राष्ट्रिय खेलाडी खड्का काँग्रेस सिद्धार्थनगर सभापतिमा भिड्दै


भैरहवा– नेपाली काँग्रेस सिद्धार्थनगर नगर समिति सभापतिमा युवा नेता कोशिषबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै खड्काले पदाधिकारीको प्यानल बनाएर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस सिद्धार्थनगर सभापतिमा संजीव शर्मा रेग्मीले यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् ।
खड्का समूहबाट उपसभापतिमा देवराज न्यौपाने र किरणकुमार घिमिरे उम्मेदवार बनका छन् । यस्तै, सचिवमा अनिलकुमार केसी र हरिमाया गुरुङ, सहसचिवमा आदर्श गुरुङ (एडी) र कृष्णकुमार चाई उम्मेदवार बनेका छन् । तेक्वान्दोको राष्ट्रिय खेलाडीसमेत रहेका खड्का डेढ दशकदेखि पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेका छन् । उनले आठौं दक्षिण एशियाली खेलकुदमा नेपाललाई तेक्वान्दोमा स्वर्णपदक दिलाएका थिए ।
राष्ट्रिय झण्डा बोकेर दर्जन मुलुकमा पुगेर तेक्वान्दो खेलेका उनले दर्जनौं पदक जितेका छन् । उनले प्रशिक्षित गरेका युवा राष्ट्रिय खेलाडी बनिसकेका छन् । ‘खेलकुदसँगै मलाई सानैदेखि काँग्रेसको माया थियो, मेरो घरमा पार्टीको झण्डा फहरिन्थ्यो’, उनले भने, ‘यसै कारण लामो समयदेखि मैले पार्टीका विभिन्न तहमा रहेर काम गर्दै आएँ ।’
आफ्नो समूहको उम्मेदवारी घोषणा गर्दै खड्काले राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति सदा प्रतिबद्ध भई नेपाली कांग्रेसका सम्पूर्ण अभियानलाई नगरबासीसँग जोड्ने बता बताए । ‘जनता र पार्टीको सम्बन्ध अझ प्रघाढ बनाउन विभिन्न अभियान चलाउने छु’, उनले भने । उले काँग्रेसका नगरभित्र क्रियाशील महिला, मधेशी, मुस्लिम, जनजाति, दलित, थारु, खसआर्य र अल्पसंख्यक समुदायहरुमा सहभागिता, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आगामी निर्वाचनमा पार्टीलाई नगर पदाधिकारीदेखि वडासम्मका सबै पदमा जिताउन भूमिका खेल्ने जनाए । ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नेछु’, उनले भने, ‘जसले गर्दा निर्वाचनमा परिणाम ल्याउन सहज हुनेछ ।’ उनले नगरमा पार्टीका भेलाहरु नियमित गर्ने, पार्टीलाई बलियो बनाउन कार्यक्रम गर्नुका साथै अभियान चलाउने, क्रियाशील सदस्यहरुसँग निरन्तर सल्लाह गरी सहमति गर्दै सहयोग लिएर अगाडि बढ्ने, नगरका सबै वडामा पार्टीका आफ्नै छुट्टै वडा कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
सबै वडामा लामो समयदेखि काँग्रेसमा आबद्ध भई पार्टीलाई सधै आफ्नो भन्दै आएका अग्रज नेताहरुलाई पार्टीको आधिकारिक विभिन्न कार्यक्रममा अभिनन्दन गर्दै जाने उनले प्रतिबद्धता जनाए । यस्तै, नगर क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, यातायातको प्रबन्ध गर्नका लागि तीनै तहका सरकारहरुसँग पहलकदमी गर्ने उनले जनाए ।
खड्कालाई सभापतिका आठ जना आकांक्षीहरुमध्ये लेखनाथ भट्टराई, यमबहादुर थापा, गोविन्दप्रसाद बस्याल, गोपालमान राजभण्डारीले समर्थन गरेका छन् । यस्तै, सिद्धार्थनगरका आठ वटा बुथ सभापति र ३ निर्वाचित वडाध्यक्षले समर्थन गरेका छन् । यही असोज ९ गते काँग्रेस सिद्धार्थनगर नगर समितिको १४ औं अधिवेशन हुँदैछ ।

प्रतिकृया दिनुहोस्