पत्रकार चापागाईं र ढुंगानालाई प्रवल जनसेवाश्री, भुसाललाई जनसेवाश्री


भैरहवा– रुपन्देहीका तीन पत्रकारले राष्ट्रिय पदक पाएका छन् । संविधान दिवस–२०७८ को अवसरमा तीन पत्रकारलाई पदकको घोषणा गरिएको हो । पत्रकार डा. बालकृष्ण चापागाईं र माधव ढुंगानाले प्रवल जनसेवाश्री पदक पाएका छन् । यस्तै, पत्रकार रेखा भुसालले जनसेवाश्री पदक पाएकी छन् ।
तीन दशकदेखि रुपन्देहीबाट पत्रकारिता गर्दै आएका डा.चापागाईं बुटवलबाट प्रकाशित हुने दैनिक पत्र दैनिकमा आबद्ध छन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष हुन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीको पनि डा.चापागाईं अध्यक्ष भइसकेका छन् । उनी बुटवल निवासी हुन् ।
यस्तै, साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका भैरहवा निवासी पत्रकार ढुंगाना कान्तिपुर दैनिकमा आबद्ध छन् । खोज–अनुसन्धानात्मक समाचारमा दख्खल राख्ने ढुंगाना लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरका संस्थापक अध्यक्ष हुन् । लामो समय भैरहवा क्षेत्रमा रहेर पत्रकारिता गरेका ढुंगानाले पदक प्राप्त गर्नु यस क्षेत्रका लागि सुखद् खबर भएको लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए ।
ढुंगानाले आर्थिक तथा पर्यटन क्षेत्रमा बढी मात्रामा कलम चलाउँछन् । रुपन्देही जिल्लाको आर्थिक र पर्यटन क्षेत्रको विकासमा ढुंगानाको योगदान महत्वपूर्ण रहेको न्यौपानेले बताए । तिलोत्तमा निवासी पत्रकार भुसाल नागरिक दैनिकमा आबद्ध छिन् । उनी करिब दुई दशकदेखि पत्रकारिता गर्दै आएकी छन् । भुसाल नेपाल प्रेस युनियन रुपन्देहीको सभापति समेत हुन् ।
यी हुन् पदक पाउने पत्रकार
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरुमा तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा छन् ।
कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरुमा ओम शर्मा, गुणराज लुइँटेल, महेश्वर दाहाल छन् ।
प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरुमा बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी छन् ।
जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरुमा भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुसाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नगेन्द्र साउद, लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ छन् ।
प्रतिकृया दिनुहोस्