले त्रिविले नयाँ शैक्षिक कार्यक्रमहरु ल्याइरहेको बताए ।

शैक्षिक सुधारका लागि सबै क्षेत्र एकजुट भएर लाग्नु पर्ने उनले जनाए । ‘स्रोतसाधन जुटाएर व्यवस्थापकीय सुधार गरे भैरहवा बहुमुखी यस क्षेत्रमै उत्कृष्ट बन्न सक्ने छ’, उनले भने । एमबीएम कार्यक्रम राम्रो भएकाले यसलाई सफल पार्न उनले आग्रह गरे । क्याम्पस प्रमुख अनिकुमार झाले बहुमुखीमा एमबीएम कार्यक्रम ल्याउन सफल हुनु यस क्षेत्रकै लागि गर्वको कुरा भएको बताए ।

झाले क्याम्पसमा राम्रो पढाई भएकै कारण कयौं निजी क्याम्पस छाडेर विद्यार्थीहरु यहाँ पढ्न आइरहेको बताए । आर्थिक अभावमा क्याम्पसले विद्यार्थीबाट शुल्क उठाएर केही शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताउँदै झाले स्थानीय सरकार र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, पूर्व क्याम्पस प्रमुख प्रा.डा.कपिलदेव लामिछाने, नेपाल बैंकर्स एशोसिएसन लुम्बिनी प्रदेश बोर्ड सदस्य लेखनाथ पाण्डे, सिद्धार्थ उद्योग बाणिज्य सघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, प्राध्यापक संघ ईकाई समिति अध्यक्ष बैकुण्ठराज कोइराला, एमबीएम कार्यक्रम निर्देशक दिवाकर पाण्डे लगायतले बोल्दै नयाँ शैक्षिक कार्यक्रमलाई सफल पार्नुपर्नेमा जोड दिए ।