October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

मन्दिर खुलेपछि सुपादेउरालीमा भीडभाड

अर्घाखाँची– धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर खुला भएपछि यहाँ तीर्थालुको भीड बढेको छ । कोरोना संक्रमणका कारण गत चैत १६ गतेदेखि मन्दिर बन्द थियो । अघिल्लो शुक्रवारदेखि मन्दिर खुला गरिएको हो ।

यहाँ बिहानै–साँझसम्म तीर्थालुको भीड लागेको छ । मन्दिर खुला गर्ने सामाजिक सञ्जालमा सूचना थाहा पाएपछि खुलेको पहिलो दिनै गाडी रिर्जव गरेरै टाढाटाढाबाट भक्तजन मन्दिरमा दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सचिव यादवप्रसाद घिमिरेले जानकारी दिए ।

‘लामो समय मन्दिर बन्द रह्यो । त्यसैले खुला हुँदावित्तिकै तीर्थालुको भीड लागेको हो’, उनले भने, ‘यहाँको महत्वलाई बुझेर धेरै आउनु गर्नुहुन्छ । विस्तारै दैन्दिन तीर्थालुको बाक्दो भीड बढीरहेको छ ।’ निषेधाज्ञा हटे पनि मन्दिर नखुलेपछि बाहिरबाट दर्शन गर्न भक्तजन आइरहेका थिए । खुला भएपछि मन्दिर भित्रै गएर दर्शन गर्ने पाइएको छ ।

मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वासले दैनिक भीड लाग्छ । मन्दिर खुलको पहिलो दिन ३ सय हाराहारीको संख्यामा भक्तजनले मन्दिर दर्शन गरेका थिए । सोमबारसम्म दुई हजार बढीले मन्दिरमा दर्शन गरेको व्यवस्थापनले जनाएको छ । चारैतिर हरियाली अग्ला पहाडको खोँचमा अवस्थित मन्दिरमा दर्शनपछि मन्दिरसहित हरियाली मनोरम दृश्यको तस्बिर खिच्नेको भीड नै लाग्छ ।

सन्धिखर्क गोरुसिंगे सड्क खण्डमा पर्ने भएकाले बाहिरबाट गाडीमा आउन सहज छ । मन्दिरमा पुजापाठ गर्ने, दशर्न गरिसकेपछि धेरैले सुपादेउरालीको चिनो मन्दिरको फोटो खिचाएर लैजान्छन् । मन्दिर नजिकै रहेका फोटो स्टुडियोले तस्बिर तयार पारिदिन्छन् । मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरी नजिकै दुई पहाड जोड्ने झोलुंगे पर्यटकीय पुल निर्माण गरिएको छ ।

संघीय सरकारको एक करोड लगानीमा निर्माण भएको पुलमा मन्दिरमा आएका दर्शनार्थी र अन्य आन्तरिक पर्यटक पुलमा गएर भुल्ने, तस्बिर खिच्ने, आनन्द लिने गर्छन् । मन्दिरबाट देखिने पुलमा पुगेर केही समय भुल्ने, हरियाली पहाडको तस्बिर खिच्ने, सामाजिक सञ्जालमा राख्ने र भरपुर मनोरञ्जन लिने गरेको घिमिरेले बताए । मन्दिर दर्शनपछि झोलुंगे पुलमा पुगेर पुलबाट दुई पहाड अवलोकन गर्ने, रमाइलो गर्न पुलमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको उनले बताए ।