बाँकेमा एक लाख बढी राशीको फुटबल हुँदै


बाँके– बाँकेमा एक लाख रुपैयाँभन्दा बढी पुरस्कार राशी रहेको फुटबल प्रतियोगिता हुने भएको छ । यहाँका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।
रोयल नेपालगञ्ज फुटबल क्लबको आयोजनामा यही असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता लागिएको हो । क्लबका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ता गर्न सकिने बताए ।
प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्राप्त गर्नेछ । द्वितीय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । बाँकेमा फुटबल संघमा एघार वटा क्लब आवद्ध छन् । त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय वा स्थानीय सरकारमा दर्ता भएका गरी डेढ दर्जन बढी क्लबले प्रतियोगितामा भाग लिने क्लबका महासचिव दीर्घराज आचार्यले बताए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालामा प्रतियोगिता गराउन र खेलाडीलाई अभ्यास गर्न दिन थालिसकेको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमध्ये कुनै एकमा दर्ता भएका क्लबले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लबको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्