January 13, 2025, Monday
२०८१ माघ १

सीमा नाका सञ्चालनको मापदण्डबारे अन्यौल

भैरहवा – नाका कुन मापदण्ड अपनाएर सञ्चालन गर्ने तय नहुँदा सरकारी निर्णय लागू हुन सकेको छैन । सरकारले गत मंगलबार सीमा खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले सिमावर्ती क्षेत्रका पर्यटन व्यवासायी उत्साहित थिए । संघीय सरकारले निर्णय गरे पनि कुन मापदण्ड अपनाएर सीमा नाका खोल्ने अझै तय भइसकेको छैन । त्यसले गर्दा नाका पार गर्न नेपाल र भारततर्फ दशगजासम्म आएका नीजि गाडी बुधबार फर्किएका थिए ।

Advertisement

रुपन्देहीस्थित बेलहिया नाकामा साबिककै जस्तो स्वास्थ्य मापदण्ड अपनाएर पैदल यात्रुलाई पार गर्न दिइएको छ । दुबै मुलुकतर्फ आउजाउ गर्ने नागरिकलाई सुरक्षा जाँच भइरहेको थियो । रुपन्देहीको बेलहिया नाका हुँदै भारतबाट मालबाहक गाडी भित्रिएका थिए । सर्वसाधरण पैदल ओहोर दोहोर गरिरहेका थिए । बुधबार मध्यान्ह नाकामा तैनाथ सुरक्षाकर्मीले नाका खुला गरिएको बारे कुनै जानकारी प्राप्त नभएको बताए ।

सुरक्षाकर्मीले लाइनबाट सर्वसाधरणलाई भित्र्याइरहेका थिए । उनीहरुले मास्क वितरण गरिरहेका थिए । हात सेनिटाइज गराएका थिए । नेपालबाट गाडी लिएर दशगजामा पुगेकालाई फिर्ता पठाइएको थियो । भारत तर्फबाट गाडी, मोटरसाइकल र रिक्सा नेपालतर्फ आइरहेका थिए । तिनलाई भारतीय सुरक्षाकर्मीले दशगजाबाट फर्कारहेका थिए । केहीलाई दशगजामा पार्किङ गराइएको थियो ।

नाकाबाट ओहोरदोहोर गर्नेको संख्या ह्वात्तै बढेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नाका खोल्ने विषयमा माथिल्लो निकायबाट कुनै किसिमको निर्देशन आइनसकेको बताए । ‘आवतजावतमा कस्तो पक्रिया अपनाउने भन्ने यकिन छैन,’उनले भने, लिखित पक्रिया आएपछि बल्ल नाका पार गराउन अपनाउनु पर्ने मापदण्ड स्पष्ट हुन्छ ।’ त्यस्तो निर्देशन नआएसम्म साबिककै नियम लागू गरिने उनले बताए ।

बाँकेमा पनि चल्तीका नाका खोल्ने सरकारी निर्णय कार्यान्वनमा अन्यौल देखिएको छ । जसका कारण नेपालगन्जको जमुनाहा नाका भएर बुधबार नेपाली सवारी साधनहरु भारत प्रवेश पाएनन् । सरकारी निर्णय बुधबारदेखि कार्यान्वयन नहुँदा पेट्रोलिय पदार्थ बोक्ने नेपाली गाडीबाहेकका सवारी साधन भारत चल्न पाएनन् ।

भारतबाट भने मालबाहक ठूला सवारी साधनहरु नेपाल प्रवेश गर्न दिइएको छ । नेपालीहरु पैदल भारत आउजाउ गर्न दिइएको छ । नेपालगन्ज सीमासंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा साइकल, रिक्सा र मोटर साइकलसमेत चल्न पाएका छैनन् । नेपालीहरुमा वारी नै सवारी साधन राखेर भारत जाने गरेका कारण जमुनाहा नाका पार्किङ स्थल बनेको छ ।

सडकमा सयौ रिक्सा र मोटरसाइकल पार्किङ गर्दा नाका अस्तव्यस्त बन्ने गरेको छ । सीमास्थित ईलाका प्रहरी कार्यालय जमुुनाहाका प्रमुख सई पूर्ण खत्रीले सीमा नाका खोल्ने बारे कुनै निर्णयबारे जानकारी नआएको बताए । उनले पहिले जस्तै नाका भएर पैदल आउजाउ गर्न दिइएको जनाए ।

उनका अनुसार पेट्रोलिम पदार्थ बोकेको गाडीबाहेक अन्य सवारी साधन भारत प्रवेश गर्न दिइएको छैन । ‘सीमा पूर्णरुपमा खोल्ने बारे कुनै निर्देशन हामीलाई छैन,’ उनले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी विशराज गेलालले नेपाल सरकारले नाका खोल्ने निर्णय गरे पनि भारत सरकारले उक्त निर्णयलाई कार्यान्वयन गर्ने गरी निर्णय गरेको बारे जानकारी नभएको बताए ।

भारतीय सहमतिबीना नेपाल सरकारले मात्रै खोल्ने निर्णय कार्यान्वयनमा समस्या हुनसक्ने उनले जनाए । ‘नेपालले सीमा खोल्ने निर्णय गरेको ठिक हो । तर भारतको केन्द्रीय सरकारले नाका खोल्ने बारे गरेको निर्णय बुुझ्नु पर्छ,’ उनले भने,’भारतले निर्णय नगर्दासम्म हामीले गाडी पठाउँदा भारतमा अवरोध हुनसक्छ ।’

कपिलवस्तुका दुई नाकामा पनि सरकारी निर्णयको प्रभाव परेन । बुधबार पहिलेकै जस्तो अवस्था थियो । यहाँका दुई नाका कृष्णनगर र मर्यादपुरमा नाकाको छेउछाउबाट सर्बसाधारण आवतजावत गरिरहेका छन् । निजी र भाडाका सवारीसाधन रोकिएको छ । उता सीमासम्म भारतीय सवारीसाधानमा आउने र सीमा हिँडेर पार गर्ने गरिएको छ ।

यता पनि नेपाली सबारीसाधनमा आई हिँडेर सीमा पारगरि उता भारतीय सबारीसाधनबाट यात्रुहरु गन्तब्यमा गईरहेका छन् । ‘जिल्लाबाट कुनै सूचना छैन्,’ ईप्रका कृष्णनगरका निरीक्षक सुकदेब पौडेलले भने, ‘यहाँ पहिलेकै जस्तो अवस्था छ ।’ आफूहरुले पनि पत्रपत्रिका पढेर थाहा पाएको उनले बताए । कृष्णनगर नाका मुलुकको दश ठूलो भन्सार नाकामा पर्छ ।