April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

दूर्लभ एकसिंगे गैंडालाई आजीवन काराबास

भैरहवा– गैंडाले आजीवन काराबास सजाय झेलिरहेको खबर सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । यो खबर सत्य हो । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ‘विक्रम’ नाम दिइएको एउटा गैंडालाई निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित परिसरमा ठूलो क्षेत्रमा पर्खाल लगाएर थुनिएको छ । उक्त गैंडाले ठाकुरबाबा नगरपालिका–९ स्थित एक मन्दिरका पुजारीलाई मारेको थियो । त्यसयता गैंडा थुनिँदै आएको छ ।

Advertisement

०६७ जेठ ४ गते पुजारी दिलबहादुर रानालाई आक्रमण गरेर मारेपछि खोरमा राखिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए । खोरमा समेत बाहिर मानिस आएको थाहा पाएपछि आक्रामक बन्ने गरेको उनले बताए । विक्रमको आनीबानीमा कुनै सुधार नआएका कारण आजीवन खोरमा राख्ने निर्णय गरिएको उनले बताए ।

Advertisement

पुजारीलाई मारेको केही समय गैंडालाई निकुञ्ज मुख्यालय परिसरमा चरिचरणका लागि राखिएको थियो । त्यस अवधिमा मानिसको गन्ध थाहा पाउनासाथ आक्रमण गर्ने, परिसरबाहिर निस्केर खेतीबालीमा क्षति पुर्याउन थालेपछि खोरमा राखिएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताए ।

बर्दिया पुग्नेले त्यो गैंडा हेर्छन् । सेल्फी लिन्छन् । विक्रम टुहुरो हो । सानोमा आहाराका लागि बस्तीमा डुल्थ्यो । खेतबारीमा पस्थ्यो । क्षति पुर्याउन थालेपछि गाउँलेले लखट्ने गरेका थिए । निकुञ्जको मुख्यालयस्थित नेपाली सेनाको व्यारेकमा सैनिकले विक्रमलाई भात, तरकारीलगायत फलफूल दिन्थे । साँझ परेपछि निकुञ्जको जंगलमा पस्थ्यो ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार विक्रम र कुमार नाम दिइएका गैंडाका दुई बच्चा २०५५ सालमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको थियो । यहाँ रहेको यो गैंडा चलास छ । बाठो छ ।

‘यसबाट सर्वसाधारण असुरक्षित हुने भएकाले विक्रमलाई १२ वर्षदेखि खोरमा राखिएको छ,’ थापाले भने, ‘हामीले बाहिर निकाल्ने अवस्था नभएपछि पोषणयुक्त आहारा खुवाएर राखेका छौं, बेलाबेलामा स्वास्थ्य अवस्था बुझ्न चिकित्सक खटिएका छन् । स्वास्थ्य अवस्था राम्रो छ ।’

१६ वर्षअघि बबई उपत्यकामा स्थानान्तरण गरिएको कुमार नाम गरेको गैंडा मारिएको खबरले चर्चा पाएको बताए । कुमारको मृत्युपछि विरक्तिएको विक्रम बबई उपत्यका छाडेर ठाकुरद्वारा आएको थियो । यसले यहाँ आएपछि खेतमा बालीनाली खाइदिने, मानिसलाई आक्रमण गर्न थाल्यो । गाउँमा डुल्ने भएकाले विक्रमको पुच्छर समात्न जाँदा चार विद्यार्थीलाई घाइते बनाएको थियो । २०६७ जेठ तेस्रो साता बाटोमा हिंडिरहेका दुई जनालाई आक्रमण गरेपछि विक्रमलाई नियन्त्रणमा लिइएको थियो । यसलाई हिर्काउने क्रममा आँखामा चोट लागेकाले कम देख्ने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज मुख्यालयस्थित फराकिलो खुला खोरमा विक्रमलाई राखिएको छ । वरिपरि पर्खाल लगाइएको छ । रेखदेखका लागि दुई जना कर्मचारी खटिएका छन् । गोही र हात्ती हेर्ने चूडामणि चौधरी र रंगीलाल थारुले थुनामा रहेको गैंडालाई बरान र घास दिने गरेको बताए ।

खोरभित्र आहाल र पिउने पानीको व्यवस्था गरिएको छ । प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले निकुञ्ज घुम्न आउनेले टाँसिएर फोटो खिच्ने, जिस्काउने गरेकाले आक्रमण गर्ने बानीको विकास भएको बताउँछन् । निकुञ्जमा १३ वर्षयता गैंडा चोरी सिकार श्ून्य रहेको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।